coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

स्वीकृति नपाउँदा चिनियाँ कामदार रोकिए

नेपाल सरकारले आयोजना निर्माणका लागि आउने क्रममा रहेका व्यवस्थापक तथा कामदारको विवरण समयमै स्वीकृत नगर्दा आयोजना निर्माण प्रभावित भएको छ। रसुवामा निर्माण भइरहेको १ सय ११ मेगावट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले गएको साउनको अन्तिममा इलोक्ट्रोमेकानिकल निर्माणको जिम्मेवारी पाएको भोइठ हाइड्रो इन्डियाको चार जनाको लिस्ट ऊर्जा मन्त्रालयमा पठाएको थियो।  

त्यो अझै स्वीकृत भएको छैन। मन्त्रालयले कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) मा पठाएको जानकारी आएको आयोजनाले जनाएको छ। भोइठ हाइड्रो इन्डियाले निर्माणस्थलमा ३२ भारतीय र ३८ नेपालीको सूची आयोजनालाई बुझाएको छ। तर आयोजनाले चार जनाको नाम स्वीकृत नभएका कारण अन्यको नाम नपठाएको जनाएको छ।  

आयोजना प्रमुख छबि गैरेका अनुसार भारतीय कामदार गएको चैत ८ गते नै आफ्नो देश फर्किएका थिए। त्यसयता आयोजनाले पटकपटक साइडमा आउन आग्रह गरेपछि उनीहरू आउन लागेका थिए। भारतीय टोली फर्किएपछि इलोक्ट्रोमेकानिकलको काम पूर्ण रोकिएको छ। अहिले त्यहाँ सामग्रीको सुरक्षाका लागि राखिएका चारजना कामदार मात्र छन्।  

त्यसैगरी आयोजनाको सिभिलतर्फ काम गरिरहेको चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुइ) ले २२ जना चिनियाँ कामदार ल्याउनका लागि यसअघि नै प्रस्ताव गरेको भए पनि त्यो पनि स्वीकृत हुन सकेको छैन। सिडब्लुईका १ सय ७६ कामदारमध्ये ७८ जना आफ्नो देश फर्किसकेका छन् भने केही जाने तयारीमा छन्। लामो समयसम्म घर जान नपाएका कामदारले आफ्नो देश फर्कन आयोजनासमक्ष आग्रह गरिरहेका थिए।

तर आयोजनाले स्वदेश फर्कनका लागि अनुमति दिएको थिएन। पछि चिनियाँ टोलीले आयोजनाको काम ठप्प पार्ने चेतावनी दिएपछि आयोजनाले स्वदेश फर्कनका लागि अनुमति दिएको हो। ‘लकडाउनका समयमा पनि उनीहरूले निरन्तर काम गरेका थिए,’ उनले भने, ‘लामो समय घर जान नपाएपछि उनीहरूले काम ठप्प पार्ने बताएका थिए।’ आयोजनामा नेपाली, भारतीय र चिनियाँ कामदार छन्। अहिले आयोजनामा ३ सय ७९ नेपाली र ८८ जना चिनियाँ कामदार रहेका छन्। लकडाउनको समयमा पनि आयोजनामा ७ सय नेपाली र १ सय ७६ चिनियाँ कामदार रहेका थिए। तर अहिले कामदारको संख्या घटिरहेको छ र आउनु पर्ने कामदार आउन पाएका छैनन्।  

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२, टिमुरेमा निर्माण भइरहेको आयोजनाको ७८ प्रतिशत काम सकिएको छ। सिभिल संरचना निर्माणको जिम्मा पाएको चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सिडब्लुइ) ले सुरुङ निर्माण गरेको हो। आयोजनाका अनुसार अहिले इलेक्ट्रोमेकानिकल र प्रसारण लाइन निर्माणतर्फको काम पूर्ण रोकिएको छ। मुख्य सुरुङको पहिलो अडिट सुरुङबाट तल तथा दोस्रोबाट माथितिरको १ हजार ८ सय ८२ मिटर खण्ड गत वर्षको वैशाख ६ गते पूरा भएको थियो। भूकम्प, नाकाबन्दी र बाढीपहिरोले आयोजनाको काममा अवरोध पु¥याउँदै आएको छ। २०७० माघदेखि आयोजनाको निर्माण कार्य सुरु भएको हो।  

भूकम्पपछिको समयमा साइडको विभिन्न स्थानमा पहिरो झरेपछि चिनियाँ ठेकेदारले चार महिना काम रोकेका थिए। निर्माणाधीन आयोजनाको कुल लागत १३ अर्ब ६८ करोड ४२ लाख रूपैयाँ रहेको छ। आयोजनामा चिलिमे जलविद्युत् कम्पनीको ३३ प्रतिशत, कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताको १९ प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको १८ प्रतिशत, सर्वसाधारणको १५, रसुवाबासीको १०, संस्थापक सेयरधनी संस्थाका कर्मचारीको ३.५ र ऋणदाता संस्थाका कर्मचारीको एक प्रतिशत लगानी रहनेछ। 

प्रकाशित: ८ आश्विन २०७७ ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App