७ वैशाख २०८१ शुक्रबार
अर्थ

यांग्री र लार्केको सुरुङ टिबिएमबाट

भेरी बबईमा प्रयोग गरिएको टनेल बोरिङ मेसिन ।फाइल तस्बिर: नागरिक

सरकारले दोस्रो चरणको मेलम्ची खानेपानी आयोजनाको सुरुङ टनेल बोरिङ मेसिन (टिबिएम) बाट खन्ने योजना बनाएको छ । मेलम्चीको २७ किलोमिटर सुरुङ खन्ने दुईवटा ठेकेदार कम्पनीले ड्रिलिङ ब्लास्ट एन्ड मकिङ विधिबाट खन्दा ढिलासुस्ती गरेकाले यांग्री र लार्के खण्डको सुरुङ टिबिएम प्रविधिबाट खन्ने तयारी थालेको हो ।  

आयोजनाले दोस्रो चरणको परियोजना अन्तर्गत सिन्धुपाल्चोकको लार्के र यांग्री खोलामार्फत थप ३४ करोड लिटर पानी थप्नेछ । मेलम्चीको अहिलेको हेडवक्र्सबाट सिन्धुपाल्चोकको यांग्री र लार्केसम्म ११ किलोमिटर सुरुङ खन्नुपर्छ । दुवै खोलाको पानीलाई उक्त सुरुङबाट हाल निर्माणाधीन अम्बाथानको हेडवक्र्समार्फत मिसाएर उपत्यका ल्याउने योजना छ ।

आयोजनाका उपकार्यकारी निर्देशक कमलराज श्रेष्ठ मेलम्चीको पुलबजारदेखि इन्द्रायणी नदीसम्म स्थानीयले मुआब्जा र क्षतिपूर्ति माग्दै निरन्तर अवरोध गरेकाले पनि दोस्रो चरणको सुरुङ टिबिएमबाटै खन्न उपयुक्त हुने बताउँछन् । ‘ड्रिलिङ ब्लास्ट एन्ड मकिङ विधिबाट खन्दा धेरै समय लाग्छ, ठेकेदार कम्पनीले प्रविधिमा धेरै लगानी गर्नुपर्दैन । त्यसैले, दुईवटा ठेकेदारले सुरुङ सम्पन्न नगरी छाडेर गएको देखिन्छ,’ उनले भने, ‘टिबिएमबाट खन्ने ठेकेदारले प्रविधिमा धेरै लगानी गर्नुपर्ने, ड्रिलिङ प्रविधिबाट छिटो हुने भएकाले पनि टिबिएमबाट खन्ने योजना बनाएका हौं ।’  

दोस्रो चरणको डिपिआर भने ड्रिलिङ ब्लास्ट एन्ड मकिङ प्रविधिबाट खन्ने गरी तयार पारिएको छ । ‘ट्याक्टबेल’ र स्वदेशी ‘टोटल म्यानेजमेन्ट सोलुसन एन्ड इआरएमसी’ले गत वर्ष डिपिआर तयार पारेर हस्तान्तरण गरिसकेका छन् । उपकार्यकारी निर्देशक श्रेष्ठले उक्त डिपिआर केही संशोधन गरेर टिबिएमबाट खन्ने बनाउन मिल्ने बताए । ‘टिबिएमको सहायताले भेरी बबई सिँचाइ आयोजनामा १२ किलोमिटर सुरुङ प्रभावकारी ढंगले खनेको देखियो,’ उनले भने, ‘सोही प्रविधि मेलम्चीमा पनि प्रयोग गर्न खोजिएको हो ।’ 

आयोजनाले दोस्रो चरणको परियोजना अन्तर्गत सिन्धुपाल्चोकको लार्के र यांग्री खोलामार्फत थप ३४ करोड लिटर पानी थप्नेछ । मेलम्चीको अहिलेको हेडवक्र्सबाट सिन्धुपाल्चोकको यांग्री र लार्केसम्म ११ किलोमिटर सुरुङ खन्नुपर्छ ।

आयोजनाका कार्यकारी प्रमुख तिरेशप्रसाद खत्रीले दोस्रो खण्डको आयोजनाको डिपिआर तयार भए पनि अहिलेसम्म वित्तीय व्यवस्थापन हुन नसकेको बताए । उनले भने, ‘एसियाली विकास बैंकले पहिलो चरणको सम्पन्न गरेपछि मात्रै दोस्रोमा लगानी गर्ने इच्छा प्रकट गरेकाले अहिलेसम्म वित्तीय व्यवस्थापनको टुंगो नलागेको हो ।’ मेलम्ची पुलबजारदेखि लार्के र यांग्रीसम्म २४ किलोमिटर पहुँचमार्ग निर्माण गर्नुपर्ने हुन्छ । उपकार्यकारी निर्देशक श्रेष्ठले पुलबजारदेखि उत्तरतर्फ चार किलोमिटरदेखि ढापसम्म आयोजनाले पहुँचमार्ग निर्माण गरिरहेको बताइ । त्यसैगरी, सडक विभागले ढापदेखि लार्केको हेडवक्र्ससम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ ।  

पुलचोकदेखि चार किलोमिटर उत्तरतर्फको पहुँचमार्ग भने स्थानीयको अवरोधले निर्माण हुन सकेको छैन । उपकार्यकारी निर्देशक श्रेष्ठले मेलम्चीको हेडवक्र्सबाट टिबिएम प्रयोग गरेर खन्न कुनै समस्या नहुने बताए । सरकारले चालु आर्थिक वर्षको बजेटमा मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको पहुँचमार्ग लगायत काम गर्न पाँच अर्ब ४६ करोड रूपैयाँ विनियोजन गरेको छ । सिन्धुपाल्चोकको यांग्री र लार्के खोलाबाट दैनिक ३४ करोड लिटर पानी उपत्यका ल्याउन खोजिएको हो ।

मेलम्चीको सुरुङबाट झण्डै सय करोड लिटर पानी ल्याउन सकिन्छ । पहिलो चरणको आयोजनाबाट दैनिक १७ करोड लिटर पानी उपत्यका आउनेछ । यांग्री र लार्के खोलाको थप ३४ करोड लिटर पानी थप गर्ने लक्ष्य राखिएको हो । सरकारले लार्के र यांग्री खोलाको पानी ल्याएर चक्रपथबाहिर टोखा, जोरपाटी, गोकर्णेश्वर, ठिमी, भक्तपुर र गोठाटारलगायत क्षेत्रमा पानी वितरण गर्ने योजना बनाएको छ । दोस्रो चरणको परियोजनामा चक्रपथ बाहिरका र केही चक्रपथभित्र छुटेका क्षेत्रमा पानी वितरण गर्न पाइप लाइन जडान गर्ने लक्ष्य छ ।

प्रकाशित: ७ आश्विन २०७७ ०३:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App