coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

साना होटललाई अझै सकस

पोखरा लेकसाइड। फाइल तस्बिरः नागरिक

कोरोना भाइरस महामारीबीच सरकारले अनुमति दिएपछि असोज एकगतेदेखि होटल तथा रेस्टुरेन्ट संचालनको बाटो त खुल्यो। तर, साना र मध्यम आधारका होटल तथा रेस्टुरेन्टका व्यवसायी भने सरकारी स्वीकृतिले खासै उत्साहित भएका छैनन्। ठुला आकारका होटल तथा रेस्टुरेन्टले केही आकारमा आन्तरिक पाहुना स्वागत गरिसक्दा साना व्यवसायी भने अझै दोधारमा छन्।  

झन्डै ६ महिनादेखि व्यवसायमा ताला लगाएका मध्यम र साना व्यवसायी कहिलेदेखि व्यवसाय सुचारु गर्ने भन्ने निर्णयमा समेत पुग्न सकेका छैनन्। अन्तर्राष्ट्रिय उडान सुरु भएपनि विदेशी पाहुना तत्काल आउन नपाउने र आन्तरिक पाहुनाको गतिविधि नबढेकोले अहिले नै व्यवसाय संचालनको टुंगो लगाउन नसकेको उनीहरुको भनाई छ।  

साना र मध्यम आकारका होटलका लक्षित ग्राहक पनि मध्यमवर्गका आन्तरिक पाहुना भएकोले उनीहरुको हिडडुल सुरु नभएसम्म व्यवसाय फस्टाउन नसक्ने व्यवसायीको भनाई छ। अहिले ठुला आकारका होटलले खर्चालु आन्तरिक पाहुना मात्र स्वागत गरिरहँदा मध्यमस्तरका पाहुना राख्ने होटल भने खुलाउने आँटसमेत व्यवसायीले गरेका छैनन्।  

‘अहिले खर्च गर्ने क्षमताका सिमित पाहुनाको मात्र हिडडुल सुरु भएको हो। सबै वर्गका पाहुना यो बेला घुमघाममा निस्कन सक्दैनन्,’ होटल एशियाका संचालक धर्मराज पन्थीले भने, ‘सबैका लागि हिडडुल सहज भएमा मात्र हामी मध्यम आकारका व्यवसायी टिक्ने हो। अहिले त खर्चालु पाहुना मात्र निस्केका हुन्। अहिले घुमघाममा निस्केका पाहुनाले भनेजति खर्च गर्न क्षमता राख्छन।’  सबै वर्गका पाहुना घुमघाममा निस्केको खण्डमा मात्र साना र मध्यम आकारका होटल तथा रेस्टुरेन्टले पाहुँना पाउने उनले बताए।  

पोखरा भिलेज रिसोर्टका संचालक हरि शर्मा पनि अहिले नै होटल खोल्ने तयारीमा नरहेको बताउँछन्। महामारीको अवस्था कमजोर हुँदै गएमा दसैंतिहार पछि मात्र होटल खोल्ने उनको योजना छ। ‘दसैंतिहारपछि मात्र आन्तरिक पाहुनाको हिडडुल बढ्ने अपेक्षा छ। त्यो बेलासम्म महामारी कम भयो भने बल्ल होटल संचालन गर्ने हो,’ शर्माले भने, ‘अहिले नै होटल संचालनको तयारी गर्न सकिएको छैन। कर्मचारी पनि छैनन, घर फर्केका कर्मचारीलाई बोलाएर मात्र पनि हुँदैन।’  

रानीवन आर्केडका संचालक हरि भुजेलले पनि होटल खोल्ने आँट नगरेको बताए। संचालन खर्च पनि उठ्ने अवस्था नरहेकोले अहिले नै होटल संचालन नगर्ने उनले बताए। ‘कर्मचारीको खर्च धान्न सकिने अवस्था छैन। हामीले पाउने पाहुना मध्यमस्तरका हुन्। त पाहुना आउन अझै केही समय लाग्छ,’ उनले भने, ‘मध्यम स्तरका पाहुना दसैं तिहारमा घुम्न आउने अनुमान छ।  

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन मध्यम र साना आकारका  होटलले संक्रमणको अवस्था ‘नर्मल’ भएपछि मात्र पाहुना पाउने बताउँछन्। ‘एयरलाइन्सको प्याकेजमा आउँदा तोकिएका होटलले मात्र पाहुना पाउँछन। खर्च गर्न सक्ने सिमित पाहुनाले पनि त्यही आकारको होटल खोज्छन,’ तुलाचनले भने, ‘मारमा पर्ने भनेको नै मध्यम र साना आकार होटल हुन्।’ अहिलेको अवस्थामा केही ठुला आकारका होटलले सिमित पाहुनालाई स्वागत गर्दैमा सबैले पाहुना पाउने अवस्था नरहेको उनले बताए।  

‘पहिलेकै अवस्थामा आएपछि मात्र सबै खाले व्यवसाय चलायमान हुनेछ,’ उनले भने, ‘तत्कालका लागि सिमित व्यवसायी मात्र चलायमान बन्ने प्रयासमा छन।’  पोखरामा सेवाप्रदायक धेरै भएकोले संख्यात्मक हिसाबले पनि सबैखाले पाहुनाको आगमन बढ्नुपर्ने उनले बताए। ‘सबै तहका पाहुना जुनदिन आउन थाल्छन, त्यसपछि सबै होटल र रेस्टुरेन्टले पाहुना पाउँछन। अहिलेका पाहुना सिमित छन, ती खर्चालु पनि छन,’ उनले भने।  

उनका अनुसार पोखरामा करिब ७ सय होटल छन्। ती मध्ये क्षमताको हिसाबले २० प्रतिशत हिस्सा ठुला आकारका होटलले ओगट्ने उनले बताए। ३५ कोठासम्मका होटल मध्यम र २० कोठासम्मका होटल सानामा पर्ने उनको भनाई छ। मध्यमस्तरका होटलमा बस्ने पाहुनाले एकरातको तीनहजार रुपैयाँसम्म तिर्छन भने साना आकारमा बस्दा १५ सय रुपैयाँसम्म तिर्छन।  

‘प्रतिरात १५ सय देखि ३ हजार रुपैयाँ तिर्ने क्षमताका पाहुना जुन दिन आउँछन, त्यो दिन सबैले पाहुना पाउनेछन,’ अध्यक्ष तुलाचनले भने, ‘अहिले भित्रिएका सिमित पाहुना खर्चिला छन। उनीहरुको रोजाईमा पनि ठुला होटल पर्छन। त्यसैले त अहिले नै ठुला होटलले पाहुना स्वागत गर्न पाएका छन्। हाम्रा लागि अहिलेको सिमित आगमन पनि स्वागतयोग्य छ।’ साना व्यवसाय संचालन हुन अझै केही महिना लाग्ने उनले बताए। ‘संख्यात्मक हिसाबले साना होटलका पाहुना बढी हुन्छन्। 

साना व्यवसायी चलायमान भएमा मात्र अरु टिक्ने हुन्,’ उनले भने, ‘सानो होटलमा बस्ने पाहुना आउन थालेपछि बल्ल सबै व्यवसाय खुले भनेर बुझ्नुपर्छ।’ संक्रमण बढिरहेको बेला साना होटलले सरकारी स्वास्थ्य प्रोटोकल पुरा गर्न पनि सकस रहेको र व्यवसायको सुनिश्चितता नहुँदा खुलाउने आँट नगरेको उनले बताए।  

पोखरा पर्यटन परिषद्का अध्यक्ष चीरञ्जीवी पोखरेल अहिलेको अवस्थामा पाहुना स्वागत गर्न पाउनु कम्ति चुनौतीपूर्ण नरहेको बताउँछन्। ‘अहिले नै ग्राहक पाउन सजिलो छैन। तर पर्यटन बजार बन्द छ भनेर सधैं ढोका लगाएर बस्नु भएन। आफु जोगिने र पाहुनालाई पनि जोगाएर व्यवसाय खोल्न आँट गर्नुपर्छ,’ पोखरेलले भने, ‘चलायमान हुन सक्ने आँट गर्नुपर्छ। अहिले होटल खोलेर घाटा सहन तयार हुनुपर्छ। चलायमान बन्नका लागि पनि होटल खोल्न जरुरी छ।’  

प्रकाशित: ६ आश्विन २०७७ १२:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App