१६ चैत्र २०८० शुक्रबार
अर्थ

कृषिमा अनुदानको दुरुपयोग भएको सांसदहरुको गुनासो

उदयपुरका प्रदेश सांसदहरुले कृषि अनुदान रकमको चरम दुरुपयोग हुने गरेको गुनासो गरेका छन् । कृषि ज्ञानकेन्द्र उदयपुरद्वारा आईतबार गाईघाटमा आयोजित ‘वार्षिक कार्यक्रम सार्बजनिकीकरण गोष्ठी’मा सहभागी आधादर्जन सांसदहरुले राज्यले दिने कृषि अनुदान सदुपयोग हुन नसकेको बताए ।  

ज्ञानकेन्द्रले आर्थिक वर्ष २०७७/७८ मा सञ्चालन गर्ने मुख्य–मुख्य कार्यक्रम र योजनाको विवरण सार्बजनिक गरेको गोष्ठीमा सांसदहरुले कृषि प्रबद्र्धन शीर्षकमा राज्यले दिने अनुदानको चरम दुरुपयोग भएको उदाहरण नै पेश गरे । प्रदेश १ (क) का सांसद विमल कार्कीले कृषि अनुदान वास्तविक किसानको १० प्रतिशत हिस्साले मात्र पाउने भन्दै अहिलेसम्म किसानका नाममा दिइने अनुदान पहुँचवालाले हडप्दै आएको बताए । अनुदानको चरम दुरुपयोग हुने गरेको उदाहरण सदरमुकाम गाईघाटकै सप्तकोसी कोल्ड सेन्टर भएको दावी पनि सांसद कार्कीले गरे ।  

केही वर्षअघि गाईघाटमा सञ्चालित आधुनिक र व्यवस्थित ‘सप्तकोसी कोल्ड सेन्टर’को नाममा राज्यबाट ३ करोड अनुदान लिएर बन्द गरेको भन्दै सांसद कार्कीले अहिले सो पोल्ट्री फार्म र कटिङ सेन्टर मोटर ग्यारेजमा परिणत भएको बताए । कार्कीले राज्यको स्रोतसाधनको सदुपयोग हुन नसक्ने यस्ता घट्नामा पत्रकारहरुले निडर भएर कलम चलाउन आग्रह गरे । कार्कीको संकेत नेपाली कांग्रेस उदयपुरका पूर्व सभापति विदुर बस्नेतप्रति लक्षित थियो ।

त्रियुगा नगरपालिका ११ गाईघाट डिएमगेटस्थित सञ्चालनमा आएको आधुनिक र व्यवस्थित सप्तकोसी कोल्ड सेन्टर स्थापनामा बस्नेतले साझेदारीमा १ करोड बढी लगानी गरेका थिए । गाउँगाउँका किसानलाई ब्रोईलर कुखुरा पाल्न लगाउने, उनीहरुको कुखुरा संकलन गरी प्रशोधिन स्वस्थ्य मासु बिक्री गर्दै काठमाडौंलगायत बिभिन्न सहरमा निर्यात गर्नेसम्मको लक्ष्यसहित सञ्चालन भएको सेन्टर वर्षदिनपछि नै बन्द भएको थियो । बन्द भएपछि स्थानीयले ‘सरकारी अनुदान पच्न मात्र सञ्चालन गरेको’ टिप्पणी गरेको स्मरण गर्दै कार्कीले यस्ता गलत प्रबृत्ति निरुत्साहित गर्न पत्रकारहरुलाई निष्पक्ष भएर समाचार लेख्न आग्रह गरे ।  

‘किसानलाई कुखुरा पाल्न लगाएर आयआर्जन बढाउने, बजारका उपभोक्तालाई स्वस्थ्य मासु खुवाउने उदेश्यले खुलेको भनिएको थियो सप्तकोसी सेन्टर’ कार्कीले प्रश्न गरे ‘सेन्टर देखाएर राज्यबाट ३ करोड अनुदान लिएपछि तुरुन्त बन्द भयो, अहिले त्यहाँ मोटर ग्यारेज छ । यस्तो विषयमा पत्रकारको कलम चल्नुपर्छ कि पर्दैन ?’ सप्तकोसी मात्र नभएर यस्ता घट्ना धेरै ठाउँ भएको भन्दै उनले राज्यले वास्तविक किसानलाई अनुदान दिनुपर्ने र त्यसअघि किसानबाट आवधिक योजनासहितको प्रक्षेपित खाका लिनुपर्ने बताए ।

उदयपुर २ (ख) की सांसद कला घलेले कानुन र नीति नियम नयाँ भए पनि कार्यशैली र पद्धति पुरानै भएकाले किसानमैत्री योजना लागू हुन नसकेको बताईन् । तीन तहको सरकारबीचको तालमेल नमिल्नुले पनि वास्तविक किसान अहिले पनि पीडित हुनुपरेको भन्दै संघ, प्रदेश र स्थानीय सरकारबीच साझा र कृषिमैत्री कार्यक्रम ल्याउन सुझाईन् । संघ र स्थानीयतहले प्रदेश सांसदलाई गन्दै नगन्ने गुनासो गर्दै घलेले भनिन् ‘स्थानीयतहले आफुलाई उम्रेको जुँगा र हामी प्रदेश सांसदलाई टाँसेको जुँगा मान्दा समन्वय हुन सकेको छैन ।’ राज्यले किसानलाई दिदै आएको सेवा सुविधाको सदुपयोग भयो भएन भनेर निगरानी राख्नुपर्नेमा किसानलाई दिएको कुरा जे सुकै होस् भन्ने प्रबृत्तिले वास्तविक किसान मार्कामा परिरहने उनले बताईन् ।  

समानुपातिक सांसदहरु अम्बिका थापा, सुमित्रा चौधरी र सञ्जा  दनुवारले किसानमैत्री कार्यक्रम परम्परागत सोंच र प्रबृत्तिका कारण कार्यान्वयन गर्न चुनौति रहेको भन्दै कृषिलाई उत्पादनसँग जोडेर व्यवसायिक र दीगो योजना सञ्चालन गर्नुपर्ने बताईन् । राज्यको अनुदान वास्तविक किसानसम्म पुग्न सके त्यसको सदुपयोग हुने भन्दै उनले तर, अहिलेसम्म त्यसो हुन नसक्नले नै समस्या निम्तिने गरेको बताईन् ।  

कृषि ज्ञानकेन्द्र अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख खड्ग परियारले ज्ञानकेन्द्र कार्यालय प्रदेस सरकारमातहत चल्ने भए पनि स्थानीयतह र संघले उत्तिकै साथ दिए कृषि विकासले धेरै फड्को मार्न सक्ने बताए । कानुनले स्थानीयतहलाई कृषिसम्बन्धी १३ प्रकारका अधिकार दिएकाले गाउँ र नगरपालिकाले चाहे प्रदेश र संघको मुख ताक्नुभन्दा आफ्नै स्रोतसाधनको उपयोग गरी कृषिमा क्रान्ति गर्नसक्ने बताए । स्थानीयतहमा कृषि शाखाको व्यवस्था भएकाले कृषिमा आत्मनिर्भर हुनेखालका कार्यक्रम बनाउँदै प्रदेश र संघसँग समन्वय गर्न परियारले जोड दिए ।  

स्थानीयतहले कृषिबारे छलफल र बहस गर्न समन्वय समितिलाई नबोलाउने भन्दै परियारले तीनैतहबीच साझेदारीमा ज्ञानकेन्द्र र समन्वय समितिले साथ दिए छिटो कृषिक्रान्ति हुने र यसबाटै समृद्धि हात पर्ने विश्वास व्यक्त गरे । गतवर्ष कोविड महामारीले उपलब्धीमूलक काम गर्न नसकेको भन्दै परियारले चालुवर्ष परिणाम देखिने गरी कार्यक्रम गर्न अहिलेदेखि नै तयारीमा लागेको बताए । सानो लगानीमा पनि परिणाममुखी कार्यक्रम गर्नुपर्ने भन्दै उनले कृषकहरुले अनुदानको मुख नताकी श्रम र सिर्जनामा कृषि अभियान चलाउन आग्रह गरे ।  

बेलका नगरप्रमुख दुर्गाकुमार थापा र रौतामाई गाउँपालिका अध्यक्ष गजेन्द्र खड्काले स्थानीयतहले थालेका कृषि कार्यक्रमलाई सहयोग र निरन्तरता दिन प्रदेश सांसदसँग आग्रह गरे । गाउँ र नगरपालिकाले थालेका बिभिन्न कृषकमैत्री कार्यक्रममा प्रदेश र संघको सहयोग भए छिटो प्रगति गर्न सकिने उनीहरुले बताए । ज्ञानकेन्द्रले बजेट कम दिए पनि दक्ष जनशक्तिद्वारा प्राविधिक सहयोग मात्र गरे पनि स्थानीयतहलाई कृषिमा धेरै सहयोग पुग्नेमा दुवै प्रमुख सहमत थिए ।  

गोष्ठीमा ज्ञानकेन्द्र प्रमुख प्रकाश विश्वकर्माले चालु वर्ष प्रशासनिक खर्चसमेत गरी बिभिन्न २० वटा शीर्षकमा ५ करोड ८५ लाख ८९ हजार बजेट खर्च हुने विवरण सार्बजनिक गरेका थिए । गतवर्षको प्रगति विवरणसमेत प्रस्तुत गरेका विश्वकर्माले चालुवर्षको कार्यक्रमलाई परिणाममुखी र किसानमैत्री बनाउने दृढता व्यक्त गरे । ज्ञानकेन्द्रले जिल्लामा प्राङ्गारिक खेती प्रवद्र्धन अभियान चलाउने, यान्त्रिकरणमा जोड दिदै कृषि औजार उपकरण प्रयोग बढाउने, कृषि बजार र संकलन केन्द्र तथा व्यवसायिक फलफूल र बगैचा निर्माण, युवा लक्षित च्याउ, मह, तरकारी खेतीजस्ता कार्यक्रमहरु प्राथमिक्तामा राख्ने उनले बताए ।  

ज्ञानकेन्द्रले प्राङ्गारिक खेती प्रवद्र्धन अभियानका लागि ६४ लाख, कृषि यान्त्रिकरण ४१ लख ५५ हजार, व्यवसायिक फलफूल बगैंचा निर्माण २१ लाख तथा युवालक्षित कार्यक्रम मह, च्याउ र तरकारी उत्पादन र कृषि बजार संकलन केन्द्र स्थापनाका लागि २०/२० लाख रुपैयाँ विनियोजन गरेको विश्वकर्माले बताए । उनका अनुसार जिल्लाका बिभिन्न स्थानीयतहमा १ सय २८ हेक्टर जमिनमा मकै उत्पाकत्व प्रवद्र्धन कार्यक्रम गर्न १३ लाख ५० हजार विनियोजन गर्दा १२ लाख ५० हजारमा कागतीखेती मिसन कार्यक्रम गरिने छ । 

महिला, दलित, विपन्न तथा पिछडा समुदाय लक्षित कार्यक्रम गर्न १० लाख र मुख्य लोकमार्ग लक्षित तरकारी उत्पादनमा ९ लाख, सघन बाली विकास आयोजना ८ लाख ३३ हजार र बिउविजन आत्मनिर्भरका लागि ६ लाख विनियोजन गरिएको विश्वकर्माले बताए ।

प्रकाशित: ६ आश्विन २०७७ १२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App