coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

उदयपुरमा सार्वजनिक यातायात सुचारु

यात्रु चढाउनुअघि बसमा सचेतनामूलक स्टिकर टाँस्दै । तस्बिरः महेश्वर

सरकारले तोकेको सुरक्षा मापदण्ड अपनाउँदै उदयपुरमा सोमबारदेखि लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सुचारु भएको छ। सरकारले असोज १ गतेदेखि चलाउने निर्णय गरे पनि प्रदेश १ ले ५ गतेदेखि चलाउने निर्देशन गरे अनुसार सदरमुकाम गाईघाटदेखि प्रदेशका १४ वटै जिल्ला र अन्तरप्रदेशस्तरीय यातायात सेवा सुचारु गरेको उदयपुर हिमाली यातायात केन्द्रले जनाएको छ।  

अन्तरजिल्ला र प्रदेशसँगै केन्द्रले जिल्लाभित्रका सबै आन्तरिक सडकमा साना ठूला यातायात सुचारु गरेको केन्द्रका महासचिव उमेश बस्नेतले बताए। उनका अनुसार कोभिडका कारण साढे ६ महिनादेखि अवरुद्ध यातायात आवश्यक सुरक्षा मापदण्ड पूरा गरेर पहिलेजस्तै सुचारु गरिनेछ। यातायात सुचारु गर्नुअघि सुरक्षा मापदण्डलाई कडाईका साथ अपनाउन प्रदेश सरकारले जारी गरेको निर्देशनको अक्षरसः पालना गरिने उनले बताए। चैत्र ११ देखि सुरु लकडाउनका कारण रोकिएको सेवा सुचारु हुने भएपछि यातायात व्यवसायी र मजदुरहरु खुसी देखिएका छन्।  

लकडाउनले भान्छामा आगो बल्नै छाडेको बेला यातायात सुचारु भएपछि परिवार पाल्न सहज हुने अपेक्षा जागेको केन्द्रका कर्मचारी मणिकुमार राईले बताए। उनले लकडाउनले रोजगारी गुमाउनु पर्दा दुई छाक जोहो गर्नै समस्या आएकोमा अब बाँच्ने आसा पलाएको बताए। पहिलो दिन गाईघाटदेखि काठमाडौं, विराटनगर, इटहरी, धरान, काँकडभिट्टा, सिराहा, सप्तरी, जनकपुर, मलंगवा तथा पोखरासम्मका ठूला साना गाडी छुटेका छन्। प्रदेश सरकारको निर्देशन अनुसार गाडीहरु छुट्नुअघि प्रशासन र प्रहरीको निगरानीमा सबै गाडीलाई सेनिटाइज (सरसफाई) गरिएको छ भने यात्रु संख्या आधा मात्र राखिएको छ।  

स्वास्थ्य मन्त्रालयको नियम तथा प्रदेश सरकारको निर्देशन अनुसार गाडी चढ्नुअघि यात्रुलाई हात धुने, सेनिटाईजर छर्कने र मास्क लगाउने काम अनिवार्य गराइएको केन्द्रका कर्मचारी प्रमेश्वर घिमिरेले बताए। उनका अनुसार २ जनाको सिटमा १ जना मात्र बस्नुपर्ने भएकाले यात्रु संख्या पनि आधा मात्र अर्थात एउटा बसमा १७ जनाभन्दा बढी नराख्ने मापदण्ड लागू गरिएको छ। भाडा पनि सरकारले तोके अनुसार ५० प्रतिशतसम्म मात्र बढी लिने निर्णय भएको छ। सामाजिक दूरी, मास्क, सेनिटाइजर, निश्चित ठाउँमा यात्रु चढाउने र झार्ने, संक्रमणको खतराबाट बँच्न बाटोमा भाडा लेनदेन बन्द गर्न बस चढ्नुअघि नै भाडा लेनदेन गर्नेलगायत फरक तरिकाले सेवा दिइएको घिमिरेले बताए।  

उदयपुर हिमालीबाट काठमाडौ चल्ने झण्डै दुई दर्जन बसमध्ये यात्रुको चाप अनुसार १ दर्जनसम्म चलाउने तयारी भईरहेको छ। पूर्वतर्फ चल्ने करिब ३ दर्जन बसमध्ये यात्रु अनुसार १ डेढ दर्जन सञ्चालनमा आउने केन्द्रको अनुमान छ। पहाडीभेगतर्फ चल्ने आधादर्जन बस सञ्चालनमा आउने बस्नेतले बताए। पहाडी भेगका रौता सल्ले, भुट्टार, रसुवा फोक्सीन्टार चलाउन ७ वटा गाडी सञ्चालनका लागि तैनाथ गरिएको छ।  

सोमबारदेखि चल्ने भएपछि सबै गाडीलाई आइतबार नै सेनिटाइज गरिसकिएको तथा चालक र सहचालकलाई आवश्यक स्वास्थ्य सामग्रीसमेत वितरण गरिसकिएको केन्द्रले जनाएको छ। अघिल्लो दिन केन्द्रले बसपार्कमै आयोजना गरेको एक कार्यक्रममा सहयाक प्रमुख जिल्ला अधिकारी तथा कोभिड नियन्त्रण अनुगमन समिति संयोजक सशीकुमार लम्मसालले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए। 

उनले यात्रुलाई सुरक्षित यात्रा गराउन र संक्रमणबाट बँच्न अपनाउनुपर्ने सुरक्षित मापदण्डलाई अनिवार्य गर्न प्रदेश सरकारले दिएको निर्देशन अनुसार बिभिन्न सचेतनामूलक होर्डिङ बोर्ड, स्टिकर, पम्प्लेटसमेत गाडीमा टाँस्ने काम गरिएको थियो।

प्रकाशित: ६ आश्विन २०७७ ०९:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App