७ वैशाख २०८१ शुक्रबार
अर्थ

चौतारा–काठमाडौं वैकल्पिक मार्ग स्तरोन्नति सुरु

वैकल्पिक मार्ग स्तरोन्नति शुभारम्भ गर्देै वाग्मती प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँल। तस्बिर: ध्रुब/नागरिक

जिल्ला सदरमुकाम चौतारादेखि राजधानी काठमाडौं जोड्ने सबैभन्दा छोटो दूरीको चौतारा–झ्याडीखोला–सिपाघाट–शालीनदी सडक स्तरोन्नति तथा कालोपत्रे सुरु गरिएको छ ।  

अरनिको राजमार्गको विकल्पसमेत ठानिएको यो सडक स्तरोन्नति गर्ने कामको वाग्मती प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयाँल र सामाजिक विकासमन्त्री युवराज दुलालले संयुक्त रूपमा शुभारम्भ गरे । मन्त्री फुयाँलले साबेल र दुलालले एक्साभेटर चलाएर जिल्लाको मध्यभाग छिचोल्दै राजधानी जोड्ने सडक स्तरोन्नति सुरु गरेका थिए ।

५६ किलोमिटर लामो यो सडक प्रदेश सरकारको बजेटबाट कालोपत्रे तथा स्तरोन्नति थालिएको हो । सडकमध्ये जिल्लाभित्र पर्ने चौतारा–झ्याडीखोला–सिपाघाटमा तीन खण्डमा काम भइरहेको छ । चौतारा–झ्याडीखोला नौ किलोमिटर खण्ड स्तरोन्नति तथा कालोपत्रको काम डेढ वर्षदेखि भइरहेको छ । आगामी असारभित्र यो खडकको काम सम्पन्न हुने पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजनल इन्जिनियर राजु श्रेष्ठले बताए । उनका अनुसार २७ करोड रूपैयाँको ठेक्कामा सोवर्ण निर्माण सेवाले यो खण्डको काम गरिरहेको छ ।  

झ्याडीखोलादेखि इन्द्रावती गाउँपालिकाको देउरालीसम्मको १२ किलोमिटर सडक कालोपत्रे तथा स्तरोन्नतिको काम गत असारदेखि सुरु भइसकेको छ । २९ करोड रूपैयाँ ठेक्कामा प्यासिफिक इन्जिनियरिङ प्रालिले यो खण्डमा काम गरिरहेको छ । आगामी दुई वर्षभित्र यो खण्डको काम सक्ने सम्झौता रहेको इन्जिनियर श्रेष्ठले जनाए । त्यस्तै देउरालीदेखि सिपाघाटसम्मको चार किलोमिटर खण्डमा सडक चौडा, नाला बनाउने तथा ग्राभेल बिछ्याउने काम सकिइसकेको छ । ६ करोड रूपैयाँ लागतमा यो खण्डमा काम भएको हो ।  

यी तीनवटै खण्डको लागि आवश्यक बजेट प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेको हो । वहुवर्षीय योजनाअन्तर्गत छोटो दूरीको सडकको काम अघि बढाइएको मन्त्री फुयाँलले बताए । ‘काठमाडौं जोड्न बाँकी खण्डको कामका लागि अर्को वर्ष बजेट छुट्याउँछौं,’ उनले भने । चौतारा–झ्याडीखोला–सिपाघाट सडक ट्र«्याक ०५१÷५२ तिर खोलिएको थियो । ट्र«्याक खोलिएको २५ वर्षपछि यो खण्डको कालोपत्रे तथा स्तरोन्नति थालिएको हो । सिपाघाटदेखि १५ किलोमिटर सडक ट्र«्याकले काठमाडौंको कात्तिके (शालीनदी) जोडिइसकेको छ । त्यहाँदेखि चाबहिलसम्म फराकिलो कालोपत्रे सडक बनिसकेको छ । बाँकी सडक स्तरोन्नति तथा कालोपत्रे हुँदा ५६ किलोमिटर पार गरेर डेढ–दुई घन्टामै आरामले राजधानी पुग्न सकिन्छ । अहिलेको चौतारा–काठमाडौं सडक ८१ किलोमिटर लामो छ । यो दूरी पार गर्न पूरै चार घन्टा लाग्छ । वैकल्पिक मार्ग सञ्चालनमा आउँदा २५ किलोमिटर दूरी छोटिने छ । साथै अरनिको राजमार्गको बनेपादेखि काठमाडौंसम्मै हुने सडक जाममा घन्टौं फस्नुपर्ने बाध्यताबाट मुक्तिसमेत मिल्नेछ ।  

मन्त्री दुलालले छोटो दुरीको यो सडकको काम आगामी प्रदेशसभा निर्वाचन अगावै सक्ने वाग्मती सरकारको लक्ष्य रहेको बताए । ‘यो सडकले सिन्धुपाल्चोक, काभ्रे र काठमाडौंका प्रदेश निर्वाचन क्षेत्रमा रहेका ग्रामीण बस्तीलाई सिधै जोड्छ,’ उनले भने, ‘वैकल्पिक मार्गका रूपमा यो सडकले धेरै लाभ दिने प्रदेश सरकारको विस्वास छ ।’ सिन्धुपाल्चोकका सबैतिरका स्थानीयलाई लाभ दिने यो सडकलाई दोलखा र रामेछापका यात्रुले राजधानी पुग्ने वैकल्पिक मार्गको रूपमा उपयोग गर्न सक्ने मन्त्री दुलालले जानकारी दिए ।

प्रकाशित: ६ आश्विन २०७७ ०५:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App