coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

होटलमा स्थानीय पाहुना!

पोखराको दोबिल्लास्थित निर्मलपोखरी वन नजिकैको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पा । फाइलतस्बिरः सन्तोष/नागरिक

कोरोना भाइरस संक्रमणबीच सरकारले गत बिहीबारदेखि होटल तथा रेस्टुरेन्ट खोल्न स्वीकृत दिएसँगै यहाँको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एण्ड स्पा संचालनमा आयो । संक्रमण बढेसँगै बन्द रहेको रिसोर्टले संचालनकै दिनदेखि सानो आकारमा आन्तरिक पाहुनाको बुकिङ पाएको छ । तीनदिन अवधिमा रिसोर्ट पाहुनाविहीन हुनुपरेको छैन ।  

कोरोना संक्रमणबीच पनि यो रिसोर्टले पाहुना पाउँदा व्यवस्थापन सम्हालेका उच्च कर्मचारी दंग छन् । को हुन त यो बेला रिसोर्टमा बस्न पुग्ने पाहुना ? रिसोर्टका संचालन निर्देशक किरण तुलाधर भन्छन, ‘स्थानीय (पोखरेली) पाहुना रिसोर्टमा बस्न आईपुगेका छन् । पोखराका चिकित्सक, व्यापारी अहिलेका हाम्रा पाहुना हुन् ।’ लामो समयको बन्दाबन्दीले घरबाहिर निस्कन नपाएका पाहुना यो बेला एकरातका लागि भएपनि घर छाड्ने मौका खोजिरहँदा रिसोर्टमा बस्न पुगेको तुलाधरले बताए ।  

‘यो बेला पोखरा छाड्ने र अलि टाढाका होटलमा पुग्ने माहोल बनिसकेको छैन । त्यही भएर नजिकै र शान्त रिसोर्टमा उनीहरु बस्न आएका छन,’ उनले भने, ‘सुरुका दुईदिन पोखराका मात्र पाहुना थिए । तेश्रो रातका लागि काठमाडौंका पाहुनाले पनि बुकिङ गरेका छन् ।’ उनका अनुसार निजी सवारी भएका र अलि खर्च गर्न सक्ने क्षमता राख्ने पाहुना यो बेला पारिवारिक भ्रमणको रुपमा रिसोर्टमा बस्न पुगेका छन् ।  

‘६ महिनासम्म घरबाहिर निस्कन नपाएर गुम्सिएका बालबच्चा र अभिभावक अहिले निजी सवारीमा एकरातका लागि भएपनि घरबाहिर जान खोजिरहेका छन् । उनीहरु हाम्रा यो बेलाका पाहुना हुन्,’ उनले भने, ‘होटलले सतप्रतिशत अकुपेन्सी ओगटने त होइन । तर, केही पाहुना रिसोर्टमा पुग्दा हामी चलायमान बनेका छौ ।’ पोखरा सहरदेखि झन्डै ६ किलोमिटर टाढा निर्मलपोखरी जंगलछेउको यो रिसोर्ट सहरी कोलाहल भन्दा टाढा भएकोले पनि पाहुनाका लागि आकर्षक बनेको उनले बताए । ‘हामीले अरुबेला बरु स्थानीय पाहुना पाउँदैनथ्यौ । तर यो पटक स्थानीय पाहुनाको सोधखोज आईरहेको छ,’ उनले भने । ६४ कोठाको यो रिसोर्टले सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल पुरा गरेकोले पनि पाहुना ढुक्क हुन सकेको उनले बताए ।  

बाराही ग्रुपले संचालनमा ल्ल्याएको सराङकोट माउन्टेन लज पनि असोज १ देखि खुलेको छ । यो लजमा ३० वटा कोठा छन् । सराङकोट माउन्टेन लज पनि खुलेको पहिलो दिनदेखि पाहुनाविहीन हुनुपरेको छैन । बाराही ग्रुपका महाप्रबन्धक राजकुमार केसीका अनुसार पोखराका व्यवसायी, चिकित्सक सहित उच्च घरानीय समुहका पाहुना लजमा बस्न उक्लेका छन् । बजारदेखि झन्डै १० किलोमिटर माथि सराङकोट चुचुरोमा यो लज संचालनमा छ । बजारको कोलाहलबाट एकरातका लागि भएपनि मुक्त हुना पाहुना यो बेला डाँडाकाँडाका रिसोर्टमा उक्लेको केसीले बताए ।

‘संक्रमणको यो गतिमा हामीले पाहुना पाउँला भन्ने अनुमान गरेका थिएनौ, तर, सोचेभन्दा फरक आकारमा पाहुना पाउँदा लज चलायमान बनेको छ,’ उनले भने, ‘मान्छे घरभित्र थुनिएर बस्दा दिक्क भईसकेका थिए । कतिखेर घर छाडौं भन्ने अवस्थामा थिए । सरकारले स्वीकृति दिनासाथ घर छाडेका छन । यसले हामीलाई उत्साही बनाएको छ ।’  

व्यवसायीका अनुसार तत्काल अन्तर्राष्ट्रिय हवाई उडान सहज नभएकोले अझे केही समय विदेशी पाहुना आउने छैनन् । तर, खर्च गर्न सक्ने क्षमताका आन्तरिक पाहुना भने यो बेला पनि घुम्न निस्केका छन् । संंक्रमण कमजोर हुँदै जाने हो भने दसैंसम्म कम आयश्रोत भएका आन्तरिक पाहुना पनि घुम्न निस्कने उनीहरुको अनुमान छ । कम खर्च गर्ने क्षमताका पाहुनाको हिडडुलमा आर्थिक अवस्थाले केही कमजोर बनाएपनि उच्च वर्गका पाहुनाका लागि भने यो बेला घुम्ने अवसर बनिरहेको उनीहरुको भनाई छ ।  

‘यो बेला सबैतहका आन्तरिक पाहुना आउने होईनन । तर, प्रयाप्त खर्च गर्ने क्षमता राख्ने पाहुना पनि छन, उनीहरु यो बेला निस्कछन,’ टेम्पल ट्रि रिसोर्टका म्यानेजर कृष्ण आचार्यले भने, ‘हुन त पर्यटन क्षेत्र चलायमान हुन सबै तहका पाहुनाको घुमघाम जरुरी छ । तर, सार्वजनिक सवारी चढेर यात्रा गर्नुपर्ने अवस्थाका पाहुना भने यो बेला कमै मात्र घुम्न निस्कछन् । निजी सवारी भएका पाहुनाका लागि भने घुमघाम सहज छ ।’ यो बेला टाढाका गन्तव्य भन्दा नजिकका सहर पहिलो रोजाईमा पर्ने उनले बताए ।  

कोरोना संक्रमणसँगै गरिएको लकडाउनसँगै बन्द रहेको टेम्पल ट्रि रिसोर्ट अर्काे सातादेखि संचालनमा आउने तयारीमा छ । म्यानेजर आचार्यका अनुसार अहिले स्थानीयसहित काठमाडौंका केही उच्च वर्गका पाहुनाको सोधीखोजी सुरु भईसकेको छ । ‘पहिलो चरणमा आउने भनेकै काठमाडौंका घरानीया पाहुना हुन् । पाहुनाको आकार एकैपटक माथि उक्लिने हुँदैन । तर, घरभित्र बस्दाबस्दा दिक्क भएका नागरिक अब घुम्न निस्कन्छन,’ आचार्यले भने, ‘आगामि दिनमा पुनः लकडाउन नहुने हो भने दसैंका लागि आन्तरिक पाहुनाको चहलपहल केही थपिन्छ ।’

लकडाउनले गर्दा घरभित्रै गुम्सिएका उच्च घरानीया पाहुनाका लागि यो बेला घुमघाम गतिलो निहुँ बनेको उनले बताए । ‘पहिलेजस्तो सबै खालका पाहुनाको घुमघाम यो पटक तत्काल हुँदैन । तर, एउटा समुह त्यस्तो छ, जो आवश्यक अनुसार खर्चन तयार छ,’ उनले भने,‘ती पाहुनालाई हामीले स्वागत गर्ने हो ।’ तत्काल विदेशी पाहुना आउने सम्भावना नभएकाले पनि होटलले केही समय आन्तरिक पाहुना लक्षित गरेर योजना बनाउन जरुरी रहेको उनले बताए । उनले पनि यो सिजन नै आन्तरिक पाहुनाका लागि हुने बताए । ‘सबैतिरको आम्दानी घटेकोले पहिलेजस्तै जो सुकै आन्तरिक पाहुना घुम्न निस्कन सक्दैनन्,’ उनले भने, ‘त्यही भएर हामी पनि अर्काे सातादेखि खुल्दैछौ ।’

पोखराको पाँचतारे होटलका म्यानेजर रोशन खवास पनि संक्रमण बढेको निहुँमा सरकारले पुनः लकडाउन गर्ने त्रास रहेकोले पनि यो बेला एकसमूह घर छाड्न हतारिएको बताउँछन् । ‘आगामि दिनमा थप लकडाउन गर्नु नपरे हुन्थ्यो । सधैं खुला हुने हो भने पक्कै आन्तरिक पाहुनाको हिड्डुल सुरु हुनेछ,’ उनले भने । पोखराको एकमात्र पाँचतारे होटल अहिले मर्मतसम्भारमा रहेकोले अक्टोबरदेखि मात्र संचालनमा ल्याउने योजना बनाईसकेको उनले बताए ।

‘सिमित आन्तरिक पाहुनाबाट सबै होटल चल्छन् भन्ने होइन । तर, होटललाई चलायमान बनाउन ती पाहुनाको आगमन जरुरी छ,’ खवासले भने, ‘एकैपटक थुप्रै पाहुना आउँछन् भन्नु गलत हुनेछ । तर, अहिलेको अवस्थामा पनि केही पाहुना घुमफिरमा निस्केको देख्दा आशावादी हुन सकिन्छ ।’ सार्वजनिक यातायात खुलेको र हवाई उडान संचालन भएसँगै पाहुनाको आउजाउ बढ्ने सम्भावना रहेको उनले बताए ।  

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन पनि होटलले एकैपटक ठूलो आकारमा पाहुना पाउने नभई सानो समूहमा पाउन थालेको बताउँछन् । ‘हामीले यो बेला हुलका हुल पाहुना आउँछन् भनेर सोचेका पनि छैनौ । अहिले त सानो आकारमा मात्र पाहुना पाउने हो,’ उनले भने, ‘ठूलो आकारमा पाहुना आउन त संक्रमण सकिनुपर्छ । सार्वजनिक सवारीमा आउने पाहुनाको आगमन ढिला हुन्छ । तर, निजी सवारीमा परिवार, साथीभाई बीचको हिड्डुल सुरु भएको छ ।’  

सानो समुहमा पाहुँना पाउने भएकोले अब होटलले त्यही अनुसार योजना बनाउनुपर्ने उनले बताए । ‘सानै आकारमा पाहुनालाई हामीले स्वागत गर्ने हो । एकैपटक ठूलो समूहको अपेक्षा छैन,’ उनले भने, ‘सानो समूहमा पाहुना आउँदा संक्रमणको जोखिम पनि कम हुन्छ । ती पाहुना पनि सुरक्षित हुनेछन् । धेरै पाहुना देखिनु भन्दा सानो आकारमा आउँदा बढी सुरक्षित हुन्छ । संक्रमण घट्दै गएमात्र सार्वजनिक सवारीमार्फत ठूलो आकारमा पाहुना आउने उनले बताए । खर्चालु पाहुनासँग निजी सवारी भएकोले पनि यो बेला घुम्न निस्कन थालेको उनले बताए ।

प्रकाशित: ३ आश्विन २०७७ १३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App