७ वैशाख २०८१ शुक्रबार
अर्थ

यसरी चल्नेछ रेल

नेपालको पहिलो ब्रोडगेज सेवाअन्तर्गत सञ्चालन हुने रेल शुक्रबार जयनगरबाट जनकपुर आएपछि हेर्न जम्मा भएका सर्वसाधारण। तस्बिर: नागरिक

जयनगर–जनकपुर रेल सेवाको शुक्रबार परीक्षण गरियो। तर सर्वसाधारणले यो रेलमा चढ्न भने तत्कालै नपाउने भएका छन्। उनीहरुले रेल चढ्न अझै केही समय पर्खिनुपर्नेछ। नेपाल र भारतमा कोरोना संक्रमण तीव्र भएकाले पनि यो रेल तत्कालै सञ्चालन नहुने भएको हो।

नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले शुक्रबारदेखि रेल्वेको परीक्षण भए पनि कोरोना भाइरस नियन्त्रणमा नआउँदासम्म रेल सेवा सञ्चालनमा नआउने बताए। ‘कोरोना भाइरस केही हदसम्म नियन्त्रणमा आएपछि रेल सेवा सञ्चालनमा ल्याउनेछौं,’ उनले भने,

‘त्यतिबेलासम्म आवश्यक प्राविधिक र कर्मचारीको टुंगो पनि लगाउनेछौं।’ यो रेलको क्षमता १३ सय यात्रुको छ। तर एकैपटक यात्रु चढ्दा भने ७ सय मात्रै चढ्न मिल्छ। रेलमा अपांगता भएका तथा ज्येष्ठ नागरिकका लागि सीमित सिट भए पनि अधिकांश यात्रुले भने उभिएरै यात्रा गर्नुपर्ने हुन्छ।

आठ ठाउँमा सवस्टेसन
सञ्चालनमा आउन लागेको रेलमार्ग ३५ किलोमिटरको छ। जहाँ आठवटा सवस्टेसन छन्। सवस्टेसनबाट रेलमा चढ्न र झर्न सकिनेछ। सवस्टेसन, जनकपुर, इनरुवा, कुर्था, बैरेहीलगायत आठ स्थानमा छन्। यो रेल प्रतिघण्टा एक सय किलोमिटरको गतिमा गुड्ने भए पनि छोटोछोटो दूरीमा सवस्टेसन भएकाले पूरा गतिमा भने नगुड्ने देखिन्छ। ‘प्रतिघण्टा एक सय किलोमिटर गति रेल गुडने क्षमता छ। तर सामान्यतया ५–५ किलोमिटरमा सवस्टेसन भएकाले रोक्दै गुडाउनुपर्ने भएकाले पूर्ण गतिमा चल्न नसक्छ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराईले यो रेल दिनमा तीनपटक ओहोरदोहोर गर्ने बताए। ‘यो रेल एक दिनमा तीनपटकसम्म ओहोरदोहोर गर्नेछ,’ उनले भने, ‘कुनकुन समयमा चलाउने अहिलेसम्म टुंगो लागेको छैन।’

रेल विभागका महानिर्देशक बलराम मिश्रले रेलको अघिल्लो र पछिल्लो दुवै भागमा इन्जिन हुने भएकाले प्रतिघण्टा करिब एक सय किलोमिटरका दरले कुद्ने बताए। विभागले यो रेल डिजेलबाट स्टार्ट भएर जेनेरेटरबाट पैदा हुने बिजुलीबाट चल्ने जनाएको छ। रेल ब्रोडग्रेज लिकमा चल्नेछ। सरकारले ८६ करोड रुपैयाँ लागतमा नेपाली झण्डा अंकित रेल निर्माणमा खर्च गरेको छ।

यात्रु मात्र बोकेर खर्च नपुग्ने
रेल्वे कम्पनीका महाप्रबन्धक भट्टराई जयनगर–जनकपुर रेलले यात्रु ओसारेर मात्रै खर्च धान्न नसक्ने बताउँछन्। ‘यसले प्यासेन्जर बोकेर मात्रै लागत उठाउन सक्दैन,’ उनले भने, ‘हामी सपस्टेसनमा थप सपिङ सेन्टर राखेर आम्दानीको स्रोत बढाउनेतर्फ केन्द्रित छौं।’ कम्पनीले यो रेल सञ्चालनका लागि वार्षिक २२ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ। तर यात्रु मात्रै ओसार्दा रेलले करिब १२ करोड रुपैयाँ आम्दानी गर्ने देखिएको छ। जयनगर–जनकपुरसम्मको प्रारम्भिक साधारणतर्फे भाडा ७५ रुपैयाँ र डिलक्स तथा एसी कक्षको भाडा पाँच सय रुपैयाँ पर्न सक्ने कम्पनीले जनाएको छ। तर निश्चित भाडा भने तय गरिएको छैन। ‘पहिलो चरणमा रेलले यात्रु मात्रै बोक्नेछ,’ भट्टराईले भने, ‘छिट्टै व्यावसायिक योजना बनाएर कार्गाे रेलसमेत थप गर्ने योजना छ।’

कर्मचारी नियुक्ति प्रक्रिया सुरु
नेपाल रेल्वे कम्पनीले रेल सञ्चालनका लागि आवश्यक कर्मचारी नियुक्ति प्रक्रिया अघि बढाइसकेको छ। पहिलो चरणमा २६ जना प्राविधिक कर्मचारी भारतबाटै ल्याइनेछ। कम्पनीका महाप्रबन्धक भट्टराईले भारतबाट २६ जना प्राविधिक ल्याउने कार्य अन्तिम चरणमा पुगेको बताए। कम्पनीले नेपालबाट एक सय २९ कर्मचारीका लागि दरखास्त मागिसकेको छ। रेल सञ्चालन गर्न दुई सय २६ जना कर्मचारी चाहिन्छ। कम्पनीले जारी गरेको सार्वजनिक सूचनामा प्रशासन, सवइन्जिनियर, सहायक स्टेसन म्यानेजर, लेखापाल कम्प्युटर अपरेटर, टिकट बिक्रेता, टिकट कलेक्टर, ट्र¥याक निरीक्षक, फोरम्यान, इलेक्ट्रिसियन, अमिन गार्ड, टिटिई, हेल्पर, पोइन्टस म्यान र पुस ट्रलीचालकलगायत विभिन्न पदमा १ सय २९ जना भर्नाका लागि विज्ञापन मागेको छ। इच्छुक र योग्यता पुग्नेले यही असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन्।

थप १७ किलोमिटर लिक बन्दै
रेल पहिलो चरणमा जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटरमा चल्नेछ। कुर्थादेखि डिजेलपुरा महोत्तरीसम्म थप १७ किलोमिटर लिक बनिरहेको छ। जयनगर–जनकपुर–कुर्था खण्डमा रेल सञ्चालन भएको डेढ वर्षपछि जनकपुर–बर्दिवास (६९ किलोमिटर) सम्म विस्तार हुने बताइएको छ। हाल बर्दिवास खण्डमा भारतीय पक्षले नै रेलमार्ग निर्माण गरिरहेको छ।

प्रकाशित: ३ आश्विन २०७७ ००:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App