४ वैशाख २०८१ मंगलबार
अर्थ

नेपालमा पहिलो ब्रोडगेज रेल

नेपालको पहिलो ब्रोडगेज सेवाअन्तर्गत सञ्चालन हुने रेल शुक्रबार जयनगरबाट जनकपुर आएपछि हेर्न जम्मा भएका सर्वसाधारण। तस्बिर: नागरिक

न्यारोगेजमा सञ्चालन हुँदै आएको जयनगर–जनकपुर रेल ब्रोडगेजमा चलाउन शुक्रबारदेखि परीक्षण सेवा सुरु गरिएको छ। न्यारोगेजमा चल्ने रेल बन्द भएको झन्डै ६ वर्षपछि ब्रोडगेजमा रेल चलाउन लागिएको हो, जुन नेपालको इतिहासमा पहिलो हो।

नेपालमा पहिलो पटक १९८४ सालमा बेलायत सरकारको सहयोगमा रक्सौल–अमलेखगन्ज रेल सेवा सञ्चालनमा आएको थियो। त्यो रेल सेवा ३८ वर्षपछि २०२२ सालमा बन्द भएको थियो। उक्त रेलसेवाले तराई–मधेसका मात्र नभई पहाडका मानिसलाई समेत काठमाडौं पुग्न मद्दत पु¥याएको थियो। पहाडका मानिस तराई झरेर भारत हुँदै रेलबाट अमलेखगन्ज पुग्थे। त्यहाँबाट पैदल काठमाडौंको यात्रा तय गर्थे।

त्यसपछि १९९४ मा जयनगर–जनकपुर–बिजलपुरा रेल चल्यो। जसलाई नेपालको पहिलो न्यारोगेज रेल भनिन्थ्यो। करिब ५२ किलोमिटरमा सो रेल कोइलाबाट चल्थ्यो। पछि डिजेल इन्जिन सुरु भयो। त्यो बेला रेल सेवा यात्रुभन्दा पनि मालसामान ओसारपसार गर्न सञ्चालन गरिएको थियो। पछि त्यसमा मानिस बस्ने बोगी थपियो। ७६ वर्षपछि २०७१ माघमा यो रेल सेवा पनि बन्द भयो। यो रेल सेवा बन्द भएपछि यस भेगका जनताको भारतीय बजार जयनगरसँगको द्रूत सम्पर्क पनि रोकियो। जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालन हुँदै आएको त्यो रेल सेवा ०५८ सालदेखि जयनगर–जनकपुरमा सीमित भएको थियो। कारण थियो, महोत्तरीको बिजलपुरा खण्डमा भत्केको पुल मर्मत नहुनु।

भारत सरकारको आर्थिक सहयोगमा ६ वर्षदेखि जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्म ब्रोडगेज रेल सेवाका लागि रेल्वे निर्माण भइरहेको छ। जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्मको रेल्वे निर्माण पूरा भए पनि शुक्रबार जनकपुर–जयनगरसम्म रेल सेवा परीक्षण सुरु गरिएको हो।

नेपाल सरकारले एक वर्षअघि ८४ करोड ६५ लाख रुपैयाँमा दुई सेट रेल खरिद गर्न भारतीय कम्पनीसँग सम्झौता गरेको थियो। रेल बिहीबार जयनगर रेल्वे स्टेसनमा ल्याइएको थियो। रेल विभागका जनकपुर साइटका इन्जिनियर विनोदप्रसाद ओझाका अनुसार शुक्रबार ट्रायलका लागि भारतको जयनगर स्टेसनबाट रेल जनकपुर ल्याइएको हो। विभागका अनुसार एक हजार तीन सय सिट क्षमताको यो रेलमा भारतका विभिन्न मध्यम दूरीमा चल्ने ‘इन्टर सिटी एक्स्प्रेस’ कै सुविधा जडान गरिएको छ।

विभागका महानिर्देशक बलराम मिश्रले भने, ‘दुईवटा इन्जिन रहेको यस रेलमा अगाडिकोलाई मुख्य अर्थात् पावर र पछाडिकोलाई टेलर कार भनिन्छ।’ यो रेलको स्पिड प्रतिघन्टा ११० किलोमिटर छ। तर जनकपुर–जयनगर ब्रोडगेज रेल्वे प्रतिघन्टा १०० किलोमिटर स्पिडको डिजाइनमा बनाइएको छ। विभागले शुक्रबार नै नेपाल रेल्वेलाई दुवै रेल हस्तान्तरण गरेको छ। रेल नेपाल रेल्वेले चलाउने छ। रेल बनाउन भारतीय कम्पनी इन्टरनेसनल कोच फ्याक्ट्रीलाई जिम्मा दिइएको थियो। यो कम्पनी रेल निर्माणका लागि भारतमा अग्रणी मानिन्छ।

अहिले यो रेल जनकपुर–जयनगर–कुर्थासम्म ३५ किलोमिटरमा सञ्चालन हुनेछ। पछि महोत्तरीको बिजेलपुरसम्म विस्तार गर्ने योजना छ। त्यहाँबाट पनि बर्दिबाससम्म रेल चलाउने योजना छ।

लामो समयको अन्तरालपछि रेल आउन लागेको खबर प्रसार भएपछि शुक्रबार दिउँसो जनकपुर रेल्वे स्टेसनमा मानिसको भीड लागेको थियो। कोरोनाको बेवास्ता गर्दै लागेको भीड व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई हम्मे परेको थियो।

प्रकाशित: ३ आश्विन २०७७ ००:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App