८ वैशाख २०८१ शनिबार
अर्थ

लामो रुटका सवारी साधन गुडे

कोरोना भाइरसको कारण करिब ६ महिना यातायात क्षेत्र ठप्प रह्यो। यस क्षेत्रका मजदुरको रोजगारी गुम्यो। तर मजदुरको रोजीरोटी खोसेको लकडाउनले काठमाडौंको गोंगबु बसपार्कमा भने केही सकारात्मक नतिजा ल्याएको छ। बसपार्कको व्यवस्थापन गर्ने कम्पनी ल्होत्से बहुउद्देश्यीय प्रालिले लकडाउनकै अवधिमा लामो दुरीका बस टिकेटिङलाई कम्प्युटर प्रणालीबाट सुरु गरेको छ। कम्पनीले लामो समयदेखि कम्प्युटर प्रणालीबाट टिकट व्यवस्थापन गर्न खोजे पनि  सकिरहेको थिएन।  

करिव ६ महिनापछि लामो दुरीका सवारी साधन चल्न थालेसँगै कम्प्युटर प्रणालीमा आधारित टिकेटिङ सुरु गरेको छ। सरकारले असोज १ गतेदेखि लामो र छोटो रुटका सवारी साधन खोल्ने निर्णय गरेसँगै बिहीबारदेखि बसपार्कको काउन्टर खुलेका हुन्।  

ल्होत्सेका अध्यक्ष दीपक कुँवरले कम्प्युटर प्रणालीमा आधारित टिकेटिङ सुरु गरेको बताए। ‘हामीले धेरै पहिलादेखि नै कम्प्युटर प्रणालीमा आधारित टिकेटिङ सुरु गर्न खोजेका थियौं। अहिले आएर सफल भएका छौं,’ उनले भने, ‘कोरोना महामारीबाट जोगिन सामाजिक दुरी कायम गर्नुपर्ने भएको कम्प्युटर प्रणालीमा आधारित टिकेटिङ प्रभावकारी हुने अपेक्षा राखेका छौं।’

अध्यक्ष कुँवरले अहिले कम्प्युटर प्रणालीबाट सुरु गरे पनि आगामी दिनमा अनलाइन तथा एप्समार्फत टिकट बुकिङको व्यवस्था मिलाउने तयारी गरिरहेको बताए।  

प्रालिका महाप्रबन्धक सुनिल कुँवरले कम्प्युटर प्रणालीमा टिकट काट्ने व्यवस्था मिलाएसँगैै बसपार्कमा बिचौलिया प्रथाको अन्त्य हुने विश्वास व्यक्त गरे। ‘बिचौलियाले जहाँ मन लाग्यो, त्यहीँ टिकट काट्ने, जुनसुकै ठाउँबाट यात्रु चढाउने गर्दा धेरै समस्या देखियो,’ उनले भने, ‘हामीले यातायात व्यवसायीसँग समन्वय गरेर बसपार्कलाई बिचौलियामुक्त बनाउन खोजेका छौं।’  

महाप्रबन्धक कुँवरले दसैंपछि अनलाइन टिकेटिङ सुरु गर्ने बताए। ‘आजबाटै ७५ प्रतिशतभन्दा धेरै कम्पनीका टिकट काउन्टर खुलिसके,’ उनले भने, ‘काठमाडौंबाट करिब १४ वटा गाडीमात्रै बाहिरिएका छन्।’ उनले स्वास्थ्य सतर्कता तथा आवश्यक सावधानी अपनाएर मात्रै टिकट काउन्टर खोलेको बताए। अहिले बसपार्कमा एक सयभन्दा धेरै कम्पनीका टिकट काउन्टर छन्।  

विभिन्न यातायात कम्पनीले कप्युटर प्रणालीबाट टिकट बुकिङ सुरु गर्न थालेका छन्। प्रालिका महाप्रबन्धक सुनिल कुँवरले यात्रुले बारम्बार बिचौलियाले ठगेको गुनासो गरेकाले बिचौलियामुक्त अभियान सुरु गरिएको बताए। उनले भने, ‘हामीले वर्षाैदेखि बसपार्क एरियालाई बिचौलियामुक्त गर्न खोजेका थियौं। अहिले यातायात व्यवसायीको समर्थन पाएकाले सफलतातर्फ उन्मुख भयौं।’  

उनका अनुसार कम्प्युटर प्रणालीमा आधारित टिकेटिङ सुरु गरेसँगै यात्रु ठगिने क्रम रोकिनेछ। २०७५ जेठमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सिन्डिकेट अन्त्य गरेसँगै यातायात क्षेत्रबाट बिचौलिया नियन्त्रण गर्दै ई–टिकेटिङ प्रणालीमा लैजाने घोषणा गरेका थिए। तर घोषणा गरेको लामो समय हुँदा पनि ई–टिकेटिङ कार्यान्वयन हुन सकेको छैन। जसको कारणले सार्वजनिक सवारी साधनका यात्रु ठगिने क्रम रोकिएको छैन।  

पछिल्लो समय ल्होत्सेले बसपार्कमा रहेका ६ सयभन्दा धेरै अस्थायी टहरा हटाएर व्यवस्थित गरेको छ। ल्होत्सेले बहुउद्देश्यीय भवनदेखि बालउद्यान लगायत संरचना तयार पारेको छ।  

यो बसपार्कको रेखदेख तथा व्यवस्थित गर्न महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ०७२ मा नयाँ सम्झौता भएको थियो। सम्झौता अनुसार प्रालिले बसपार्कको आधुनिकीकरण र व्यवस्थित गराउने योजना थियो। ल्होत्सेका महाप्रबन्धक कुँवरले नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने क्रम तीव्र भएको बताए। ‘हामीले बसपार्कलाई हेर्ने दृष्टिकोण मात्रै होइन, मुहार नै फेर्ने काम गरिरहेका छौं,’ उनले भने।  

चार सय सवारी अट्ने पार्किङलाई आठ सय सवारी अट्ने गरी निर्माण गर्ने सम्झौता छ। बसपार्कमा साततले व्यापारिक भवनसहित बाल उद्यान, यात्रुका लागि वेटिङ रुम, सपिङ मल, बैंकिङ काउन्टर, लकर सेवा आदि रहनेछ। उच्चस्तरका होटल र रेस्टुरेन्टसमेत सञ्चालन गरिने कुँवरले बताए।  

‘टाढाबाट आउने यात्रुका लागि आरामदायी कक्षको व्यवस्था गरिनेछ। जसमा यात्रुले सहज ढंगले आराम गर्न पाउनेछन्,’ उनले भने, ‘बसपार्क पूर्णतया सिसी क्यामेराको निगरानीमा हुनेछ।’

काठमाडौं महानगर र ल्होत्सेबीच ०५६ मा पनि सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार ४५ वर्षका लागि बसपार्क सञ्चालन तथा व्यवस्थापनको जिम्मा ल्होत्सेलाई दिइएको थियो। ल्होत्सेले ४५ वर्षपछि सम्पूर्ण पूर्वाधारसहितको बसपार्क महानगरलाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ।  

०७२ सालअघिसम्म प्रालिले महानगरलाई वार्षिक ५१ लाख रूपैयाँ तिर्दै आएको थियो। नयाँ सम्झौताअनुसार प्रालिले वार्षिक ९८ लाख राजस्व तिर्नुपर्ने महानगरपालिकाले जनाएको छ। प्रालिले ग्रान्डी हस्पिटलसँग सहकार्य गरेर बसपार्कमा स्वास्थ्य क्लिनिक सञ्चालन गरेको जनाएको छ। बसपार्कमा प्रेसर, सुगर लगायतको मात्रा जाँच्ने गरिन्छ। प्रालिले बसपार्कमा पार्क गरेका सवारी साधनबाट दुई सय ७५ रूपैयाँ लिने गरेको छ।

बस गुडे,  जहाज उडेनन्

पोखरा, असोज १ (नागरिक)– कोरोना भाइरस संक्रमणका कारण झन्डै ६ महिनादेखि रोकिएका लामो दुरीका सार्वजनिक सवारी बिहीबारदेखि सञ्चालनमा आएका छन्। तर लामो दुरीमा सञ्चालन भएका ती सवारीले यात्रु भने पर्याप्त आकारमा पाउन सकेनन्। हवाई यातायात भने अझै सुचारु हुन  सकेको छैन।

सरकारले बिहीबारदेखि लामो दुरीको सार्वजनिक सवारी र हवाई यातायात सञ्चालन गर्न अनुमति दिए पनि बिहीबार पोखरा–काठमाडौं रुटमा कुनै पनि हवाई उडान हुन सकेन। हवाई उडान भने अझै अनिश्चित छ। स्थलमार्गमा लामो दुरीको सवारी सञ्चालनको अनुमति दिए पनि यात्रु भने निकै नै कम संख्यामा रहेको व्यवसायीले बताएका छन्।  

पर्यटन व्यवसायीका अनुसार बिहीबार पोखरा–काठमाडौं रुटमा जम्मा दुईवटा पर्यटक बसले यात्रु लिएर गएका थिए। ती बसले ११ जनाको दरले २२ यात्रु बोकेर काठमाडौं गएका थिए।  

त्यस्तै, काठमाडौंबाट पोखरा आएका दुईवटा पर्यटक बसले पनि ५–५ जनाको दरले १० यात्रुलाई ल्याएका थिए। ‘असोज ५ देखि मात्र स्थल र हवाई मार्ग खुल्ने भन्ने सुरुको हल्ला थियो। तर एकाएक बिहीबारदेखि सञ्चालन गर्न दिँदा यात्रु पनि अन्योलमा परेका हुन सक्छन्,’ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल (नाट्टा) गण्डकीका प्रथम उपाध्यक्ष हरिराम अधिकारीले भने, ‘यात्रुको आकार बढ्दै जाने अपेक्षामा छौ।’  

बिहीबार पोखराबाट काठमाडौं जाने यात्रुमा चारजना विदेशी पनि थिए। लकडाउनका कारण पोखरामै रोकिएका ती विदेशी सार्वजनिक यातायात खुलेपछि काठमाडौं गएका थिए। अरू सबै आन्तरिक यात्रु रहेको उनले बताए।  

काठमाडौंका लागि छुटे बस  

मोरङ/विराटनगरबाट काठमाडौंका लागि बिहीबार चार माइक्रोबस छुटेका छन्। पूर्णरूपमा स्वास्थ सुरक्षालाई विशेष ध्यानमा राख्दै सार्वजनिक यायातायत चल्न थालेका हुन्। कोरोना संक्रमणका कारण ६ महिनादेखि ठप्प यातायात सेवा सुचारु भएको हुन्।  

‘६ महिनापछि बल्ल आजदेखि गाडी सुचारु गरेका छौं,’ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका विराटनगर कमिटीका सचिव कृष्ण घिमिरेले भने, ‘कोरोना महामारीले बन्द रहँदा धेरै समस्या पर्न थालेको थियो। अब हामी सरकारले तोकेको सुरक्षा मापदण्डअनुसार सवारी चलाउन थालेका हौं।’  

‘१÷२ दिन सवारी चलेपछि यात्रुले थाहा पाउने छन् र सिट बुकिङ संख्या बढ्छ,’ घिमिरेले भने, ‘अहिले यात्रुलाई कसरी लैजान्छ भन्ने अन्योल छ। गाडीलाई स्यानिटाइज गर्ने, चालक र सहचालकले पिपिई तथा यात्रुलाई मास्क अनिवार्य गरेर चलाउने छौं।’  

सुनौलो पूर्व नेपाल बस कम्पनी प्रालिका कोषाध्यक्ष राजु धमलाका अनुसार लामो समयपछि सवारी सञ्चालनमा आए पनि विश्वकर्मा पूजाका कारण धेरैले चलाएका छैनन्। ‘यात्रु कम देखिएका छन् र केही दिनदेखिको खराब मौसमले पनि पर्याप्त सवारी साधन नचलेका हुन्,’ धमलाले भने, ‘लामो दुरी काठमाडौंसँगै पहिलो दिन विराटनगरबाट सीमित छोटो दुरी काँकडभिट्टासम्म यातायात चल्यो।’  

लामो दुरी काठमाडौंका लागि विराटनगरमा बिहीबार चारवटा माइक्रो र एउटा रात्रिकालीन बस छुटेको छ। सरकारले तोकेको सवारी भाडा दरमा ५० प्रतिशत वृद्धि गर्दै काठमाडौंका लागि विराटनगरबाट प्रति यात्रु एक हजार आठ सय रूपैयाँ लिने गरेको व्यवसायीको  भनाइ छ।  

‘हामीले सम्पूर्ण जोखिम मोलेर सुरक्षित सेवा प्रदान गर्ने क्रममा थोरै संख्यामा राखेर यात्रुलाई यात्रा गराउनु पर्ने हुँदा भाडा वृद्धि भएको हो,’ सचिव कृष्ण घिमिरेले भने, ‘ठूलो बसमा १५ र माइक्रोमा आठ जनासम्म यात्रु राख्ने गरेका छौं। यसरी चलाउँदा खर्च धेरै हुन्छ।’ विराटनगरमा देशका विभिन्न स्थानमा छुट्ने लामो दुरीको बसका लागि टिकट बुकिङ गर्न थालेका छन्, घिमिरेले भने।

प्रकाशित: २ आश्विन २०७७ ०२:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App