बेनी नगरपालिका–४, बास्कुनाका व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषकले आफूले उत्पादन गरेका दूध आफैंले बिक्री गर्न सदरमुकाम बेनीमा आफ्नै डेरी सञ्चालनमा गरेका छन्।
किसानको मेहनतले उत्पादन भएको दूध बिचौलियामार्फत नभई सोझै उपभोक्तामाझ पु¥याउने उद्देश्यले बेनपा–७, बैंकरोडमा बास्कुना कृषि पशुपंक्षी दुग्ध सहकारीद्धारा सञ्चालित डेरीको गण्डकी प्रदेशका सांसद विनोद केसीले उद्घाटन गर्दै किसानको उत्पादन सिधै उपभोक्ताको पहुँचमा पुग्दा दुवै पक्षलाई फाईदा हुने बताए। ‘उपभोक्ताको सन्तुष्टीलाई गुणस्तरीय सेवाले मात्रै सम्भव छ,‘बिचौलियाले लिने लाभलाई तोड्न यस्ता उद्योगहरुको भूमिका महत्वपूर्ण हुन्छ’ केसीले भने।
उत्पादन गर्ने किसानको अवस्था समान्य हुदाँ विचौलियाले उपभोक्तालाई बेचेर मनग्य कमाउने गरेको अवस्थामा उपभोक्तालाई सस्तो र गुणस्तरीय सेवा दिने गरी डेरी सञ्चालन गर्नुपर्ने सांसद केसीको भनाई छ। सोही अवसरमा बेनपा–४ का वडाध्यक्ष गोविन्दप्रसाद पौडेलले वडाभित्रका किसानले कृषि र पशुपालनबाट मनग्य आम्दानी गरेको बताउँदै अनुदान र सहुलियतामा पहुँच भन्दा आवश्यकताका आधारमा वितरण गर्नुपर्नेमा जोड दिए। ‘तीनै तहका सरकारले वितरण गर्ने अनुदानमा आवश्यक सहकार्य हुनुपर्छ,‘एकै किसिमको अनुदान वितरण भइरहेको छ’ पौडेलले भने।
सोही अवसरमा लकडाउनसँगै निजी उद्योगले दुग्ध खरिद गर्न बन्द गरेपछि सडकमा दूध पोख्नेसम्मको गतिविधिलाई निरुत्साहित गर्न किसानले आफ्नो बिक्री केन्द्र सञ्चालन गर्दा अनुदान वितरणमा समेत सहज हुने भेटेनरी अस्पताल एवम् पशुसेवा विज्ञ केन्द्रका प्रमुख नारायण कुसुम र कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्द कोइरालाले उपभोक्तालाई गुणस्तरीय सेवा दिन नसक्ने कुनैपनि किसिमका उद्योगको आयू छोटो हुने बताएका थिए।
बास्कुनाका ६० जना किसानको सहभागितामा स्थापना भएको सहकारीले सदरमुकाम बेनीका डेरी लगायत घरदैलोमा पुगेर बिक्री गर्ने दूधलाई आफ्नो डेरीमार्फत बिक्री गर्ने गरी पहिलो चरणमा ३ लाख लगानी गरी सञ्चालन गरेको सहकारीका अध्यक्ष तिलक गुरूङले बताए। उनका अनुसार दैनिक २ सय लिटर दूध बिक्री गर्ने गरी डेरी सञ्चालनमा ल्याएको बताए।
आफूले उत्पादन गरेको दूध बिक्री नभएपछि समस्यामा परेका अन्य क्षेत्रका किसानको दूधलाई समेत खरिद गर्ने अध्यक्ष गुरुङको भनाई छ। व्यावसायिक रूपमा सञ्चालित निजी डेरीलाई दूध बेच्दा समयमा भुक्तानी नपाउने समस्या समेत रहेको अवस्थामा डेरी स्थापना गरेको बताए। ‘बिचौलियाकै कारण किसानले उचित मूल्य र उपभोक्ताले सहजै दूध पाएका थिएनन्,‘किसानसँग सस्तोमा खरिद गरेर महँगोमा बेच्दा किसान र उपभोक्ता दुवै मारमा थिए’ गुरूङले भने। बेनपा–४ बास्कुना गाउँ दूध र सुन्तला उत्पादनमा पकेट क्षेत्र मानिन्छ।
बार्षिक ३० लाखको सुन्तला बिक्री गर्ने गरेका बास्कुनाबासीले पशुपालनबाट समेत रहरलाग्दो आम्दानी गरिरहेका छन्।
प्रकाशित: १ आश्विन २०७७ ०९:५३ बिहीबार