coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

हिमाल आरोहण गर्न बहराइनी राजकुमार आए

नेपाली हिमाल आरोहणका लागि रोयल गार्ड बहराइनको टोली काठमाडौं आइपुगेको छ । राजकुमार नासिर बिन हमाद अल खलिफासहित १८ जनाको टोली बुधबार काठमाडौं आइपुगेको हो ।  

भदौ १४ गते मन्त्रिपरिषद्को निर्णय अनुसार चार्टर्ड उडानमार्फत उक्त टोलीलाई तोकिएको मापदण्डको आधारमा नेपाल आउने अनुमति दिइएको थियो ।

सगरमाथा आरोहणको तयारी गर्न नेपाल आएको टोली अहिले मनास्लु र लोबुचे आरोहण सकेर फर्कनेछ । किलर माउन्टेनको नामले परिचित मनास्लुको आरोहण सफल भएपछि सन् २०२१ मा सोही टोली सगरमाथा आरोहणको लागि आउने नेपाल पर्वतारोहण संघले जनाएको छ । टोलीको आरोहण व्यवस्थापन जिम्मा सेभेन समिट ट्रेक्सले लिएको छ ।  

संघका अध्यक्ष सन्तवीर लामाका अनुसार राजकुमारसहितको टोलीले सात दिनको होटेल क्वारेन्टिन सकेर आरोहणको प्रक्रिया सुरु गर्नेछ । टोलीले सुरुमा ६ हजार एक सय १९ मिटर अग्लो लोबुचे र त्यसपछि आठ हजार एक सय ५६ मिटर अग्लो मनास्लु आरोहण गर्ने लामाले बताए ।  

मंसिर १ देखि नियमित रूपमा आरोहण खोल्ने तयारी भइरहेको बेला राजकुमारको टोलीले नेपालको हिमाल आरोहण गर्न आउनु विश्व समुदायको लागि शुभ समाचार हुने लामाको भनाइ छ । नेपालको पर्यटन क्षेत्रले इतिहासमै ठूलो नोक्सानी बेहोरेको बेला यसबाट आरोहणको ढोका खोल्ने काम हुने उनले बताए । उक्त टोलीको आरोहण शुल्क मिनाहाबारे सरकारले निर्णय गरेको छैन । उक्त टोलीको आरोहणले ट्रेकिङ र आरोहण क्षेत्र पुनः चलायमान हुने र हिमालमा बाटो काट्ने, डोरी राख्ने लगायत काम खुल्दै जाने लामाको भनाइ छ ।  

पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार टोलीले नेपालमा झण्डै दुई महिना बिताउन सक्नेछ । टोलीलाई मनास्लु आरोहणको अनुमति पर्यटन विभागले दिने र लोबुचे चेढ्ने अनुमति पर्वतारोहण संघले दिने तामाङले बताए । सरकारले ५८ देखि ६५ सय मिटर उचाइका हिमाल आरोहण गर्ने अनुमति दिने नियम छ । राजकुमारको टोली संक्रामक रोग नियन्त्रण ऐन अन्तर्गत नै नेपाल आएको र पर्वतारोहणसम्बन्धी कानुनअनुसार नै आरोहण गर्ने उनले बताए ।

गोकर्ण रिसोर्टमा बसेको टोली सात दिन क्वारेन्टिन बसेपछि खुम्बु क्षेत्र जाने योजना छ । लोबुचेको आरोहणपछि पुनः काठमाडौं आई केही दिन आराम गरेर गोरखास्थित मनास्लु आधार शिविर जाने कार्यक्रम रहेको पर्यटन विभाग स्रोतले जनाएको छ । टोलीले आरोहण अनुमति लिएसँगै लकडाउनपछिको पहिलो आरोहण दल बन्ने विभागले जनाएको छ । आरोहण दलमा नेपालका ख्यातिप्राप्त हाई अल्टिच्युड गाइडसमेत खटिनेछन् । आरोहण दलमा विश्व किर्तिमानधारी कामीरिता शेपा, छाङदावा शेर्पा लगायतको टोली रहनेछ । राजकुमारको टोलीमा बहराइनको डिफेन्स फोर्सका १५ जना बहराइनी सहित तीनजना बेलायती नागरिक छन् । 

प्रकाशित: १ आश्विन २०७७ ०३:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App