८ वैशाख २०८१ शनिबार
अर्थ

कोरोनाले होटल व्यवसायी मानसिक पीडामा

पूर्वकै उदाउँदो शहर इटहरीमा ठूलो लगानीमा फागुन २८ गते होटल ब्रिर्यानी खुल्यो। तीन जनाको तीन करोडभन्दा बढी लगानीमा खुलेको होटल कोरोना संक्रमणको महामारीसँगै सुरु भएको बन्दाबन्दीले आर्थिक संकट झेल्नु पर्‍यो।  

‘यस्तो अकल्पनीय परिस्थिति आइलाग्छ भनेर कुनै कल्पना गरिएको थिएन,’ लगानीकर्ता महेश यादवले भने, ‘जग्गा लिजमा लिएर भवन समेत आफ्नै लगानीमा बनाएर ठूलो योजना राखेर होटल खोलेपनि अहिले भएको क्षतिले सारै पिरोलेको छ।’ महेशसहित होमनाथ दाहाल र समीम सिद्दीकीको संयुक्त लगानीमा होटल खुलेको थियो। पहिलो चरणको लकडाउन खुकुलो भएसँगै असार २८ गतेदेखि होटल खुलेपनि होम डेलेभरी मात्र गर्न पाइने हुँदा त्यसको यहाँ कमै अभ्यास भएकाले खोल्नु र बन्द गर्नुको कुनै अर्थ नै नभएको यादवले बताए।  

‘इतिहासमै सबैभन्दा कठिन दिनहरू आत्मसात गर्न बाध्य हुनु परेको छ,’ यादवले भने, ‘होटल र पर्यटन व्यवसायीले त ठूलो आर्थिक नोक्सानी बेर्होनु परेको छ। जसको कुनै हिसाव नै छैन।’  

एकातिर पछिल्लो समय यहाँ ठूलो लगानीमा स्वदेशी तथा विदेशी पर्यटकलाई खुवाउनका लागि सिरहाका अनिल साहको नेतृत्व समूहले एचएफसि होटल खोलेपनि लामो समय चल्न सकेन। इटहरीको चौरास्त चोक नजिकै पर्ने हुँदा होटल खुल्दा ग्राहको चाप धानी नसक्ने गरि शुरुवातका दिनमा हुने गथ्र्यो। तीन जना लगानीकर्ता रहेको होटलमा  विस्तारै साहले थप लगानीकर्ता भित्र्याएपछि  एकअर्काबीच विवाद चर्कदै गयो। अन्ततः होटल बन्द हुन पुग्यो।

इटहरीमै ६ जना मिलेर दरवार इन होटल सञ्चालन गरे। स्थानीय मिलन श्रेष्ठ, विनोद भट्टराई, विदुर ढकाल, सुमन बराललगायतले सञ्चालन गरेको होटलमा सुरुवातदेखि नै ग्राहकको जमघट सन्तोषजनक रुपमा हुने गथ्र्यो।

दुई वर्षसम्म सञ्चालन गरे। पछि दरवार इन पनि बन्द हुन पुग्यो। यसरी कोरोनाको महामारी सुरु हुनुभन्दा अघि नै ठूला लगानीमा सञ्चालन भएका होटल एकपछि अर्को गरि बन्द भएका थिए। तर, कोरोना महामारीले ठूला होस या साना लगानीमा सञ्चालनमा रहेका होटल चैत ११ गतेदेखि ठप्प हुँदा अब त झन थुप्रै होटल बन्द हुने निश्चित छ। ‘कोरोना महामारीले गर्दा होटलबाटै परिवार धान्दै आएका मध्यमस्तरका २० भन्दा बढी होटल बन्द भएका छन्,’ होटल व्यवसायी संघ इटहरीका सचिव उमेश दाहालले भने।  

इटहरी खासगरी बाहिरी व्यापारले धानेको शहर हो। जसले गर्दा ग्राहक नै नआउँदा होटल धमाधम बन्द हुने निश्चित भएको अर्का होटल व्यवसायी एवम् होटल व्यवसायी संघ प्रदेश नं. १ का अध्यक्ष मणीन्द्रकुमार कट्वालले भने।

पूर्वी पहाडी जिल्ला र तराईका मानिस इटहरी भएर आवतजावत गर्ने भएकाले गर्दा बासस्थानको उपयुक्त पोवान्ट भएकैले गर्दा यहाँ साना र ठूला होटल तथा लज गरि एक हजार पाँच सय हाराहारी रहेका छन्। यी होटलमा सहज अवस्थामा दस हजार मजदुर कार्यरत थिए भने मासिक दस करोड हाराहारी कारोबार हुने गरेको थियो। तर, अहिले त होटल बन्द हुँदा कारोबार त ठप्पै छ। मजदुरको समेत बिचल्ली भएको छ। होटल सञ्चालक बैक ब्याज र घर भाडा तिर्न नसकेर मानसिक पीडामा रहेको होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए। उनका अनुसार अब असोज १ गतेदेखि आवश्यक स्वास्थ्य मापदण्ड पुरा गरेर होटल खुल्ला गरिने भएको छ।  

होटल व्यवसायी संघले बुधबार इटहरीमा एक कार्यक्रम नै गरि असोज १ गतेबाट आवश्यक मापदण्ड पुरा गरेर सरकारी नियम पालना गरि खुल्ला गर्ने जनाएको हो। सो क्रममा इटहरीमा भर्खरै सरुवा भएर आएका डिएसपी अर्जुन केसीलाई पनि होटल व्यवसायीले स्वागत गरेका थिए।

प्रकाशित: ३१ भाद्र २०७७ १२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App