coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

होटल व्यवसायी भन्छन्: अहिले नै होटल रेस्टुरेन्ट खोल्न हतार छैन

पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइड। फाइल तस्बिरः नागरिक

सरकारले विहीबारदेखि होटल र रेस्टुरेन्ट खोल्न दिने निर्णय गरे पनि पोखराका पर्यटन व्यवसायी भने अहिले नै व्यवसाय नखुलाउने बताएका छन्। कोरोना संक्रमणको जोखिम हुने र त्यति पाहुँनाहरु आउजाउ हुने अवस्था नरहेकोले तत्काल होटल तथा रेस्टुरेन्ट खोल्न हतार नभएको व्यवसायीहरुले बताएका हुन्।  

लामो समय व्यवसाय बन्द हुँदा कार्यरत कर्मचारी घरमा बसिरहेकोले पनि तत्काल काममा फर्किन सहज नहुँदा विहीबारदेखि व्यवसाय खोल्न नसकिने उनीहरुको भनाई छ।  पोखराको सांग्रीला रिसोर्टका आवासीय म्यानेजर गुप्त गिरीले विहीबारदेखि नै होटल खोल्ने तयारी नरहेको बताए। ‘सरकारले विहीबारदेखि होटल खोल्न सकिने त भनेको छ। तर, हाम्रो तयारी अहिलेका लागि छैन,’ गिरीले भने, ‘कामदार पनि छैनन्। घरघरमा रहेका ती कामदारलाई तत्कालै काममा फिर्ता बोलाउने अवस्था छैन ।’ अहिले पाहुना आउने अवस्था नरहेकोले पनि होटल खोल्न नसकिने उनले बताए।  

‘खोल्ने वित्तीकै पाहुना आउने अवस्था रहन्न। त्यसबाहेक तयार गर्न पनि कम्तिमा एकसाता चाहिन्छ। हामी अहिले तयारीमा पनि छैनौ,’ गिरीले भने, ‘अक्टोबर एकसम्म अवस्था पनि केही सामान्य हुँदै जान सक्छ। त्यसले गर्दा चहलपहल बढ्न सक्छ ।’पोखराकै अतिथि रिसोर्ट भौतिक रुपमा तयारी अवस्थामा रहि रहे पनि अहिले नै पाहुँना आउने सम्भावना नहुँदा सञ्चालन गर्दा कमाई भन्दा घाटा हुने संचालक भरतरात शर्मा बताउँछन्। ‘होटल पाहुनाका लागि तयारी अवस्थामा त छ। तर, पूर्ण रुपमा संचालनको अवस्था भने छैन, किनकी ९० प्रतिशत भन्दा बढी कर्मचारी घरमा छन,’ उनले भने, ‘घरमा पुगेका ती कर्मचारी बोलाएर मात्र काममा लगाउनुपर्छ। अहिले नै पाहुना आउने सम्भावना नरहेकोले ती कर्मचारीलाई बोलाउने अवस्था छैन। त्यसैले पुर्ण क्षमतामा संचालनको अवस्था छैन ।’

अहिले निकै नै कम जनशक्तिमा होटल तयारी अवस्थामा राखिएकोले आएका पाहुँनाले पनि पहिलेको झैं सहजै सम्पूर्ण सुविधा पाउने अवस्था नरहेको उनले बताए।  होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली पनि तत्काल होटल संचालन गर्न सकिने अवस्था नरहेको बताउँछन्। सरकारले भने झै विहीबारदेखि होटल खोल्ने अवस्था नहरेको उनले बताए। ‘कहिले खोल्न र कहिले बन्द भनेर सरकारले निर्देशन दिने गरेको छ। जसोतसो खोल्नका लागि कर्मचारी बोलाउने, अनि केहीदिनपछि फेरि बन्द गर भनेर निर्देशन आयो भने ती कर्मचारीलाई के गर्ने भन्ने तनाव हुन्छ,’ उनले भने, ‘त्यहि भएर पनि अहिले होटल खोल्न सकिने अवस्था छैन ।’

स्थल र हवाई यातायात सुरु भएर सहज हिडडुल भएपछि मात्र होटल संचालनमा आउने उनले बताए। ‘अघिल्लो पटक सरकारको निर्देशनमा होटल र रेस्टुरेन्ट खुले, त्यसपछि सरकारले फेरि बन्द गर भन्यो,’ उनले भने, ‘जसोतसो खुलेका होटल बन्द भए। त्यसले गर्दा पनि व्यवसायी तर्सेका छन्। घरमा पुगेका कर्मचारीलाई होटलमा बोलाएर ढोका खोल्न र बन्द गर्नका लागि खटाएर मात्र हुँदैन ।’  

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन पनि अहिले तत्काल होटल खोल्ने अवस्था नरहेको बताउँछन्। ‘अहिले नै होटल खोल्ने अवस्था छैन। पाहुना आउजाउको सम्भावना नै छैन,’ तुलाचनले भने, ‘पाहुना आउने अवस्था नदेखेपछि व्यवसायी पनि तयारीमा जुटेका छैनन् ।’ अघिल्लो पटक सरकारको निर्देशनले केहीदिनका लागि होटल खोलेका व्यवसायी पछि संक्रमण बढेको भन्दै सरकारले नै पुन बन्द गराएकोले पनि अहिले व्यवसायीले हतार नगर्ने उनले बताए।

रेस्टुरेन्ट पनि तत्काल खुल्ने तयारीमा नरहेको व्यवसायीले बताएका छन्। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराका पूर्व अध्यक्ष गोपि भट्टराई भन्छन्, ‘अघिल्लो पटक केहीदिनका लागि खुलेका रेस्टुरेन्ट पनि सरकारले पछि बन्द गरायो। त्यो बेला व्यवसायीमा जोश थियो,’ भट्टराईले भने, ‘तर, अहिले भने तत्काल खोल्ने तयारीमा व्यवसायी जुटिसकेका छैनन। केही सिमित रेस्टुरेन्टले सेवा दिन सक्ने अवस्था रहेपनि अझै एक महिनापछि मात्र सबै रेस्टुरेन्ट संचालनमा आउन सक्छन्।’ अधिक कर्मचारी बिदामा घर गएकोले पनि उनीहरुलाई काममा बोलाउन सकिने अवस्था नरहेको उनले बताए।

प्रकाशित: ३१ भाद्र २०७७ १०:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App