coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

प्याजको भाउ दोब्बर

भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा यसको भाउ अकासिएर किलोको १ सय १० रूपैयाँ पुगेको छ । यो पोहोर यही बेलाको तुलनामा दोब्बर हो ।

सोमबार भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपाली बजारमा परेको हो । सोमबार ६५ रूपैयाँ किलोमा बिक्री भएको प्याज मंगलबार दिउँसो एक सय १० रूपैयाँसम्ममा बिक्री भयो ।  

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार थोक मूल्य सूचीमा किलोको ७५ रूपैयाँ राखे पनि दिउँसो एक सय १० रूपैयाँ किलोमा बिक्री गरेको भेटिएको थियो । कालीमाटी मै प्याज एक सय १० रूपैयाँमा बिक्री भएपछि ६ जना व्यापारीलाई कारबाही प्रक्रिया अघि बढाएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । ‘प्याजमा उच्च मूल्य लिएर बिक्री गरेको भेटिएपछि कारबाही प्रक्रिया अघि बढाएका छौं,’ उनले भने, ‘भारतबाट आयात रोकिएकाले भाउ बढेको हो ।

कालीमाटीले तोकेको मूल्यमा एक दिनमा २५ प्रतिशत भाउ बढेको भए पनि पोहोरको तुलनामा बजारमा दोब्बर मूल्य पुगेको छ । भारतले पोहोर पनि प्याज निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा यसको भाउ दुई सय ३० रूपैयाँसम्म पुगेको थियो । राजधानीमा मात्र दैनिक साढे दुई सय मेट्रिक टनभन्दा बढी प्याज खपत हुन्छ । कालीमाटी तरकारी बजारबाट मात्र ६० टन प्याज बिक्री हुने गरेको छ । अहिले कोभिडको कारण होटल, रेस्टुरेन्ट नचलेकाले प्याज कम खपत भएको छ । कालीमाटीमा बिक्री हुने ९८ प्रतिशत प्याज भारतको हुन्छ । मंगलबारबाट प्याज आउन छाडेको श्रेष्ठले बताए । ‘भारतले प्याज निर्यातमा रोक लगाएपछि यहाँको बजारमा अभाव हुन थालेको छ,’ श्रेष्ठले भने, ‘आन्तरिक उत्पादन नहुँदा समस्या भएको हो ।’

वार्षिक अर्बौं रूपैयाँको आयात भए पनि सरकारले प्याजका लागि विशेष कार्यक्रम सञ्चालन गरेको छैन । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रका सूचना अधिकारी भरतबहादुर आचार्यका अनुसार मुलुकमा २० हजार नौ सय आठ हेक्टर क्षेत्रफलमा प्याज खेती छ । यहाँ वार्षिक करिब तीन लाख मेट्रिक टन प्याज उत्पादन भए पनि दुई लाख मेट्रिक टन विदेशबाट आयात हुन्छ । वार्षिक करिब पाँच लाख मेट्रिक टन प्याज खपत हुने अनुमान छ ।

प्याज उत्पादन सामान्य बढे पनि बजारको माग धान्ने गरी छैन । प्याज उत्पादन वृद्धि गर्ने कार्यक्रम सञ्चालन गरे पनि परिणाम नआएपछि बीचमा रोकिएको थियो । सरकारले आव ०६४/६५ देखि २०६९/७० सम्म ‘प्याज मिसन’ कार्यक्रम सञ्चालन गरेको थियो । ६० करोड रूपैयाँ खर्च गरेको कार्यक्रम प्रभावकारी नभएपछि २०७० मा खारेज गरेको थियो । प्याज आयात प्रतिस्थापन गर्न सिरहा, सप्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, रूपन्देही, दाङ बाँके र बर्दिया जिल्लामा ‘प्याज मिसन’ कार्यक्रम सञ्चालन गरे पनि परिणाम आएन ।

प्याज मात्र नभएर आलुको मूल्य पनि अचाक्ली बढेको छ । खुद्रा बजारमा स्थानीय रातो आलुको मूल्य ९ रूपैयाँ, भारतीय आलु ५६ रूपैयाँ र मुडेको आलु ७६ रूपैयाँ किलोमा बिक्री भइरहेको छ । पोहोर रातो आलु किलोको ४५ रूपैयाँ, भारतीय आलु २५ रूपैयाँ र मुडेको आलु किलोको ४० रूपैयाँमा बिक्री भएको थियो । मुलुकमा कोभिडको कारण उत्पादित आलु बजारमा पुग्न नसकेकाले पनि भाउ बढेको व्यापारी बताउँछन् ।

मुलुकमा खपत हुने प्याज र आलु ठूलो परिमाणमा विदेशबाट आयात हुन्छ । स्वदेशमा उत्पादन गर्न सकिने अन्य कृषि तथा पशुजन्य वस्तु विदेशबाट आयात भइरहेको छ ।

सरकारले कृषिमा आत्मनिर्भरताको नारा लगाउँदै आए पनि उपभोक्ताले आर्थिक आर्थिक वर्ष ०७६/७७ मा मात्रै करिब साढे दुई खर्ब रूपैयाँका विदेशमा उत्पादित कृषि, पशु तथा वनजन्य वस्तु विदेशबाट आयात भएको थियो । नेपाली भान्सामा विदेशमा फलेका तरकारी तथा खाद्यान्न पाकिरहेका छन् । स्वदेशमा उत्पादन गर्न सकिने वस्तुमा विदेशीको भर पर्दा यहाँका खेतबारी, गोठ, वनमा उत्पादन गर्न सकिने वस्तुमा परनिर्भर हुनु परेको छ । कोभिड–१९ ले मुलुक लकडाउनमा गएर आयात घटे पनि आर्थिक वर्ष ०७६/७७ मा दुई खर्ब ४३ अर्ब रूपैयाँका कृषि, पशु तथा वनजन्य वस्तु विदेशबाट आयात भएको भन्सार विभाग तथ्यांकले देखाउँछ ।

प्रकाशित: ३१ भाद्र २०७७ ०४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App