१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

वर्ल्डलिंक मुलुककै ठूलो सूचना प्रविधि कम्पनी

निजी क्षेत्रको अग्रणी इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंकले २५औं वार्षिकोत्सव मनाएको छ । कम्पनीले स्थापनाको २५औं वर्ष पुगेको अवसरमा आयोजित वेबिनार कार्यक्रममार्फत मुलुकै सबैभन्दा ठूलो सूचना प्रविधि (आइसिटी) कम्पनी बन्न सफल भएको जानकारी दिएको छ ।

सन् १९९५ देखि इमेल सेवा र त्यसको दुई वर्षपछि डायल अप इन्टरनेट सेवाको थालनीबाट नेपालमा इन्टरनेट सेवा सुरु गरेको कम्पनीले २५ वर्षको यो अवधिमा सिडिसीद्वारा विदेशी लगानी भित्र्याउनसमेत सफल भएको जनाएको छ । यो वर्ष आइसिटी क्षेत्रमा सबैभन्दा धेरै कर तिर्ने करदाता कम्पनीमा समेत वर्ल्डलिंकले आफ्नो परिचय बनाउन सफल भएको छ ।  

२५औं वार्षिकोत्सव उत्सवको अवसरमा बोल्दै कम्पनीका प्रबन्ध निर्देशक दिलिप अग्रवालले नेपालमा वर्ल्डलिंक पब्लिक कम्पनीमा गइसकेको र आगामी तीन वर्षभित्र बजारको अवस्था हेरी सर्वसाधरणलाई सेयर जारी गर्ने गरी तयारी भइरहेको जनाएका छन् । हाल कम्पनीमा तीन हजार नौ सय ५० कर्मचारी आवद्ध रहको जनाउँदै उनले वर्ल्डलिंक आइसिटी क्षेत्रमा सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने कम्पनीसमेत बनिसकेको बताए ।  

हाल वर्ल्डलिंकको सेवा विस्तार देशका ७३ जिल्लामा पुगिसकेको र देशभरका चार लाख आठ हजार पाँच सय घरमा वर्ल्डलिंकको सेवा जडान भइसकेको उनको भनाइ छ । हाल कम्पनी सरकारलाई बुझाउँदै आएको करको हिसाबले समेत देशको १०औं ठूलो करदाता कम्पनीको रूपमा विकसित भइसकेको अग्रवालले बताए । कम्पनीले हाल देशभरका १० हजार ३० ठाउँमा निःशुल्क वाइफाईको सेवासमेत दिइरहेको जनाउँदै उनले देशका दुर्गम हिमाली जिल्लालाई समेत सहरदेखि विश्वसम्म जोड्न सफल भएको अग्रवालको भनाइ छ ।

सन् १९९९ मा काठमाडौं बाहिरका प्रमुख सहरमा केबल नेटबाट सेवा विस्तार सुरु गरेको कम्पनीले सन् २००० मा वायरलेस ब्रोडब्यान्ड इन्टरनेट सेवाको सुरुवात गरेको उनले बताए । त्यस्तै, सन् २००२ मा राष्ट्रव्यापी भिस्याट नेटवर्कमार्फत देशका प्रमुख सहरलाई जोड्दै अहिले नेपाल दूर सञ्चार प्राधिकरणसँगको सहकार्यमा देशकै दुर्गम मानिएको कर्णाली प्रदेशमा समेत वायरलेस प्रविधिमार्फत सेवा अग्रवालले बताएका छन् ।  

‘दूरसञ्चार क्षेत्रमा नेपाल टेलिकम र एनसेलपछि हामी तेस्रो ठूलो कम्पनी भएका छौं,’ अग्रवालले भने, २५ वर्षको दौरानमा धेरै उतारचढाव भौग्दै यहाँसम्म आइपुग्दा अहिले मुलुकमा खपत हुने कुल ब्यान्डविथमध्ये ४३ प्रतिशत वर्ल्डलिंकले प्रयोग गरिरहेको छ ।’ नेपालमै पहिलोपटक आइसिटी क्षेत्रमा बेलायतको सिडिसी कम्पनीबाट विदेशी लगानी भित्र्याउन सफल भएको जनाउँदै उनले अगामी दिनमा भने विदेशी लगानी नल्याउने र आन्तरिक ऋणबाट सेवा दिने जानकारी गराए ।  

त्यस्तै, कम्पनीका निर्देशक मनोज अग्रवालले सबैको साथ र सहयोगका कारण सेवाका २५औं बसन्त पार गर्न सफल भएको बताए । अबको कम्पनीको यात्राबारे बोल्दै उनले प्रविधिको क्षेत्रमा रहेका गाँठाहरू फुकाउँदै जाने र देशका कुनाकाप्चामा इन्टरनेट सेवा विस्तारमा जोड दिँदै जाने कम्पनीको लक्ष्य रहेको जानकारी दिएका छन् ।

कम्पनीले प्रदान गर्दै आएको सेवाको गुणस्तरलाई समेत ध्यान दिँदै इन्टरनेटको विविधीकरणमा कम्पनीको जोड रहने अग्रवालको भनाइ रहेको छ । ‘अहिले इन्टरनेट हरेक घर–घरको आवश्यकता भइसकेकाले उच्च गुणस्तरसहितको सेवासहित कम्पनी अगाडि बढ्दै जाने छ ।’ अग्रवालको भनाइ छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) केशव नेपालले देशमा ‘डिजिटल डिभाइड’ कायमै रहेको बताउँदै कम्पनीले आगामी इन्टनेरनेट ग्यापलाई हटाउनतर्फसमेत ध्यान दिँदै अगाडि बढ्ने जनाए । पछिल्लो समय देशभित्र अनलाइन क्रियाकलाप बढ्दै गएको जनाउँदै उनले जारी लकडाउनको कारण घरबाटै कार्यालयको काम गर्ने, अनलाइन शिक्षा लिने तथा सामाजिक सञ्जालको प्रयोगकर्तासमेत बढेकाले इन्टरनेटमाथि निरभरता बढेको जानकारी दिए । आवश्यकताले गाउँ र सहर नभन्ने भएका कारण ग्राहकको अपेक्षा चुलिँदै गएको बताउँदै उनले उड्डयन क्षेत्रसमेत बन्द रहेका कारण समयमै उपकरण नेपाल ल्याउन नसक्दा इन्टरनेटको गतिमा धेरैले गुनासोसमेत गरेको बताए । ‘हाई ब्यान्ड क्यापिसिटी भएको समय इन्टरनेटको गुणस्तर कम भएको देखिएको बताउँदै उनले ६ महिनासम्म ल्याउन नसकेका उपकरणहरू नेपाल भित्र्याएसँगै इन्टरनेटको गति बढेको समेत उनको दाबी गरेका छन् ।

त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले २०४४ सालमा अनुमतिपत्र प्राप्त गरेयता वर्ल्डलिंकले नेपालमा इन्टरनेट सेवामा महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । मोबाइलको समेत नेटवर्कले समेत काम नगर्ने कर्णालीजस्तो विकट क्षेत्रमा वर्ल्डलिंकले इन्टरनेट सेवाको सजह पहुँच बनाउन सफल भएको खनालले जनाए ।

भर्चुअल वेबिनारमा राष्ट्रिय आस्वीकार केन्द्रका संस्थापक महावीर पुन, मानव सेवा अभियन्ता रामजी अधिकारी, वरिष्ठ अधिवक्ता शतिश खरेल लगायतको सहभागिता रहेको थियो ।

सन् २००३ बाट केबल इन्टरनेट सेवाको सुरुवात गरेको कम्पनीले २००८ मा अन्तर्राष्ट्रिय ब्यान्डविथको लागि क्रस बोर्डर फाइबर, २०१० मा स्थानीय सर्भरको लागि गुगलसँग साझेदारी, २०१२ मा १० एमबिपिएस केबल इन्टरनेट सेवाको सुरुवात, २०१४ मा घर–घरमा फाइबर इन्टरनेट ब्रोडब्यान्ड सेवा सुरु, २०१६ मा कन्टेन्ट क्यासको लागि फेसबुकको साथ साझेदारी तथा नेपालमा आइपिटिभी सेवाको सुरुवात, २०१७ मा अनलाइन बालकालिकामाथि हुने दुव्र्यवहार रोक्न सेफनेट सेवाको सुरुवात, २०१८ मा नेपालमा आएपिभीको सुरुवात र निःशुल्क सार्वजनिक वाइफाई र २०१९ मा कर्णालीको दुर्गममा भागहरूमा इन्टरनेट ब्रोडब्यान्ड सेवाको सुरुवात गरेको जनाएको छ ।

प्रकाशित: ३१ भाद्र २०७७ ०३:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App