८ वैशाख २०८१ शनिबार
अर्थ

खतिवडा विशेष आर्थिक सल्लाहकार

प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार हुँदाहुँदै पनि मन्त्रिपरिषद्ले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले खतिवडालाई मन्त्रीसरहको सेवासुविधासहित प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय लिएको हो । प्रधानमन्त्री ओलीले खतिवडालाई नियुक्त गर्न विशेष आर्थिक सल्लाहकारको नयाँ पद सिर्जना गरेका हुन् । पूर्वअर्थसचिव लालशंकर घिमिरे प्रधानमन्त्रीको आर्थिक सल्लाहकार छन् ।  

सरकारबाट खतिवडाको बहिर्गमनसँगै अर्थमन्त्रालय मन्त्रीविहीन छ । प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालय आफैंसँग राखेका छन् । उनले डा. खतिवडालाई छाया अर्थमन्त्री बनाउन विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको स्रोतको दाबी छ । ‘प्रधानमन्त्रीले आफूलाई मन परेका मानिसलाई नियुक्त गर्नचाहिँ नभएको पद पनि खडा गर्न मिल्नेरहेछ । गर्भनर, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, सांसद, मन्त्रीपद सबै प्राप्त गरेका खतिवडालाई पुनः मन्त्रीसरहको सुविधा दिएर विशेष आर्थिक सल्लाहकार बनाइएको छ’, यो निर्णयप्रति असन्तुष्ट नेकपाका एक नेताले भने, ‘पार्टीभित्र आर्थिक रूपमा योग्यता र क्षमता भएका व्यक्ति डा. खतिवडामात्रै हुन् र ?’

पार्टी उपाध्यक्ष वामदेव गौतमले अर्थ मन्त्रालयसहित उपप्रधानमन्त्री मागिरहेका बेला प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा खतिवडाको नियुक्तिलाई अर्थपूर्ण मानिएको छ । नयाँ अर्थमन्त्री नियुक्त गर्दा खतिवडाभन्दा कनिष्ठलाई गर्ने र मन्त्रालयमा खतिवडाको हस्तक्षेप रहनेगरी उनलाई प्रधानमन्त्रीले विशेष आर्थिक सल्लाहकार नियुक्ति गरेका हुन् । ‘उहाँमा खतिवडामोह धेरै छ, गौतमले अर्थ मन्त्रालय मागेपछि उनीभन्दा माथि प्रधानमन्त्रीको आर्थिक सल्लाहकार हुने भएकाले गौतमलाई मन्त्रालय नदिने रणनीतिका साथ यो नियुक्ति भएको हुनपर्छ’, नेकपाका अर्का नेताले भने ।

मन्त्रिपरिषद्ले डा. युवराज खतिवडालाई मन्त्रीसरहको सेवा–सुविधासहित प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीले निवर्तमान अर्थमन्त्री खतिवडालाई छाया अर्थमन्त्री बनाउन विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओली खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिने पक्षमा थिए ।  

सोहीअनुरूप संघीय संसद् सदस्यको म्याद सकिएपछि पनि खतिवडाले अर्थमन्त्रीको जिम्मेवारी पाएका थिए । तर ६ महिनासम्म पनि संघीय संसद्को सदस्य नबनेपछि खतिवडाले राजीनामा दिएका थिए ।  

नेकपाले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेपछि खतिवडा सरकारबाट बाहिरिएका थिए । सरकारले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न सिफारिस गरिसकेको भए पनि नियुक्त भने भएका छैनन् । गौतमले अर्थ मन्त्रालय मागिरहेका छन् । तर प्रधानमन्त्री ओली भने गौतमलाई अर्थ मन्त्रालय होइन, मन्त्री नै नदिने पक्षमा छन् । ‘गौतमको साटो तुलसा थापा मन्त्री हुने सम्भावना छ ’, स्रोतले भन्यो । गौतमका अतिरिक्त उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, पूर्वअर्थमन्त्री एवं महासचिव विष्णु पौडेल, सुरेन्द्र पाण्डेलगायतले पनि अर्थमन्त्री दाबी गरिरहेका बेला विशेष आर्थिक सल्लाहकारमा खतिवडाको नियुक्तिले धेरैलाई अप्ठेरो पारेको छ ।

प्रकाशित: ३१ भाद्र २०७७ ०१:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App