७ वैशाख २०८१ शुक्रबार
अर्थ

कोरोना मारमा प्याराग्लाइडिङ

फाइल तस्बिरः उमेश पुन/नागरिक

प्याराग्लाइडिङ पाइलट शिव तिमिल्सेनाले पोखराको आकाशमा प्याराग्लाइडिङ उडाउन थालेको चारवर्ष भयो। उनले तीनलाख लागतमा गत नोभेम्बरमा नयाँ ग्लाइडर किनेका थिए। ग्लाइडरबाट उनले झन्डै दुईमहिना जति पर्यटकलाई पोखराको आकाशमा सयर गराए। कोरोना भाईरस संक्रमणको त्रासले विदेशी पाहुनाको आगमन घट्दै जाँदा गत अप्रिलदेखि जमिनमै थन्किएको छ।  

‘ग्लाइडरको लागत पनि उठाउन पाएको छैन,’ तिमिल्सेनाले भने, ‘आकाशमा घाम र हावामा उड्ने ग्लाइडर पोको पारेर कार्यालयमा थन्काउँदा च्यात्तिने र मुसाले काट्न थाले। अब त कहिले हो कहिले उड्ने निश्चित नै छैन।’  

उनका अनुसार गत जनवरीसम्म प्याराग्लाइडिङका उडान नियमित जस्तै हुन्थ्यो। कोरोना संक्रमण देखिन थालेपछि सुरुमै चिनियाँ पर्यटकको आगमन घटेको थियो। त्यसको पहिलो प्रहार प्याराग्लाईडिङलाई परेको थियो।  

मार्चसम्म फाट्टफुट्ट उडान भएपनि अप्रिलदेखि त ग्लाइडर थन्काएको तिमिल्सेनाले बताए। ‘चिनियाँ पर्यटकको आगमन रोकिनासाथ हामीलाई मार परेको थियो,’ टिम फाइब प्याराग्लाइडिङ कम्पनिका पाइलट समेत रहेका उनले भने,‘अब त कहिले पाहुना आउँछन् भन्ने नै टुंगो छैन।’  

पोखरा आएकामध्ये करिब ८० प्रतिशत चिनियाँ पर्यटकले यहाँको आकाशमा प्याराग्लाईडिङ गर्ने व्यवसायीको अनुमान छ। ‘आकाशमा उड्न नपरेपछि अहिले घरमै कृषिकर्ममा भुलेको छु,’ पोखरा महानगरपालिका–१८ सराङकोटका बासिन्दा तिमिल्सेनाले भने, ‘अहिले त पुरै फुर्सदिलो भइयो। काम पाउने अवस्था तत्काल छैन।’  

उड्ने पर्यटकले तिरेको शुल्कको झन्डै ६० प्रतिशत रकम पाइलटले पाउँछन्। तर, ल्यान्डिङ र टेकअफ सहितको शुल्क भने ती पाइलटले नै बेहोर्नुपर्छ। ‘सिजनमा प्रयाप्त उडान गर्न पाउने हो भने मासिक डेढलाख रुपैयाँ कमाई थियो। सबै खर्च कटाउँदा पनि राम्रै बचत हुन्थ्यो,’ उनले भने, ‘तर, अब त्यो आम्दानीका लागि वर्षौ कुनुपर्ने अवस्था छ।’

प्याराग्लाइडिङका अर्का पाइलट बालकृष्ण बसेल पनि अहिले निकै नै फुर्सदिला छन्। वर्षाैदेखि प्याराग्लाइडिङ उडान गरेका उनले पनि अप्रिलपछि भुई छाड्न परेको छैन। ‘अहिले काम केही छैन। घर परिवारसँग समय बिताएको छु। वर्षौदेखि गर्दै आएको प्याराग्लाइडिङ उडानको पेशा रोकियो, अब विकल्प खोल्ने बेला भयो,’ बसेलले भने, ‘पोखरामा निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि प्याराग्लाइडिङ आफैमा बिस्थापित हुने त्रासमा थियो। त्यसमा कोरोना थपिएकोले अब कहाँ जाने भन्ने अन्योल छ।’

प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (एनएए)का अध्यक्ष कृष्ण भण्डारीका अनुसार पोखरामा पाँच दर्जन प्याराग्लाइडिङ कम्पनी छन्।  लामो समय उडान गर्न नपाउँदा ती कम्पनिमा आवद्ध करिब चारसयजना पाइलटको क्षमता कमजोर हुँदै जाने सम्भावना भएको उनले बताए। ‘सोलो (एकल) उडान गर्न नपाउँदा पनि समस्या छ। त्यसबाहेक ग्लाइडर मक्किएका छन्। मुसाले काट्ने, ढुँसी लाग्न थालिसकेको छ,’ अध्यक्ष भण्डारीले भने, ‘सबैतिरबाट व्यवासायी र पाइलटले नोक्सानी खेपेका छन्।’

प्याराग्लाइडिङ उड्डयन अन्तर्गतमा परेकोले पनि अरु हवाईजहाज सरह प्याराग्लाइडिङको सोलो उडान पनि रोकिएको भण्डारीले बताए। ‘सोलो उडान गर्दा पाइलट दक्ष बन्ने थिए। तर, त्यो पनि रोकिएको छ,’ उनले भने।  

लाखौं रुपैयाँ खर्चेर पाइलट बनेका युवाहरु अहिले कृषिकर्ममा लागेको उनले बताए। उनका अनुसार एकजना व्यक्ति प्याराग्लाइडिङको दक्ष पाइलट बन्दा करिब १५ लाख रुपैयाँ प्रशिक्षणमा खर्च हुन्छ। त्यसबाहेक वर्षेनीजसो लाखौं खर्चेर ग्लाइडर किन्नुपर्दा उस्तै मार पर्ने उनले बताए। ‘स्थानीय पाइलट कृषिकर्ममा फर्केका छन्। अरुले यत्तिकै दिन बिताएका छन,’ भण्डारीले भने।  

त्यसबाहेक आन्तरिक पाहुनाको संख्या पनि उत्तिकै बढिरहेकोमा अब ती पाहुना आउनका लागि केही वर्ष लाग्ने हुँदा पाइलट बिस्थापितको सम्भावना रहेको अध्यक्ष भण्डारीले बताए।

प्रकाशित: ३० भाद्र २०७७ ११:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App