नेपाल उद्योग परिसंघको एक टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटी मुलुकको आर्थिक समृद्धि र अर्थतन्त्र चलायमान बनाउन लकडाउन वा निषेधाज्ञा लगाउने कार्य बन्द गर्न माग गरेको छ ।
राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको निजीक्षेत्र कोभिडको महामारीपछि एकदमै गम्भीर परिस्थितिबाट गुज्रिरहेको जानकारी गराउँदै टोलीले आर्थिक समृद्धि र अर्थतन्त्र चलायमान बनाउन लकडाउन वा निषेधाज्ञा लगाउने कार्य बन्द गर्नुपर्ने धारणा राखेको हो ।
कुनै क्षेत्रमा संक्रमण फैलिए संक्रमितको राम्रो उपचारको व्यवस्था गरी प्रभावित क्षेत्रमा मात्र लकडाउन गर्नुपर्ने माग परिसंघको छ । टोलीले यस्तो नीति अपनाएर उद्योग व्यवसायलाई चलायमान बनाई राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्न नदिन अनुरोध गरेको थियो । शनिबार भएको भेटमा टोलीले कोभिड १९ पछि उद्योग व्यवसायमा परेको प्रभाव र त्यसबाट भोग्नुपरेको समस्याबारे राष्ट्रपतिलाई जनाकारी गराएको थियो ।
परिसंघको टोलीले कोभिडको महामारीबाट जोगिन लकडाउन वा निषेधाज्ञा जस्ता व्यवस्था अवलम्बन गरी संक्रमण रोकथामको प्रयास गर्नुभन्दा कर्मचारी र कामदारको मनोबल उच्च बनाई सुरक्षा उपाय अवलम्बन गरी उद्योग व्यवसाय तथा बजार सञ्चालन गर्नुपर्ने बताएको थियो ।
उद्योग प्रतिष्ठानले राजस्व दाखिला गर्ने सम्बन्धमा सरकारलाई सधैं सहयोग गर्दै आइरहको र यसअघि पनि उल्लेख्य राजस्व दाखिला भएको जानकारी गराउँदै टोलीले वर्तमान असहज परिस्थितिलाई मध्यनजर गरी कर तिर्ने समय तोकिएको मितिभन्दा एक महिना बढी थप्ने व्यवस्थाका लागि समेत अनुरोध गरेको थियो । निषेधाज्ञा जारी भएको अवस्थामा राजस्व दाखिला गर्नबाट वञ्चित उद्योगी व्यवसायीलाई सहज हुने धारणा टोलीको थियो ।
परिसंघको टोलीले उद्योगमा कार्यरत कर्मचारी र मजदुरलाई सरकारले तोकेका सुरक्षाका मापदण्ड पूर्णरूपमा पालना गर्न लगाउने र कोभिडको संक्रमणबाट जोगाउन उद्योगी व्यवसाय प्रतिबद्ध रहेको जानकारी गराएको थियो ।
परिसंघका अनुसार उद्योगमा कार्यरत कर्मचारी वा कामदारमा संक्रमण भेटिए कन्ट्यक्ट ट्रेसिङको आधारमा कर्मचारी तथा कामदारको पिसिआर टेस्ट गराएर बाँकी कर्मचारी तथा कामदारबाट उद्योग सञ्चालन गर्ने व्यवस्थाको लागि पनि टोलीले अनुरोध गरेको थियो ।
टोलीले कोभिडको महामारीबाट सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएको भन्दै यो क्षेत्रलाई व्यवस्थित गरी होटल तथा पर्यटक गन्तव्यलाई पूर्णरूपमा सञ्चालन गर्न पनि अनुरोध गरेको थियो । कुनै पनि पर्यटक नेपाल प्रवेष गर्दा हाल भएको चौध दिनसम्मको क्वारेन्टिनको व्यवस्थालाई परिमार्जन गरी तीन दिनमा झार्नुपर्ने माग पनि टोलीको थियो । टोलीले यो तीन दिनमा पर्यटकको पिसिआर टेस्ट गरी नेगेटिभ आए निर्वाध रूपमा घुमफिर गर्ने व्यवस्था मिलाउनुपर्ने धारणा राखेको थियो । यसबाट नराम्ररी प्रभावित पर्यटन क्षेत्रमा केही राहत महसुस भई पर्यटन क्षेत्रका गतिविधि विस्तारै चलायमान हुने परिसंंघको धारणा छ ।
संक्रमणलाई रोक्न सुविधा सम्पन्न उपचार केन्द्रको स्थापना, राम्रो क्वारेन्टिन र आइसोलेसनको व्यवस्था गर्नुपर्ने धारणा परिसंघको थियो । यसको लागि निजी क्षेत्रबाट सञ्चालित अस्पताल तथा होटललाई आवद्ध गराई उपचार तथा क्वारेन्टिन र आइसोलेसनका सेवाहरू निर्वाध रूपमा प्रदान गर्ने वातावरण बनाइदिन पनि टोलीले राष्ट्रपतिसमक्ष अनुरोध गरेको थियो । राष्ट्रपति भण्डारीले उद्योगी व्यवसायीको सुझावलाई सकारात्मक रूपमा लिई त्यसको कार्यान्वयमा पनि सहयोग गर्ने धारणा व्यक्त गरेको परिसंघले जनाएको छ ।
प्रकाशित: २९ भाद्र २०७७ ०३:१२ सोमबार