coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

स्थानीयद्वारा डल्फिन संरक्षण क्षेत्र घोषणाको माग

मोहना र पथरैया नदीको दोभान क्षेत्र । तस्विरःयोगेश रावल

यहाँका स्थानीय बासिन्दा विगत लामो समयदेखि सरकार समक्ष डल्फिन संरक्षण क्षेत्र घोषणाको माग गर्दै आएका छन्। उनीहरुले यो माग सरकारका विभिन्न निकायमा लिखित रुपमै पेश गरेका छन्। यति मात्रै हैन उच्च ओहदामा रहेका व्यक्तिहरुलाई डल्फिन क्षेत्रमा आमन्त्रण गरेर यस बारेमा जानकारी समेत दिएका छन्।  

स्थानीय बासिन्दाको यस मागमा कसैले विमति जनाएका छैनन्। उनीहरुले स्थानीय बासिन्दाको मागमा समर्थन जनाउदै पूरा गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्। २०७५ सालमा आयोजित डल्फिन महोत्सवको उद्घाटन गर्न पुगेका तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीले डल्फिन संरक्षण क्षेत्र घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।  

मन्त्री अधिकारीको निधन पश्चात स्थानीयको मागले सार्थकता पाउन सकेन। स्थानीयले स्वर्गीय मन्त्रीको सम्झनामा डल्फिन क्षेत्रमा रविन्द्र अधिकारी स्मृति पार्क निर्माण गरे।  

स्थानीयले २०७६ सालको डल्फिन महोत्सवमा पर्यटन मन्त्री योगेश भट्टराईलाई आमन्त्रण गरे। डल्फिन महोत्सवको उद्घाटन गर्न पुगेका मन्त्री भट्टराईले स्वर्गीय मन्त्री अधिकारीले गरेको प्रतिवद्धता पूरा गर्ने बचन दिए।  

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट, पर्यटन मन्त्री माया भट्ट लगायतले समेत डल्फिन क्षेत्रको अवलोकन गरेर संरक्षण क्षेत्र घोषणाका लागि पहल गर्ने बाचा गरेका थिए।  

सरकारको उच्च ओहदामा रहेका व्यक्तिहरुको आगमनले स्थानीय बासिन्दामा हौसला थपिएको छ। उनीहरु छिट्टै डल्फिन संरक्षण क्षेत्र घोषणाको पर्खाईमा छन्। डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानाले आफूहरुको माग सम्बोधन हुने आशा जागेको बताए।  

‘हाम्रो माग सम्बोधन होला जस्तो महशुस भैरहेको छ’ उनले भने–‘डल्फिन संरक्षण क्षेत्र घोषणाका लागि गृहकार्य भैरहेको छ।’

उनका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले डल्फिन संरक्षण क्षेत्र घोषणाका लागि गृहकार्य थालेको छ। उसले स्थानीय बासिन्दासँग छलफल गरेको छ।  

डल्फिन संरक्षण क्षेत्र घोषणा भए यस क्षेत्रका बासिन्दा लाभान्वित हुने डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका महासचिव जयप्रसाद ढुंगाना बताउँछन। उनले डल्फिनको संरक्षण मात्रै नभई भौतिक संरचना निर्माणका साथै स्थानीयका लागि आयआर्जनका कार्यक्रम समेत लागु हुने बताए। ‘डल्फिन संरक्षणका माध्यमबाट स्थानीयले जिविकोपार्जन समेत गर्न सक्छन’ उनले भने–‘डल्फिन संरक्षण क्षेत्र घोषणाले यस ठाउँको मुहार फेर्न सक्छ।’

डल्फिन क्षेत्रमा तीनै तहका सरकारले लगानी बढाएका छन्। संघीय सरकारले विकास निर्माण लगायतमा बजेट विनियोजन गरेको छ। प्रदेश सरकार र स्थानीय पालिकाले विभिन्न भौतिक संरचना निर्माणको कामलाई तिब्रता दिएका छन्। प्रदेश सरकारका तर्फबाट साँसद डा. रणबहादुर रावलले भ्यूटावर निर्माण गरिरहेका छन्।  

टीकापुर नगरपालिकाले डल्फिन क्षेत्रसम्मको सडक व्यवस्थित बनाएको छ। उता भजनी नगरपालिकाले झण्डै ४ किलोमिटर डल्फिन पदमार्गको डिपिआर तयार पारेको छ। उसले डल्फिन अवलोकनका लागि भ्यूटावर समेत निर्माण गर्ने भएको छ।  

रानी जमरा कुलरीया सिँचाई आयोजनाले डल्फिन क्षेत्रमा तटबन्ध गरेको छ। उसले डल्फिन देखिने ठाउँमा डल्फिनमैत्री तटबन्ध निर्माण गरेको छ। अन्यत्र तटबन्ध निर्माणमा जाली प्रयोग गरेको भएपनि डल्फिन क्षेत्रमा भने सिमेन्ट र ढुंगा मात्रै प्रयोग गरिएको छ। यस्तो तटबन्धले डल्फिनको वासस्थानमा कुनै असर नपार्ने बताइन्छ।  

यो वर्ष १३ बच्चा सहित ६० डल्फिन देखिएका छन। यसअघि २०७६ मा ४५, २०७५ मा ४०, २०७४ मा २२ र २०७३ मा ६३ डल्फिन देखिएका थिए।  

स्तनधारी प्राणीका रुपमा रहेको डल्फिन वर्षाको समयमा कैलालीको मोहना, पथरैया, काँडा र कन्द्रा नदीमा देखिन्छ। यी नदीहरुमा पानीको सतह कम भएसँगै डल्फिन हरेक वर्ष कर्णाली नदीको तल्लो भेगतर्फ फर्किने गर्छ।  

अध्ययनकर्ताका अनुसार डल्फिन यी नदीहरुमा बच्चा हुर्काउन आउने गरेको पाइन्छ। वर्षाको समयमा डल्फिनलाई बच्चा हुर्काउनका लागि कैलालीको दक्षिणी भेगका नदीहरु उपयुक्त स्थान हुन। यहाँ पानीको बहाव कम, आहार प्रजाति (माछा) को उपलब्धताका कारण सुरक्षित बासस्थान मानिएको छ।  

यी नदीहरुमा डल्फिन देखिन थालेपछि स्थानीयले संरक्षणको पहल थालेका थिए। स्थानीयकै पहलमा २०५६ बाट डल्फिन संरक्षण भैरहेको छ। पहिलो पटक भोजराज श्रेष्ठ अर्थात गुलेली बाजेले डल्फिन संरक्षणको अभियान थालेका हुन।  

उनलाई अमेरीकी नागरिकले डल्फिनको महत्वका बारेमा सुनाए पछि यस्तो पहल थालेका हुन। त्यसअघि सीमावर्ती मोहना नदीमा भारतीयले जाल हानेर डल्फिन मार्थे। कहिले काँही स्थानीयले समेत मार्थे। माछा मार्ने क्रममा समेत थु्रप्रै डल्फिन मरेका थिए। त्यसको महत्वका बारेमा कसैलाई जानकारी नै थिएन। स्थानीयले स्वाँसु, सोस लगायत भनेर चिन्थे।

यहाँ ग्याँगेटिक जातको डल्फिन पाइन्छ। यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बंगलादेशमा मात्रै पाईन्छ। यो माशांहारी प्राणी हो। यसले मुख्य आहारका रुपमा माछा, घोँगी लगायत खान्छ। यसले बच्चा जन्माउँछ। वर्षमा एक वा एकै पटक दुई वटा सम्म बच्चा जन्माउने गरेको अनुसन्धानले देखाएको छ।

प्रकाशित: २८ भाद्र २०७७ ०७:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App