८ वैशाख २०८१ शनिबार
अर्थ

बैंक ब्याजदर घट्दा निक्षेप अन्यतिर

दुई साताअघि बैंक तथा वित्तीय संस्थामा दुई खर्ब १३ अर्ब रूपैयाँ पुगेको निक्षेप आइतबार एक खर्ब ९३ अर्ब रूपैयाँमा झरेको छ।  

छोटो समयमा २० अर्ब रूपैयाँ हाराहारीको निक्षेप घट्नुको कारण कर्जा लगानी बढेर भने होइन। यस अवधिमा  बैंकहरूको कर्जा लगानी करिब ६ अर्ब रूपैयाँले बढेको छ। नेपाल बैंकर्स संघले  भदौ दोस्रो साता कर्जा लगानी ६ अर्ब रूपैयाँले बढेको जनाएको छ। 

भदौ दोस्रो सातासम्म बैंकहरूले ३४ खर्ब ८५ अर्ब रूपैयाँ निक्षेप संकलन गरी २८ खर्ब ९२ अर्ब रूपैयाँ कर्जा लगानी गरेका छन्। नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट निक्षेपको केही रकम घटेको देखिँदैमा कर्जा लगानी गर्ने वातावरण तयार भइसकेको भन्न नमिल्ने बताउँछन्।  ‘निक्षेप घटेको देखिनुमा थुपै्र कारण हुनसक्छन्,’ उनले भने, ‘कर्जा लगानी वृद्धि भएकाले चाहिँ होइन।’

निक्षेप घट्न थालेपछि कतिपयले बैंकमा रहेको रकम सहकारी लगायतका अन्य क्षेत्रमा जान थालेको अनुमान गरेका छन्। यहीबेला नै लगानीकर्ता सेयर कारोबारमा पनि आकर्षित भएको पाइएको छ। एक दिनमै साढे चार अर्ब रूपैयाँको सेयर कारोबार हुन थालेको छ। लकडाउनको बेला अन्य क्षेत्रको आर्थिक गतिवधि सुस्त हुँदा सेयर बजार भने चम्किएको छ।  

बैंकमा रहेको सात लाख रूपैयाँ झिकेर सेयर खरिद गरेका एक लगानीकर्ताले ब्याजै नआउने भएपछि बैंकमा पैसा राख्नुको कुनै अर्थ नभएको बताए। कतिपय निक्षेपकर्ताले सहकारी संस्थामा निक्षेप जम्मा गर्न थालेको बैंककै अधिकारीहरू बताउँछन्।  

निक्षेप घट्न थालेपछि बैंकमा रहेको रकम सहकारी लगायतका अन्य क्षेत्रमा जान थालेको अनुमान गरिएको छ। यहीबेला लगानीकर्ता सेयर कारोबारमा पनि आकर्षित भएका छन्।

२०७६ असारमा निक्षेपको औसत ब्याजदर ६.६० प्रतिशत र कर्जाको औसत ब्याजदर १२.१३ प्रतिशत थियो। तर अहिले लगानी नभएपछि अधिकांश बैंक तथा वित्तीय संस्थाले कर्जाको मात्र नभई निक्षेपको पनि ब्याजदर घटाएका छन्। राष्ट्र बैंकका अनुसार २०७७ असारमा बैंक तथा वित्तीय संस्थाले दिने निक्षेपको औसत ब्याजदर ६.०१ र कर्जाको औसत ब्याजदर १०.११ प्रतिशतमा झरेको छ। असारपछि पनि ब्याजदर घट्ने क्रम जारी छ। अझै ब्याजदर घट्दै जाने हो भने निक्षेप घटेर झनै समस्या निम्तिने बैंकका अधिकारीहरू बताउँछन्। यतिखेर अधिकांश बैंकले मुद्दतिको ब्याजदर ५÷६ र बचतको ब्याजदर २÷३ प्रतिशतमा झारेका छन्।  

असारसम्मको निक्षेप वृद्धि १८ प्रतिशत
गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप सामान्य रूपमा वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्ष १८ प्रतिशतले निक्षेप वृद्धि भएकोमा गत आर्थिक वर्ष १८.७ प्रतिशतले निक्षेप वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ। असारसम्म निक्षेप वृद्धि भएपनि त्यसयता अधिकांश बैंकले ब्याजदर घटाएका छन्।  

२०७७ असारमा बैंक तथा वित्तीय संस्थाको निक्षेपमा चल्ती, बचत र मुद्दतिको अंश क्रमशः १०, ३१.९ र ४८.६ प्रतिशत  थियो। आर्थिक वर्ष ०७५÷७६ मा यस्तो अंश क्रमशः ९.७, ३२.८ र ४६.३ प्रतिशते थियो। पछिल्लो ५ वर्षको तथ्यांकमा बैंक तथा वित्तीय संस्थामा निक्षेपमा मुद्दतिको हिस्सा बढी रहँदै आएको छ।  बर्सेनि मुद्दतिको हिस्सा बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ। मुद्दतिको हिस्सा बढ्नुलाई अर्थतन्त्रको सकारात्मक पाटोको रूपमा लिइन्छ। बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाइसकेपछि अब पनि पछिल्लो पाँच वर्षको वृद्धि कायम हुन्छ वा हुँदैन भन्ने कुरा महत्वपूर्ण सवालको रूपमा देखा परेको एक बैंकरले बताए।  

२०७३ असारमा कुल निक्षेपमा बचतको हिस्सा ४३.३ प्रतिशत थियो। २०७४ असारमा घटेर ३५.४ र २०७५ मा घटेर ३४.४ प्रतिशत कायम भयो। २०७६ असार मसान्तमा ३२.८ प्रतिशतमा रहेको बचतको हिस्सा २०७७ असार मसान्तमा घटेर ३१.९ प्रतिशत कायम हुन पुग्यो।  

यता मुद्दति निक्षेपको हिस्सा भने २०७३ असार मसान्तमा ३०.५ प्रतिशतबाट बढेर  २०७४ मा बढेर ४३.२ प्रतिशत पुग्यो। बैंक तथा वित्तीय संस्थामा आर्थिक वर्ष २०७५, ७६ र ७७ मा क्रमशः ४४.८, ४६.३ र ४८.६ प्रतिशत मुद्दति निक्षेप पुग्यो।  

अधिकांश बैंकरहरू कर्जा लागनी गर्ने वातावरण तयार हुनेबित्तिकै अहिले देखिएका समस्या समाधान हुने बताउँछन्। चैत ११ देखि सुरु गरिएको लकडाउनले असर गरेको बैंक तथा वित्तीय संस्थालाई पुनः भदौदेखि सुरु गरिएको निषेधाज्ञाले समस्या पारेको एक बैंकरले बताए।  

उनले भदौ सुरुवातदेखि निषेधाज्ञा सुरु नभएको भए अहिलेसम्म ३०–३५ अर्ब रूपैयाँ सहजै कर्जा लगानी भइसक्ने अनुमान गरे। ‘अलिकति मात्रै अवस्थामा सुधार आउनेबित्तिकै कर्जा प्रवाह ह्वात्तै बढ्नेमा  ढुक्क छौं,’ ती बैंकरले नागरिकसँग भने, ‘त्यसैले हामी आत्तिएका छैनौं।’

कोरोना महामारीका कारण नेपाललगायत अधिकांश मुलुकको अर्थतन्त्रमा संकुचन आउने विज्ञहरूले बताउँदै आएका छन्। गतवर्ष नेपालको आर्थिक वृद्धिदर २.२८ प्रतिशतमा सीमित भएको अनुमान गरिएको छ। सोही वर्ष सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएको थियो।  

छिमेकी मुलुक भारतमा कोरोनाकै कारण आर्थिक वर्ष २०२०–२१ को पहिलो त्रैमासमा अर्थतन्त्रमा २३.९ प्रतिशतले गिरावट आएको छ। जुन गिरावट २४ वर्षयताकै कम रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

प्रकाशित: २२ भाद्र २०७७ ०२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App