७ वैशाख २०८१ शुक्रबार
अर्थ

अबको विकल्पमा को ?

टिप्पणी

राष्टिय किताव खानाले यो वर्ष करिव २ हजार ५ सय कर्मचारीले अवकास पाउने सूची प्रकाशन गरेको छ । दुई दर्जन सहसचिव सहित उक्त सूचीमा आवद्ध कोही कसैको रत्तिभर चर्चा छैन । तर, यही भदौ २० (शुक्रबारै राजिनामा दिएका) र ३० मा कार्यकाल पुरा हुुँदै गरेका युवराज खतिवडा र कुलमान घिसिड अहिले सर्वाधिक चर्चामा छन् ।

अर्थ मन्त्रालयको वागडोर सम्हालेका खतिवडा र नेपाल विद्युत प्राधिकरणलाई पाँच वर्ष हाँकेका कार्यकारी निर्देशक घिसिङको वर्हिगमन चर्चामा भने आकाश पातालको भिन्नता छ ।

पाँच वर्ष अघि घिसिङ प्राधिकरणमा आउँदा खासै चर्चा भएन । आम जनताले अन्य नियुक्तिसरह सामान्यरुपमा लिए । करिव तीन वर्षअघि  खतिवडा अर्थ मन्त्रालय पुग्दा भने आम जनताले आशाको नजरबाट हेरे । विगतमा गभर्नरका रुपमा राम्रो काम गरेका भनिएका व्यक्ति अर्थमन्त्री हुँदा आशा हुनु स्वभाविकै हो । त्यसमा अझै उनी सैद्धान्तिक ज्ञान र अनुभव दुवै भएका व्यक्ति थिए ।

नियुक्ति हुँदा चर्चा नपाए पनि कार्यकाल सकिने बेलामा घिसिङले आफ्नो अनुभव र क्षमता दुवै प्रयोग गरे । तत्कालिन अँध्यारो मुलुकलाई उज्यालो बनाए । ३५ अर्ब रुपैयाँभन्दा बढीको ऋणको भार बोकेको संस्थालाई नाफामा पुराए । भलै उनका पनि केही कमजोरी छन् । तर, उनी जनतामाझ लोकप्रिय छन् । उनको पुर्ननियुक्तिका लागि सर्वसाधारणले सामाजिक संजालबाट सरकारलाई दवाव दिइरहेका छन् ।

अर्थमन्त्री खतिवडाको सवालमा अवस्था फरक छ । पहिले आशाको केन्द्र बनेका उनी अहिले दोहोरिनु पर्छ भन्ने आवाज मसिनो छ । उनको विकल्प को हो ? भन्नेको जमात ठुलो छ ।

नेपालमा मात्र होइन संसारमै पदमा पुग्ने जो कोही व्यक्ति लोकप्रिय बन्न उसले जनताको मन जित्ने गरी काम गर्नैपर्छ । पदमा पुग्ने बाटो राम्रा नारा, भाषण वा कसैको निगाह हुनसक्ला तर, त्यो मात्र व्यक्ति सफल हुन्छ जसले जनताका मुख्य समस्यासँग जुझन र पार लगाउन सक्छ । कुलमानको हकमा भएको यही हो । उनी आम जनताको अध्यारो समस्यालाई सदाका लागि विदा गर्न सफल भए र लोकप्रिय बने । तर, खतिवडाले भने आम जनताको भन्दा प्रधानमन्त्री केपी शर्मा ओलीको अर्थमन्त्री हुन रुचाए ।  

सत्ता र पदमा बसेको व्यक्ति राम्रो हुने, चर्चा पाउने र सफल बन्ने सबै उसको कामले हो, अन्य सबै विषय गौण हुन् । कुलमान आउँदा चर्चा विहिन थिए अहिले सर्वाधिक लोकप्रिय छन् । खतिवडा आउँदा चर्चामा थिए अहिले अधिकांसले छोडे हुन्थ्यो भन्नेमा छन् । खतिवडाको वर्हिगमनसँग आम जनताले नियास्रो मान्ने छैनन् । कुलमानका लागि जनता कोरोना कहरबीच पनि सडकमा उत्रन तयार छन् ।

अर्थमन्त्रीका रुपमा खतिवडाले तीन आर्थिक वर्षका बजेट ल्याए । बजेट त्यस्तो दस्तावेज हो जसको आमजनताको वर्तमान र भविष्यसँग सरोकार राख्छ । तीन तीन वर्षको बजेट ल्याउँदा पनि टेक्नोक्र्याट भनिएका खतिवडाले जनताका समस्यालाई छुने गरी एउटै कार्यक्रम सार्वजनिक गर्न सकेनन् । उनले ल्याएको बजेट सधै आलोचनाको विषय मात्र बन्यो ।  कार्यान्वयनको सवालमा पनि उनी उम्दा देखिएनन् । अघिल्ला दुई वर्षभर विकासको आधार तयार पारेको भनियो भने गतवर्ष कारोना वहाना बन्यो ।

खतिवडा अनुदार चरित्रका व्यक्ति हुन् । उनको काम गराइ र लिने नीतिले यसैलाई इंगित गर्छ । सबै कुरा राज्य संरक्षित हुनुपर्छ भन्ने मान्यतामा उनी विश्वास राख्छन् । निजी क्षेत्रलाई खासै विश्वास गर्दैनन् । आफुबाहेक अर्को व्यक्ति जान्ने छैन भन्ने भावना उनीमा छ । यही भावनाका कारण गभर्नर र अर्थमन्त्रीका रुपमा उनको पटक पटक आलोचना हुँदै आएको थियो । म भन्दा अरु जान्ने छैनन् भन्ने खतिवडा र सबैकुरा मैले जानेको छु भन्ने प्रधानमन्त्री ओलीबीच कसरी राम्रो सम्बन्ध कायम भयो भन्ने खोजीको विषय भएको बेला बेलामा चर्चा हुने गर्छ ।  

कुनै पनि पदमा को र कस्तो व्यक्ति आयो भन्ने भन्दा उसले के गर्यो भन्ने कुराले बढी महत्व राख्छ । कुलमान र खतिवडाका सवालमा पनि जनताले व्यक्तिलाई होइन, काम हेरेरै मुल्यांकन गरेको देखिएको छ ।

कुलमान र खतिवडाले के गरे भन्ने जस्तै यीनीहरुको विकल्प को हो ? भन्ने विषयले पनि महत्व राख्छ । कुलमानले सबैलाई उज्यालो दिनुका साथै संस्थालाई बलियो पनि बनाएका छन् । ठुलो ऋणमा डुबेको संस्था अहिले आर्थिक रुपमा स्वस्थ बनेको छ । कुलमानको वहिर्गमन भए तत्काललाई खासै फरक देखिने छैन । तर, संस्थाको नेतृत्व गर्नेलाई आगामी दिन त्यति सहज भने देखिदैनन् । तीन वर्ष पछि नेपालमा उत्पादन हुने विजुलीका लागि बजार खोज्नुपर्ने सबैभन्दा पेचिलो विषय अगाडी आउँदैछ । एकातिर स्वदेशमा बिजुलीको खपत बढाउने रणनीति तयार गर्नुपर्ने चुनौती छ भने अर्कोतिर विदेशमा बजार खोज्नु पर्नेछ । चीन र बंगलादेशमा बिजुली निर्यात गर्ने भनिए पनि त्यति व्यवहारिक देखिएको छैन । नेपालको बिजुलीको सबैभन्दा भरपर्दो बजार भारत हो । भारतले नेपालको जलस्रोतलाई हेर्ने दृष्टिकोण र अहिलेको राजनीतिक तरलताले भारतमा हामीले चाहेको दरमा बिजुली निकासी त्यत्ति सहज छैन । बजार खोज्न नसके वार्षिक १० अर्ब रुपैयाँ खेर जानसक्ने चेतावनी निजी क्षेत्रले दिइसकेको छ । विद्युत क्षेत्रमा अन्य पनि धेरै समस्या छन् । त्यसैले कुलमानको विकल्पमा आउनेलाई त्यत्ति सहज छैन ।

अर्थमन्त्री खतिवडाको विकल्पको सवालमा भने कुलमानको भन्दा धेरै चुनौतीका खात छन् । अहिले संसारभरमा सबैभन्दा बढी तनावमा कोही छ भने त्यो अर्थमन्त्री हो । कोभिडका कारण सबै मुलुकको अर्थतन्त्र चौपट छ । नेपालमा पनि पछिल्लो समय कोभिडका संक्रमित र मृत्युदर बढीरहेको छ । यस्तो अवस्थामा सरकार विभिन्न नामबाट बजारलाई अवरोध गरिरहेको छ । कतिपय व्यवसाय ६ महिनादेखि बन्द छन् । खुलेका पनि आँशिक रुपमा संचालनमा छन् । लाखौंको संख्यामा वेरोजगारी बढेको छ । कोभिडको संक्रमण बढेपछि भारतबाट नेपाल आएकाहरु अहिले फेरी रोजगारीका लागि भन्दै भारतमै फर्कन थालेका छन् । सरकारी निकायले कोभिडको असरबारे गतिलो अनुसन्धान नगरे पनि अर्थतन्त्र चौपट हालतमा पुगिसकेको छ । भावी दिन अझै कठिन हुने देखिन्छन् ।

अर्थतन्त्रका विभिन्न पाटामध्ये बाह्य क्षेत्र अझै पनि मजबुत रहेको छ । वैदेशिक व्यापारमा आयातमा आएको संकुचनका कारण अर्थतन्त्रको बाह्य क्षेत्रलाई मजबुत बनाउन सहयोग पुगेको छ । रेमिटेन्स आय ३ प्रतिशतभन्दा कमले मात्र घटेको छ । विदेशी विनिमय संचिति निकै राम्रो अवस्थामा छ । शोधनान्तर स्थिति, चालु खाता घाटाको अवस्था पनि सोचेभन्दा राम्रो छ । यो पक्षबाट नयाँ अर्थमन्त्रीलाई ढुक्क हुने अवस्था छ ।

तर, अर्थतन्त्रका अन्य पाटाहरु राम्रा छैनन् । कोभिडका कारण निजी क्षेत्र निरिह बनेको छ । बैंकको साँवा र व्याज कसरी तिर्ने भन्ने चिन्तामा छ । नयाँ लगानीबारे उसले सोच्ने मौकासम्म पाएको छैन । बैंकहरुसँग ऋण दिने पैसा प्रयाप्त भए पनि लिन आउने कोही छैनन् । यसले कर्जा प्रवाहको गति निकै सुस्त बनाएको छ ।

सरकार आफैले पनि खर्च बढाउने वातावरण बनाउन सकेको छैन । सरकारले खर्च नगरे पछि त्यसको असर अर्थतन्त्रका सबै पाटोमा पर्नेछ । सरकार आफैलाई पनि राजस्व आउने एउटा बाटो बन्द हुनेछ । अहिले सरकारलाई सबैभन्दा ठुलो चुनौति राजस्व असुलीमा छ । कोभिड लगायतका कारण सरकारी चालु खर्च बढीरहेको छ । वैदेशिक अनुदान र ऋण पनि बजेटमा लक्ष्य गरे अनुसार आउने संभावना छैन । यस्तोमा नयाँ अर्थमन्त्रीलाई खर्चको व्यवस्थापन सबैभन्दा मुख्य चुनौती बन्नेछ ।

कोभिडका कारण थिलाथिलो अर्थतन्त्रलाई चलायमान बनाइ पुरानो अवस्थामा फर्काउने चुनौती पनि नयाँ अर्थमन्त्रीलाई हुनेछ । अर्थतन्त्र चलायमान बनाउने पहिलो सर्त बजार खोल्नु हो । तर, सरकार बढ्दो कोरोना कहरका कारण बेलाबेलामा बजारलाई हस्तक्षेप गरिरहेको छ । यही कारण उत्पादनदेखि उपभोगसम्मको श्रृखलामा समस्या आइरहेको छ । यो श्रृखलामा समस्या आउनु भनेकै अर्थतन्त्र धरासायी उन्मुख हुनु हो । गत चैतदेखि यस्तै भइरहेको छ । छिमेकी भारतले पनि मुलुकलाई लामो समय बन्दाबन्दी गर्दा आर्थिक वृद्धिदरमा २३.९ प्रतिशत (एक त्रैमासको मात्र ) गिरावट आएको छ । पटक पटकको बन्दाबन्दी र निषेधाज्ञाले बजारलाई हस्तक्षेप गर्दा नेपालको हालत पनि भारतको जस्तै हुने संभावना छ । यसको मुख्य दोष सरकारले भन्दा पनि नयाँ अर्थमन्त्रीले बोक्नुपर्नेछ ।

मुलुकको अर्थतन्त्रको यस्तो अवस्थामा खतिवडाको विकल्पमा आउने को हो ? भन्ने कुराले मुलुकको भावी दिनका लागि ठुलो महत्व राख्नेछ । नेकपामा अहिले भएका सांसदहरुलाई हेर्दा यो समस्या चिर्ने गरी अर्थमन्त्री हुने कोही देखिदैनन् । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आफ्नो कार्यकालमा राम्रो गरेका थिए । त्यसबेला उनलाई अर्थ मन्त्रालय भित्रको टिमले पनि सहयोग गरेको थियो । त्यो सफलतामा अर्थ टिमको ठुलो हात थियो । विगतमा अर्थका महाशाखा हाँक्ने सहसचिबहरु अर्थ मन्त्रालयबाटै हुर्किएका हुन्थे । सचिवहरु सम्बन्धित विषयमा खारिएका हुन्थे । अहिलेको अर्थ मन्त्रालयको टिम त्यस्तो मजबुत छैन । गैर अर्थबाट आएकाहरुको हालीमुहाली छ । जसको सत्तासँग पहुँच छ, त्यही व्यक्ति अर्थमा पुग्ने वातावरण पुगेको छ । त्यसैले नयाँ अर्थमन्त्रीलाई आफ्नो मन्त्रालयबाट खासै ठुलो सहयोग पुग्ने छैन । समस्यासँग उनी आफै जुझ्नु पर्नेछ ।

नयाँ अर्थमन्त्री विदेशी दातृ मुलुक र निकायहरुले पनि पत्याएको व्यक्ति हुनुपर्नेछ । अंग्रेजी भाषाको मात्र समस्या होइन, व्यक्तित्व कम भएको र सैद्धान्तिक ज्ञान नभएको व्यक्ति अर्थमन्त्री बने दातृ निकायका तल्लोस्तरका कर्मचारीले पनि वास्ता गर्दैनन् । विदेशी निकायहरुसँग खतिवडाले जसरी डटेर छलफल गर्न र आफ्नो भनाईमा उनीहरुलाई सहमत गराउन सक्छन् अबको अर्थमन्त्रीको हैसियत र दक्षता पनि त्यस्तै हुनुपर्छ । तर, विडम्बना नेकपामा अहिले त्यस्तो सांसद कोही देखिदैन जो दातृ निकायहरुसँग जुधेर छलफल गर्न सकोस् र आफ्नो एजेण्डामा सहमत गराउन सकोस् । अर्थकै कर्मचारीको भर पर्ने बाहेक अर्को विकल्प नभएको अर्थमन्त्री मुलुकका लागि आवश्यक छैन ।

विगतमा वर्षमान पुन, कृष्णबहादुर महरा, विष्णु पौडेल, ज्ञानेन्द्रबहादुर कार्कीजस्ता राजनीतिक वृत्तबाट आएका नेतालेले अर्थ मन्त्रालय चलाएका थिए । अहिले उनीहरुले चलाए हामीले किन नसक्ने भन्नेहरु प्रशस्तै छन् । अर्थतन्त्र सामान्य अवस्थामा रहेका बेला गैर अर्थशास्त्रीहरुले चलाउनु र अहिले कोभिडको अवस्था नितान्त भिन्न हो । यो बेला जो कोही गैर अर्थशास्त्रीलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिनु भनेको मुलुकको भविष्य थप अनिश्चिततर्फ धकेल्नु हो ।  

प्रकाशित: २० भाद्र २०७७ ०१:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App