७ वैशाख २०८१ शुक्रबार
अर्थ

इतिहादको निःशुल्क प्रस्ताव अस्वीकृत

दैनिक आठ सय यात्रु मात्रै विदेशबाट आउन दिने नीति लिएको सरकारले युनाइटेड अरब इमिरेट्सको वायुसेवा कम्पनी इतिहादले अलपत्र नेपालीलाई निःशुल्क स्वदेश ल्याइदिन राखेको प्रस्ताव पनि लत्याएको छ ।  

इतिहादले गत आइतबार नै युएईमा अलपत्र नेपालीलाई निःशुल्क ल्याइदिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग चार्टर्ड उडानको अनुमति मागेको थियो । तर मन्त्रालयले दुबईमा नियमित उडान सुरु भइसकेको र चार्टर्ड उडान जारी रहेका मुलुकमा समेत नियमित उडान खोल्ने तयारी भइरहेको भन्दै इतिहादलाई अनुमति दिएको छैन ।

नियमित उडानको भाडा चार्टर्डको भन्दा झन्डै दोब्बर भएको बेला दुबईमा चार्टर्ड उडानको तालिका नरहेको र तालिकाभन्दा बढी यात्रु ल्याउँदा क्वारेन्टिनको व्यवस्थापन भद्रगोल हुने मन्त्रालयको दाबी छ ।

नाम नछाप्ने सर्तमा मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार इतिहादले भदौ १९ देखि असोज २ सम्म उडान भर्ने गरी अनुमति मागेको थियो, जसमा पिसिआर परीक्षणसहित टिकटको मूल्य यात्रुले तिर्नु नपर्ने उल्लेख छ । तर मन्त्रालय मन्त्रिपरिषद्ले दैनिक आठ सयको कोटा हटाएमात्रै थप उडानको अनुमति दिन सक्ने बताउँछ ।

यद्यपि रोगजारदाता कम्पनीले नै उद्धारको आग्रह गरे अनुमति दिन मन्त्रालय तयार देखिन्छ । हाल दुबईका विभिन्न गन्तव्यमा नियमिततर्फको उडान भर्न एयर अरेबिया, फ्लाई दुबई, नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले अनुमति पाएका छन् ।

सरकाले दैनिक आठ सय यात्रु आउन पाउने कोटा तोके पनि केही तलमाथि हुँदै आएको भन्दै मन्त्रालयले हाल आठ सय ५० हाराहारीसम्म यात्रु आइरहेको जनाएको छ । तर विमानस्थल कार्यालयका अनुसार बुधबार चार सय ८२ र बिहीबार ८८ यात्रु नेपाल आएको देखिन्छ ।  

बिहीबार आएका यात्रु सबैसँग पिसिआर परीक्षण रिपोर्ट भएकाले प्रदेश तथा स्थानीय सरकारको समन्वयमा दुई हप्ता घरमै क्यारेन्टिन बस्ने गरी छाडिएको र मंगलबार आएकामध्ये चार सय ७३ जनालाई होटल क्यारेन्टिनमा राखिएको मन्त्रालयको भनाइ छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) का अनुसार होटल क्वारेन्टिन बस्नेमध्ये दुई सय १५ जना निगमको विमानमार्फत जापानबाट आएका छन् ।

विमानमा आएका एकजना यात्रु पनि पिसिआर परीक्षणबिनाको भए त्यसमा सवार सबै यात्रुलाई क्वारेन्टिन राख्नुपर्ने सरकारी सर्तका कारण भोलि त्यस्तै उडान भए क्यारेन्टिनको अवस्था भद्रगोल हुने भन्दै मन्त्रालयले इतिहादको अनुमति अस्वीकार गरेको जनाइएको छ ।

अहिले अनुमति लिएर नियमित उडान सुरु गरेका विदेशी विमान कम्पनीले महँगोमा टिकट बेच्न थालेपछि मन्त्रालयले तिनलाई नेपाली वायुसेवाले तोके सरह भाडामा टिकट बेच्न निर्देशन दिएको छ । तर उनीहरूले महँगो मै बुकिङ लिइरहेका छन्् ।

हाल निगमले दुबई सेक्टरका लागि वाई क्लासको २१२०, एम क्लासको १८२०, एन क्लासको १७२० र ओ क्लासको १४४० दिराम भाडा तोकेको छ । त्यस्तै, हिमालय एयरलाइन्सले वाई क्लासको ६ सय ३०, एम क्लासको पाँच सय ७०, के क्लासको पाँच सय १५, एल क्लासको चार सय ६५, जी क्लासको चार सय २५ र भी क्लासको १४ सय २० डलर टिकट मूल्य तोकेको छ ।

प्रकाशित: १९ भाद्र २०७७ ०५:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App