coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

रासायनिक मल ल्याउन प्रधानमन्त्रीको अग्रसरता

धानको टप ड्रेसिङ गर्ने बेला किसानलाई रासायनिक मल दिन नसकेर सरकारको चर्को आलोचना भएपछि बंगलादेशबाट मल ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रसरता लिएका छन् ।

मल उपलब्ध गराउन प्रधानमन्त्री ओलीले मंगलबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग आग्रह गरेका हुन् । हसिनासँग टेलिफोनमा युरिया मल पठाउन गरेको आग्रहलाई स्वीकार गर्दै मल पठाउने प्रतिबद्धता जनाएको प्रधानमन्त्री ओलीले ट्विटमार्फत जानकारी गराएका छन् ।

रासायनिक मल ल्याउन ढिलाइ भएपछि कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले प्रधानमन्त्री तहमा कुरा गरेर मल ल्याउन लबिङ गरेका हुन् । दुई प्रधानमन्त्रीबीच रासायनिक मल आपूर्तिसहित दुवै देशबीच व्यापार, ऊर्जा लगायत विषयमा सहकार्य गर्ने विषय छलफल भएको जनाइएको छ ।  

५० हजार टन मल ल्याउन ठेक्का दुई कम्पनीले समयमा मल नल्याएपछि बंगलादेशबाट ५० हजार टन युरिया मल सापटीमा ल्याउन लागिएको हो । त्यसका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले परराष्ट्र मन्त्रालय हुँदै प्रक्रिया अघि बढाएको छ । किसानले धान रोप्दा र गोडमेल गर्दा दुवै सिजनमा रासायनिक मल पाउन सकेका छैनन् । यो हप्ता साल्ट ट्रेडिङ कर्पोरेसनले केही मल ल्याएपछि बिक्री गर्न सुरु गरेको भए पनि पर्याप्त छैन ।

सरकारले समयमै ठेक्का नलगाउने र पहुँचवाला ठेकदारलाई मल ल्याउने ठेक्का दिँदा मलको अभाव हुँदै आएको छ । अनुदानको ७० प्रतिशत मल कृषि सामग्री कम्पनी र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेसलले ल्याएर बिक्री गर्छ ।  

कृषि सामग्रीमार्फत ५० हजार टन रासायनिक मल ल्याउने ठेक्का पाएका होलिको मल्टिपल र सैलुङ इन्टरप्राइजेजले समयमा मल नल्याए पछि बजारमा मलको अभाव भएको छ ।

मल ल्याउन ठेक्का पाएका दुई कम्पनीले समयमा मल नल्याएपछि सरकारले नयाँ विकल्प खोजेर बंगलादेशबाट ५० हजार टन युरिया मल सापटीमा ल्याउन लागेको हो ।

राजनीतिक पहुँचका आधारमा ठेक्का पाएको सैलुङ र होलिकाले मल नल्याएपछि किसानले मल पाउन सकेका छैनन् । ८५ हजार टन मल ल्याउने ठेक्का पाएको सैलुन पहुँचवाला ठेकदार शारदाप्रसाद अधिकारीको कम्पनी हो । सैलुन समयमा काम सम्पन्न नगरेर निर्माण क्षेत्रमा बदनाम शैलुङ कन्सट्रक्सनका सञ्चालक अधिकारीको कम्पनी हो । अधिकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन् । अधिकारीले राजनीतिक प्रभावका आधारमा करिब दुई अर्ब रूपैयाँभन्दा बढीको रासायनिक मल किन्ने सरकारी ठेक्का पाएका थिए । राजनीतिक पहुँच प्रयोग गरेर ठूला सरकारी कारोबारमा कब्जा जमाउँदै आएका अधिकारीले ठेक्का पाए पनि मल ल्याएका छैनन् ।  

यो वर्ष समयमा ९८ प्रतिशतमा रोपाइँ भएको थियो । राम्रो वर्षाद भएकाले मलको व्यवस्थापन गर्न सके आर्थिक वृद्धिमा पनि टेवा पुग्थ्यो । किसानले मल नपाएपछि कृषि भुसाल पछिल्लो समय आलोचित भएका थिए ।  

टेन्डरमार्फत आउने युरिया मल आउन अझै समय लाग्ने कृषि सामग्री कम्पनीका निर्देशक नेत्र भण्डारीले बताउँछन् । मल खरिदमा कसिमनको खेल हुने गरेको आरोप लाग्दै आएको छ । कृषि विज्ञ कृष्ण पौडेल कमिसनको खेलले किसानले समयमा मल नपाउने गरेको टिप्पणी गर्छन् ।  

भदौसम्म सबै मल ल्याइ सक्नुपर्ने भए पनि मल नआएको कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णु पोखरेलले बताए । असहज परिस्थितिलाई कारण देखाएर सप्लायर्सले समय थप्न माग गरिरहेको उनले बताए ।  

अनुदानको मल खरिद र वितरणको जिम्मेवारी पाएका दुई कम्पनीका गोदाम रित्ता छन् । युरिया मलको अभावले धान उत्पादनमा प्रभावित गर्ने विज्ञ बताउँछन् । कृषिविज्ञ भोलामानसिंह बस्नेत धान उत्पादन बढाउन रोपेको डेढ महिनामा युरिया मल अनिवार्य राख्नुपर्ने बताउँछन् । विगतमा तराईका किसानले खुल्ला सिमानाको फाइदा उठाउँदै मल ल्याउने गरेकोमा यो वर्ष कोडिभका कारण सीमा कडाइ गर्दा मल आएको छैनन् । तराईका जिल्लामा लकडाउन र सीमामा कडाइका कारण अझ बढी समस्या भोगेका छन् । बजारमा मल अभाब भएको मौका छोपी केहीले मलमा कालोबजारी गरिरहेको किसान बताउँछन् ।

सरकारले बजेट भाषण मै रासायनिक मलका लागि बजेट विनियोजन गरे पनि बर्सेनि मल अभाव हुँदै आएको छ । सरकारले आर्थिक वर्ष ०७६÷७७ का लागि रासायनिक मल खरिद गर्न १० अर्ब बजेट विनियोजन गरेको थियोे । एक वर्षअघिनै रासायनिक मल किन्नका लागि बजेटको सुनिश्चित भए पनि किसानल माल पाउन सकेका छैनन् । कोभिड–१९ को बहाना बनाए पनि समयमा प्रक्रिया नबढाउँदा अभाव भएको हो ।  

सरकारले रासायनिक मलमा अनुदान दिने गरेको छ । युरियामा ६५ देखि ७० प्रतिशत, डिएपीमा २५ देखि ३० प्रतिशतसम्म, पोटासमा ३० देखि ३२ प्रतिशतसम्म अनुदान दिन्छ । युरियाको बिक्री मूल्य प्रतिकिलो १४ रूपैयाँ, डिएपीको ४३ रूपैयाँ र पोटासको ३१ रूपैयाँ कायम गरिएको छ । यो सीमा क्षेत्रको मूल्य हो । रक्सौलबाट मुलुकका अन्य ठाउँमा लाग्ने ढुवानी भाडा जोडेर बिक्री गरिन्छ । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङका शाखाले हरेक जिल्लामा त्यहाँका सहकारीलाई मल बिक्री गर्छन् । सहकारीले किसानलाई बिक्री गर्ने गरेका छन् । आव ०७२÷७३ मा रासायनिक मल खरिदका लागि पाँच अर्ब ६७ करोड ३८ लाख विनियोजन गरेकोमा चालु आव ०७७÷७८ का लािग रासायनिक मलमा ११ अर्ब रूपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रकाशित: १७ भाद्र २०७७ ०४:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App