coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

डेढ महिनामा ६० लाखको टमाटर निकासी

टमाटर बिक्रीका लागि लैजान गाडीमा राख्दै किसान । तस्बिर: मालाती/नागरिक

सहिदभूमि गाउँपालिकाबाट पछिल्लो डेढ महिनामाएक सय मेट्रिकटन टमाटर निर्यात भएको छ । टमाटर निर्यातबाट यहाँका किसानले पहिलो महिनामै ६० लाखभन्दा बढी आम्दानी गरेका छन् ।

अहिले किसानको बारीमै प्रतिकेजी ५० देखि ५५ रूपैयाँमा टमाटर बिक्री भइरहेको छ । गाउँपालिकामा करिब तीन सय हेक्टरमा टमाटर खेती गरिएको छ । कोरोना संक्रमणको जोखिम भए पनि किसानले राम्रो आम्दानी लिइरहेको गाउँपालिकाका कृषि प्राविधिक खिरप्रसाद राईले बताए ।  

लकडाउनका कारण अन्य जिल्ला तथा भारतबाट टमाटर आयत भएको छैन । त्यसैले किसानले टमाटरको राम्रो भाउ पाएका छन् । गत वर्ष यहि सिजनमा प्रतिकिलो १५ देखि २५ रूपैयाँका दरले टमाटर बेचेका किसानले अहिले ५० देखि ५५ रूपैयाँ मूल्य पाएका छन् । यही भाउ पाइरहने हो भने गत वर्षभन्दा दोब्बर आम्दानी लिनसक्ने अवस्था रहेको कृषि प्राविधिक राईले बताए ।  

गाउँपालिकाबाट दिनमा १७ देखि १८ हजार किलो टमाटर निर्यात भइरहेको स्थानीय व्यापारीको भनाइ छ । ‘किसानले मूल्य पनि राम्रो पाएका छन् । बजार पनि राम्रो छ,’ स्थानीय व्यापारी भुपाल राईले भने ।  

स्थानीय किसान नगेन्द्र राईले टमाटर खेतीबाट एक महिनामै चार लाखभन्दा बढी आम्दानी लिएका छन् । व्यावसायिक रूपमा टमाटर खेती गर्दै आएका राईले आठ हजार किलो टमाटर बिक्री गरेको बताए । उनले ५० रोपनी जग्गामा टमाटर खेती लगाएका छन् । कात्तिकसम्म करिब २० मेट्रिकटन टमाटर बेच्ने किसान राईको भनाइ छ ।  

सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको सहिदभूमि गाउँपालिकामा पछिल्लो वर्ष टमाटर खेती पनि किसानको मुख्य आम्दानीको स्रोत बन्दै गएको छ । गाउँपालिकाले यो वर्ष किसानलाई उन्नत जातको बिउविजन ७५ प्रतिशत अनुदानमा वितरण गरेको छ । कृषिको विकासका लागि दुई करोडभन्दा बढी बजेट विनियोजना गरिएको अध्यक्ष मनोज राईले बताए । यो गाउँपालिकाका किसानले गत वर्ष तरकारीबाट करिब २० करोड र सुन्तलाबाट ३५ करोड आम्दानी गरेका थिए ।

यहाँ उत्पादित कृषिजन्य सामग्री धनकुटाको हिले, मुलघाट, गुठीटारलगायत स्थान हुँदै अन्यत्र निर्यात गर्ने गरिएको छ । 

प्रकाशित: १५ भाद्र २०७७ ०२:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App