८ वैशाख २०८१ शनिबार
अर्थ

४१ करोडमा प्रादेशिक कृषि थोक बजार निर्माण हुने

वागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका ११, थानाभ–याङमा प्रादेशिक कृषि थोक बजार निर्माण गरिने भएको छ । प्रदेशको कृषि विकास निर्देशनालय र हेटौंडा उपमहानगरपालिकाका बीच आईतबार सम्झौता पनि गरिएको हो ।

निर्देशनालयका निर्देशक रविन्द्रबहादुर प्रधान र उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । ४१ करोड रुपैंया लागतमा निर्माण हुने कृषि थोक बजारका लागि प्रदेश सरकारले ७० प्रतिशत र उपमहानगरपालिकाले ३० प्रतिशत लगानी गर्नेछन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कृषि क्षेत्रका विचौलियाबाट किसानलाई मुक्ति दिनका लागि कृषि थोक बजार निर्माण गर्न लागिएको दाबी गरे । ‘कृषि थोक बजारलाई किसानको सिधा सम्पर्क बजारको रुपमा विकास गर्नेछौ,’ उनले भने, ‘यो योजना प्रदेशको मात्र नभई स्थानीय तहहरुको पनि महत्वपूर्ण योजना हो ।’

कृषि थोक बजार अत्यन्तै आधुनिक हुने दाबी गर्दै मुख्यमन्त्री पौडेलले कृषि बजारका कारण धेरैले रोजगारी पनि पाउने बताए । ‘अहिले कृषि उत्पादनलाई जोड दिने व्यवस्था भएपनि कृषि बजार व्यवस्था नगर्ने अवस्था रहेको छ,’ उनले भने, ‘कृषि थोक बजार निर्माण भएपछी प्रदेशभरका कृषकका धेरै समस्या समाधान हुने छ ।’

प्रदेशका भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले कृषि थोक बजार निर्माण सम्झौता धेरै महत्वपुर्ण रहेको भन्दै चाँडै निर्माणका लागि भदौ अन्तिम सातामा टेन्डर निकालिने समेत बताए । कृषि विकास निर्देशनालयका निर्देशक प्रधानले तत्काल ग्लोबल टेण्डर प्रकृयामा गएर निर्माण शुरु गर्ने तयारीमा रहेको बताए ।

हेटौंडाका मेयर महतले किसानले उत्पादन गरेका तरकारी, फलफूल स्टोर गर्ने र बिक्री गर्ने प्रदेशकै केन्द्रको रुपमा विकास गरिने भन्दै कृषि बजार महत्वपुर्ण आम्दानीको श्रोत पनि हुने बताए ।

प्रकाशित: १४ भाद्र २०७७ १५:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App