८ वैशाख २०८१ शनिबार
अर्थ

रातभर डोजर लगाएर तामाकोसी दोहन

दोलखाको तामाकोसी बजारमा भेटिएका ट्रिपर। तस्विर: रमेश/नागरिक

स्थानीय प्रशासन र जिल्ला समन्वय समितिले दुई महिना यता तामाकोसी नदी दोहन रोक लगाएपनि रातको समयमा दोहन भइरको छ।  वर्षातको समयमा गत असारदेखि उत्खनन् गर्न रोक लगाईए पनि ठुलो संख्यामा युवाहरुको समूहले मध्यरातमा बालुवा तस्कर बढेको हो।  

मध्यरातमा गैरकानूनी रुपमा बालुवा अन्यत्र कार्यमा संलग्न २ जना चालकसहित सशस्त्र प्रहरीको टोलीले डोजर र स्कावेटर नियन्त्रणमा लिएको छ। शुक्रबार मध्यरातमा तामाकोसी नदी आसपास पुगेको सशस्त्र टोलीले नदी डोजरले बालुवा निकाल्दै गरेको अवस्थामा एउटा डोजर, दुई ओटा ट्रिपरसहित दुई जनालाई नियन्त्रणमा लिएको हो। ‘बालुवा झिकेको सुचनाका आधारमा सशस्त्र टोलीले राति उनीहरुलाई पक्राउ गरेको हो’ प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले भने, ‘यसको कारबाही गर्ने र हेर्ने निकाय जिल्ला समन्वय समिति भएका कारण कारबाही प्रक्रियाका लागि बुझाउदैछौं’।  

तामाकोसी नदीमा अवैध रुपले बालुवा निकाल्न लामो समयदेखि युवाहरुको समुह बीच प्रतिस्प्रर्धा चल्दै आएको छ। तामाकोसीको नयाँपुल बजारमा रातभरी थुप्रै पटक झगडा हुने गरेको सूचना स्थानीयले प्रशासनलाई दिदै आएका थिए। तामाकोसी नदीको नयाँपुल बजार आसपासमा तीन समूह बीच बालुवा निकाल्ने बिषयमा चरम विवाद र प्रतिस्प्रर्धा छ। ‘रातभरी बजारमा तिनै समूहको विवाद र पटक पटक झगडा चलिरहन्छ’ एक स्थानीयले भने– ‘अस्ती सशस्त्र आएर लिएर गयो, तर प्रहरी कहिलेकाँही आएर मात्र पक्राउ गरेजस्तो गर्छ, फेरी उनीहरु कहिलेबाट शुरु गर्छन थाहा छैन, शुरु गरे लगतै यहाँ रातको समयमा उनीहरुको झगडाले कति खेर के हुने हो भन्ने त्रास हुन्छ’।  

तामाकोसीको भीमेश्वर नगरपालिका तर्फ वारीसंगै पारी वैत्येश्वर र तामाकोसी गाउँपालिका क्षेत्रमा समेत रातभर अवैध रुपले बालुवा उत्खनन उतिकै रहेको स्थानियले सुनाए। वैत्येश्वरको गोपीखोला, चैत्यघाट, तामाकोसी गाउँपालिकाको ढोलीखोला आसपासका क्षेत्रमा रातभर युवा समुहहरु बिच अवैध रुपले बालुवा निकाल्ने कार्य तीव्र छ। ‘ढोलीखोला आसपासको क्षेत्रमा त दिउँसै बालुवा निकालिन्छ’ ती स्थानीयले भने। अवैध रुपले बालुवा निकाल्ने युवा समुहहरुलाई कम्युनिष्ट र कांग्रेस संगै स्थानीय सरकारका जनप्रतिनिधि र पहुँचवालाकै संरक्षण छ। अवैध रुपले बालुवा निकालिएका कतिपय स्थानमा दलका जिल्ला स्तरीय नेताहरुकै नाम मुछिएको छ।  

तामाकोसी नदीमा नदी क्षेत्रमा यी बाहेक अवैध रुपले चलेका क्रसरले समेत रोक लगाईएको समयमा निरन्तर खोलामा डोजर हालेर बालुवा निकालिहरेका छन्। नयाँपुल नजिकको भांगे खोला, घाट रहेको दोभान, गोपीखोला, ढोलीखोला क्षेत्र लगायतका स्थनमा सञ्चालित क्रसरहरुले समेत अवैध रुपले रातभर बालुवा निकालीरहेका छन्।  

प्रहरीकै मिलेमतो तामाकोसी नदी आसपासका क्षेत्रमा रातभरी भईरहेको बालुवा उत्खनन र तस्करी गर्ने गिरोह संग स्थानीयले किरातीछाप प्रहरी चौकीकै सेटिङ हुने गरेको खुलेको छ। सेटिङका कारण प्रहरी समेत विवादमा मुछिएपछि जिल्ला प्रहरी कार्यालयले दुई महिनाको बिचमा तिन जना चौकी ईन्चार्ज (असई) फेरिसकेको छ।  

 

र्चौकीका एक जना ईन्चार्ज असईले बालुवा निकाल्न गरेको सेटिङ र पैसा माग गरेको सम्वाद सहितको अडियो टेप जिल्लाका केही पत्रकारले हात पारेर स्थानिय सुरक्षा अधिकारीहरुलाई सुनाएका थिए। किरातीछाप चौकीले बालुवा निकाल्न तामाकोसी नदी भरी सेटिङ मिलाउने गरेको आरोप स्थानियको छ।  

जिल्लाका प्रहरी प्रमुख डिएसपी रेवतीरमण पोखरेलले बालुवा निकाल्ने कार्यमा प्रहरीको संलग्नता ईन्कार गरे। ‘त्यस्तो हुनै सक्दैन’ उनले भने – ‘हामीले त्यहाँ अवैध रुपले डोजर हाल्ने कार्यमा संलग्नलाई थुप्रै पटक पक्राउ गरेका छौं, शुक्रबार सशस्त्रको टोली समेत हामीहरुको सल्लाहमै गएको हो’। उनले कुनै प्रहरी कर्मचारीले गल्ती गरेको भेटिए कारबाही हुने बताए।  

प्रकाशित: १४ भाद्र २०७७ १२:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App