coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अर्थतन्त्रको बाह्य क्षेत्र बलियो

गत आर्थिक वर्षको एक तिहाइ (चैत–असार) समयलाई विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ ले प्रभाव पारे पनि मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र अझै मजबुत देखिएको छ । कोभिडका कारण अर्थतन्त्रको आन्तरिक पाटो चौपट भई आम जनताको दैनिकी अझै कष्टकर बनिरहेका बेला कम्तीमा बाह्य क्षेत्रमा देखिएको मजबुत अवस्थाले सरकारलाई ढुक्क बनाएको छ ।

गत आर्थिक वर्षमा मुलुकको वैदेशिक व्यापार, विप्रेषण आय, शोधानान्तर स्थिति, विदेशी विनिमय सञ्चिति, चालु खाता घाटालगायत अर्थतन्त्रको बाह्य क्षेत्रमा कोभिडको खासै असर देखिएको छैन । यीमध्ये कतिपय क्षेत्रमा विगत वर्षमा भन्दा सुधार पनि आएको छ । राष्ट्र बैंकको नयाँ तथ्यांकअनुसार गत आर्थिक वर्षमा रेमिटेन्स आय ४ अर्ब रूपैयाँले मात्र घटेको छ । विश्वभर कोभिड समस्या देखिएपछि रेमिटेन्स आय कम्तीमा १५ प्रतिशतले घट्ने सर्वत्र अनुमान थियो । अहिले आधा प्रतिशतले मात्र रेमिटेन्समा कमी आउनु कल्पनाबाहिरको विषय बनेको छ । कोभिडबीच पनि मुलुकमा ८ खर्ब ७५ अर्ब रूपैयाँ आएको छ । स्वदेशमा बेरोजगारीको संख्या बढे पनि रेमिटेन्सबापत ठूलो मात्रामा रकम भित्रिएकाले भरथेग भएको छ ।

वैदेशिक व्यापार क्षेत्रमा लामो समयदेखिको उच्च व्यापार घाटाले मुलुक समस्यामा पर्दै आएको थियो । लगातारको उच्च व्यापार घाटा भइरहेका बेला विदेशी विनिमय सञ्चितिमा कमी आउने र शोधानान्तर घाटा बढ्ने भएपछि मुलुक समस्यामा पर्छ कि भन्ने अनुमान पनि गरिएको थियो । तर गत वर्ष आयातमा आएको कमी र विदेशी विनिमय सञ्चितिमा आएको सुधारले केही समय यस्तो समस्या आउने सम्भावना टरेको छ । गत वर्ष शोधनान्तर अवस्थामा पनि सुधार आएको छ । अघिल्लो वर्ष ६७ अर्ब रूपैयाँले घाटामा पुगेको शोधनान्तर अवस्था गत वर्ष २ खर्ब ८२ अर्ब रूपैयाँले बचतमा छ ।

अर्कोतर्फ विदेशी विनिमय सञ्चिति एकै वर्षमा ३ खर्ब ६३ अर्ब रूपैयाँले बढेको छ । अघिल्लो असारसम्म मुलुकमा १० खर्ब ३८ अर्ब रूपैयाँ बराबरको विदेशी विनिमय सञ्चिति रहेकोमा गत असारमा बढेर १० खर्ब १ अर्ब पुगेको हो । यसमा आएको उच्च सुधारले सरकारलाई ढुक्क बनाएको छ । यस्तै अघिल्लो वर्ष २ खर्ब ६५ अर्ब रूपैयाँ पुगेको चालु खाता घाटा अहिले ३२ अर्बमा झरेको छ ।

विश्वभर कोभिड समस्या देखिएपछि रेमिटेन्स आय कम्तीमा १५ प्रतिशतले घट्ने सर्वत्र अनुमान थियो । अहिले आधा प्रतिशतले मात्र रेमिटेन्समा कमी आउनु कल्पनाबाहिरको विषय बनेको छ।

कोभिडका कारण अर्थतन्त्रका विभिन्न पाटामा समस्या परेका बेला कम्तीमा बाह्य क्षेत्रमा आएको सुधारले अर्थमन्त्री युवराज खतिवडालाई राहत दिएको छ । विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरसँग गत शुक्रबार भएको भिडियो कन्फरेन्समा अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धिबाहेक नेपालका अन्य समग्र आर्थिक परिसूचक सकारात्मक रहेको जानकारी दिएका थिए ।

कोभिड–१९ ले मुलुकको बाह्य क्षेत्रलाई प्रभावित पार्न नसके पनि आन्तरिक पाटो भने समस्याग्रस्त बनाएको छ । कोभिड कहरमा अहिले मुलुकका कुनै क्षेत्र पूर्ण रूपमा बन्द भएका छन् भने कुनै आंशिक रूपमा खुलेका छन् । खासगरी पर्यटन क्षेत्रअन्तर्गत होटल, एयरलाइन्स, टे«किङलगायत पूर्ण रूपमा बन्द छन् । लामो दूरीका सार्वजनिक यातायात, स्कुल कलेजलगायत पनि बन्द छन् । यीबाहेक अन्य क्षेत्र आंशिक रूपमा खुलेका छन् । यही कारण लाखौंको संख्यामा गुमेको रोजगारीले आगामी दिनमा मुलुकको गरिबी बढ्ने अनुमान गरिएको छ ।

अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार देखिए पनि आन्तरिक क्षेत्र डामाडोल भएका कारण सरकारलाई त्यति सजिलो छैन । सरकार आफैंलाई खर्च बढाउन समस्या छ । सामान्य अवस्थामा पनि सरकारले पुँजीगत खर्च गर्न सकेको देखिँदैन । यो वर्ष कोभिड कहरमा झनै खर्च गर्न सक्ने सम्भावना न्यून छ ।

सरकारले खर्च गर्न नसकेपछि अर्थतन्त्रमा यसको बहुआयामिक (मल्टिपल) असर पर्छ । सरकारले गर्ने खर्च निजी क्षेत्रको लगानीमा भर पर्छ । सरकारले एक रूपैयाँ खर्च गर्दा निजी क्षेत्रले त्यसको दसौं गुणा लगानी गर्छ भन्ने मान्यता छ । खर्च बढाउन नसकेपछि सरकारको राजस्व पनि कम हुन्छ । राजस्वमा आउने कमीले अर्थतन्त्रमा चारैतिर असर पार्छ ।

अर्कोतिर लगातार बढिरहेको बेरोजगारीका कारण आम जनताको क्रयशक्तिमा असर परिसकेको छ । क्रयशक्ति गुम्नु भनेको उत्पादनदेखि वितरण एवं उपभोगसम्मको शृंखला भत्किनु हो ।  

उत्पादित वस्तु बिक्री नहुँदा यसले अर्थतन्त्रमा झनै समस्या निम्त्याउनेछ । एउटा चाउचाउ वा बिस्कुट बिक्री नहुनु भनेको उद्योगी–व्यवसायीको मात्र समस्या होइन, त्यसमा बहुआयामिक असर पुग्छ । यसमा रोजगारी, बैंक कर्जा, सरकारी राजस्वलगायत धेरैको संख्यामा जोडिएको हुन्छ । त्यो सबै भत्कन पुग्छ । यसैले अर्थमन्त्री खतिवडालाई अर्थतन्त्रको आन्तरिक पाटोलाई सुधार गर्नुपर्ने चुनौती छ । यसका लागि सबैभन्दा पहिले बन्द क्षेत्रलाई कसरी सुरक्षित रूपमा खुलाउन सकिन्छ भनेर हेर्नुपर्ने हुन्छ ।

कोभिडका नाममा मुलुकलाई सधैं बन्दाबन्दीमा राख्न निश्चय पनि सम्भव छैन । विदेशी मुलुकहरूले पनि सुरक्षाका उपायहरू अबलम्बन गरी बजार र उद्योग व्यवसाय खुलाएका धेरै उदाहरण छन् ।

प्रकाशित: १० भाद्र २०७७ ००:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App