अर्थतन्त्रको लाइफलाइन मानिएको वैदेशिक रोजगार कोरोना महामारीको चपेटामा परे पनि रेमिटेन्स गत वर्षको तुलनामा ०.५ प्रतिशतले मात्रै घटेको छ । आर्थिक वर्षको चार महिना नेपालबाट रोजगारीका लागि कामदार बिदेसिने क्रम ठप्प भएको र विदेशमा रहेका सयौं नेपालीले रोजगारी गुमाएको अवस्थामा उनीहरूले पठाउने रकममा ठूलो गिरावट आउने अनुमान थियो, तर त्यसो भएन ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको गत आर्थिक वर्षको समष्टिगत आर्थिक प्रतिवेदन अनुसार गत वर्ष नेपाली मुद्रामा रेमिटेन्स (विप्रेषण) आप्रवाह ०.५ प्रतिशत मात्रैले घटेको छ । गत वर्ष विदेशमा बस्ने नेपालीले ८७५ अर्ब तीन करोड रूपैयाँ स्वदेश पठाएका छन् । अमेरिकी डलरमा भने रेमिटेन्स ३.३ प्रतिशतले घटेको छ ।
कोरोना महामारीका कारण गत फागुनको अन्त्यतिर सरकारले विदेश जाने कामदारको लागि आवश्यक पर्ने श्रम स्वीकृति जारी गर्न रोकेको थियो । यसले गर्दा कामको लागि बिदेसिने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा २०.५ प्रतिशतले घटेको छ । यसैबीच, कोरोनाकै कारण खाडीका थुप्रै रोजगारदाताले कामदार कटौती गर्दा सयौंको संख्यामा नेपालीले रोजगारी गुमाएका छन् । यसको असर रेमिटेन्समा देखिने अनुमान थियो ।
विदेशी विनिमय सञ्चिति पनि बढेको राष्ट्र बैंकले जनाएको छ । पोहोर असार मसान्तमा १०३८ अर्ब ९२ करोड रहेको कुल विदेशी विनिमय सञ्चिति ३४.९ प्रतिशतले बढेर २०७७ असार मसान्तमा १४०१ अर्ब ८४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा नौ अर्ब ५० करोड रहेकोमा २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड पुगेको छ । उक्त विदेशी मुद्राले गत आर्थिक वर्षकै अनुपातको वस्तु र सेवा आयात गर्न १२.७ महिनालाई धान्छ ।
विदेशी मुद्रा आर्जनको स्रोतमध्येको एक पर्यटन व्यवसाय र विप्रेषण घटे पनि आयातमा गिरावट र निर्यात वृद्धिले विदेशी मुद्रा सञ्चिति बढाएको हो । विदेशी मुद्रा सञ्चितिमा चाप पर्न नदिन सरकारले मदिरा, सुपारी, कालो मरिच लगायत केही वस्तुको आयातमा प्रतिबन्ध समेत लगाएको छ । गत वर्ष विदेशबाट हुने वस्तु र सेवा आयात अघिल्लो वर्षको तुलनामा १५.६ प्रतिशतले घटेको छ । निर्यात भने ०.६ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष आयात १३.९ प्रतिशतले र निर्यात १९.४ प्रतिशतले बढेको थियो ।
अर्थतन्त्रको कमजोरी र मजबुती दर्शाउने अर्को सूचक शोधनान्तर स्थिति पनि बचतमा छ । गत असार मसान्तमा शोधनान्तर स्थिति २८२ अर्ब ४१ करोडले बचतमा छ । अघिल्लो वर्ष असार मसान्तमा शोधनान्तर स्थिति ६७ अर्ब ४० करोड रूपैयाँले घाटामा रहेको थियो ।
आर्थिक वर्ष ०७६/७७ मा कुल गार्हस्थ बचत कुल गार्हस्थ उत्पादनको १८.१ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । कुल पुँजी निर्माण, कुल स्थिर पुँजी निर्माण र कुल राष्ट्रिय बचतको कुल गार्हस्थ उत्पादनसँगको अनुपात क्रमशः ५०.१५ प्रतिशत, २८.१४ प्रतिशत र ४६.०३ प्रतिशत छ ।
आर्थिक वर्ष ०७६/७७ मा कुल वस्तु निर्यात ०.६ प्रतिशतले वृद्धि भई ९७ अर्ब ७१ करोड पुगेको छ । आयात भने १५.६ प्रतिशतले घटेर ११ खर्ब ९६ अर्ब ८० करोडमा सीमित भएको छ । आयात उच्च दरले घट्दा वस्तु व्यापार घाटा १६.८ प्रतिशतले खुम्चेर १० खर्ब ९९ अर्ब नौ करोडमा सीमित भएको छ ।
गत आर्थिक वर्षको वार्षिक औसत महँगी दर (मुद्रस्फीति) ६.१५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष मुद्रास्फीति ४.६४ प्रतिशत थियो । गत वर्ष खाद्य तथा पेय पदार्थ ८.१६ प्रतिशतले महँगिएको राष्ट्र बैंकको भनाइ छ । गैरखाद्य तथा सेवातर्फको महँगी ४.६१ प्रतिशत छ ।
आर्थिक वर्ष ०७६/७७ मा संघीय सरकारको कुल खर्च १०९४ अर्ब ३४ करोड पुगेको छ । चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था बापतको खर्च क्रमशः ७८६ अर्ब ५३ करोड, १९१ अर्ब ७७ करोड र ११६ अर्ब चार करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।
सो वर्ष बैंकिङ कारोबारमा आधारित राजस्व संकलन (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) ७९३ अर्ब ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन ८७१ अर्ब ७८ करोड थियो ।
प्रकाशित: ९ भाद्र २०७७ ०४:१९ मंगलबार