नेपाल विद्युत् प्राधिकरणले निर्माणाधीन जलविद्युत् आयोजनाबाट चालु आर्थिक वर्षमा १३ सय मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य राखेको छ । कोभिड १९ को कारणले गत आवसम्म अधुरै रहेका निर्माणाधीन आयोजना निर्माण सम्पन्न गरेर उक्त परिमाणमा बिजुली राष्ट्रिय ग्रिडमा जडान गर्ने लक्ष्य राखेको हो ।
निजी जलविद्युत् प्रवद्र्धक र प्राधिकरणको सहायक कम्पनीमार्फत निर्माण गरिएका आयोजनाबाट उक्त परिमाणमा बिजुली उत्पादन हुनेछ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षमा १३ सय मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने बताए । ‘कोभिड १९ को बाबजुद चालु आवमा सबैभन्दा धेरै बिजुली राष्ट्रिय ग्रिडमा जडान हुने अपेक्षा गरेका छौं,’ उनले भने, ‘गत आवमा एक सय ४९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ ।’
प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको जनाएको छ । सो आयोजनाको पहिलो युनिटको ७६ मेगावाट बिजुली मंसिरभित्रै उत्पादन गर्ने लक्ष्य छ ।
त्यसैगरी, रसुवागढी (१११ मेगावाट), मध्यभोटेकोसी (१०२ मेगावाट) र सान्जेन (६० मेगावाट) आयोजना चालु आर्थिक वर्षको अन्त्यसम्ममा सञ्चालनमा ल्याउने गरी काम भइरहेको प्राधिकरणले जनाएको छ । बाँकी बिजुली निजी क्षेत्रका प्रवद्र्धक कम्पनीबाट निर्माणाधीन आयोजनाबाट उत्पादन हुने लक्ष्य राखिएको छ । चार वर्षअघिसम्म मुलुकभर आठ सय एक मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू सञ्चालनमा रहेका थिए । तर अहिले एक हजार दुई सय ५७ मेगावाट पुगेको प्राधिकरणले जनायो । करिब ६ हजार मेगावाटको विद्युत् खरिद सम्झौता भएका निजी कम्पनीहरू तथा प्राधिकरणका सहायक कम्पनीहरूबाट प्रवद्र्धित जलविद्युत् आयोजनामध्ये करिब तीन हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू निर्माणधीन रहेका छन् । जसमध्ये चालु आर्थिक वर्षमा करिब १३ सय मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू सम्पन्न हुने अपेक्षा गरिएको छ ।
प्राधिकरणले अहिले सहायक कम्पनीमार्फत राहुघाट जलविद्युत् आयोजना ४० मेगावाट, तनहुँ जलाशययुक्त जलविद्युत् आयोजना १४० मेगावाट, अप्पर त्रिशूली ३ बी जलविद्युत् आयोजना ३७ मेगावाटको निर्माण गरिरहेको छ । तामोकोसी पाँच (९९ मेगावाट) र दूधकोसी जलाशययुक्त आयोजना (६३५ मेगावाट) को विस्तृत डिजाइन सम्पन्न गरी वित्तीय व्यवस्थापन सम्पन्न गर्ने चरणमा रहेको जनायो । माथिल्लो अरूण (१०६० मेगावाट) को सम्भाव्यता अध्ययन पूरा हुने चरणमा रहेको छ ।
मोदी (६० मेगावाट) र चैनपुर सेती जलविद्युत आयोजना (२१० मेगावाट) को विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न भइसकेको छ । उत्तरगंगा जलाशययुक्त आयोजनाको विस्तृत डिजाइन कार्यको लागि परार्र्शदाता छनोट कार्य भइरहेको छ । प्राधिकरणका अनुसार करिब ६ हजार मेगावाटको विद्युत् खरिद सम्झौता भएका निजी र प्राधिकरणका सहायक कम्पनीबाट प्रवद्र्धित जलविद्युत् आयोजनामध्ये करिब तीन हजार मेगावाट क्षमताका जलविद्युत् आयोजनाहरू निर्माणाधीन रहेका छन् ।
प्रकाशित: ९ भाद्र २०७७ ०२:३४ मंगलबार