८ वैशाख २०८१ शनिबार
अर्थ

लाङटाङ राष्ट्रिय निकुञ्ज सञ्चालित होटलको टेन्डर प्रक्रिया अघि बढ्यो

पर्यटकीय क्षेत्र क्यान्जिन उपत्यका । तस्बिरः हिमनाथ/ नागरिक

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलको टेन्डर प्रक्रिया अघि बढेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २०७४/७५ मा टेन्डर गर्ने तयारी गरेपनि विभिन्न कारणले टेन्डर हुन् सकेको थिएन।  

भुकम्पका कारण व्यवसाय धरासायी भएपछि केही समय टेन्डर रोकिएको थियो। गत आर्थिक वर्ष २०७५/७६ मा टेन्डर हुने तयारी भएपनि विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण टेन्डर नभएको निकुञ्जले जनाएको छ।  

कोभिड–१९ को कारण तत्काल टेन्डर नहुने भएपनि कार्यालयले तयारी सुरु गरिसकेको निकुञ्जका रेन्जर तथा सहायक सूचना अधिकारी रमेश बस्नेतले बताए। ‘अहिले तत्काल टेन्डर नभएपनि आन्तरिक तयारी सुरु भएको छ’, उनले भने, ‘कोरोना भाइरसको महामारी कम भएपछि टेन्डर निकाल्छौं ।’

कोरोना भाइरसको कारण होटल तथा पर्यटन व्यवसायमा ठूलो क्षति पुगेको भन्दै व्यवसायीले राजस्व छुट मागिरहेको बेला निकुञ्जले भने टेन्डर प्रक्रिया अघि बढाएको छ। निकुञ्जका अनुसार आर्थिक वर्ष २०७६/७७ मा निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलले ४ करोड ८६ लाख ७९ हजार ८ सय १६ रुपयाँ राजस्व बुझाउन पर्नेमा ३ करोड ४५ लाख ५७ हजार ९ सय ५ रुपयाँ बुझाएका छन्। अब व्यवसायीले १ करोड ४१ लाख २१ हजार ९ सय ११ रुपैयाँ राजस्व बुझाउन बाँकी छ।  

निकुञ्ज तथा मध्यवर्ती क्षेत्र भित्र ५१ वटा होटल, लज तथा चिया पसल सञ्चालनमा छन्। उनीहरूले ग्रेड अनुसार वार्षिक रूपमा निकुञ्जलाई राजस्व बुझाउन पर्छ। निकुञ्जका अनुसार ‘क’ वर्गका होटलले १ लाख २० हजार, ‘ख’ वर्गकाले ९० हजार, ‘घ’ बर्गकाले ६० हजार र घ बर्गकाले २० हजार रुपयाँ वार्षिक राजस्व तिर्नुपर्छ। चारै वर्गका होटल, लज तथा चिया पसललाई वार्षिक १० प्रतिशत शुल्क थपिँदै जान्छ।  

भूकम्प जानुअघि ५५ वटा होटल सञ्चालनमा थिए। भूकम्पपश्चात निकुञ्जले चारवटा होटलको सम्झौता रद्द गरेको थियो। लाङटाङ रुटमा २२, गोसाइँकुण्ड रुटमा १३ वटा र ठाडेपाटी रुटमा १६ वटा होटल सञ्चालनमा छन्। गएको चैतदेखि पर्यटकीय क्षेत्रमा सञ्चालन भइरहेका होटलमा पर्यटक आएका छैनन्।  

प्रकाशित: ४ भाद्र २०७७ ११:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App