१६ चैत्र २०८० शुक्रबार
अर्थ

स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दैनन् एयरलाइन्स कम्पनी

कारबाही स्वरुप समिट एयरको ‘उद्धार’ उडान रोकियो

नेपालगन्ज बिमानस्थल । तस्बिर : नागरिक

नेपालगन्जबाट कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा हुने ‘उद्धार’ उडानका क्रममा एयरलाइन्स कम्पनीले ‘स्वास्थ्य सुरक्षा मापदण्ड’ पालना गरेका छैनन् । कोरोना भाइरस(कोभिड–१९)को महामारीका कारण सरकारले नियमित विगत चार महिनादेखि नियमित उडान बन्द गर्दै आएको छ । सडक सुबिधा नपुगेका पहाडी जिल्लाका लागि भने उद्धार उडान हुदै आएको छ । उद्धार उडान भर्ने क्रममा सरकारले लागु गरेको उक्त मापदण्डलाई एयरलाइन्स कम्पनीले नेपालगन्जमा पालना नगरेका हुन् ।  

नागरिक उड्ययन प्राधिकरण नेपालगन्ज बिमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुर एयरलाइन्स कम्पनीहरूले अचेल स्वास्थ्य सुरक्षा मापदण्ड न्युनतम रुपले पनि पालना नगरेको बताउँछन् । ‘सुरुका दिनमा सबैले नेपाल सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर उद्धार उडान भर्दै आएका थिए, पछिल्लो एक÷दुई हप्तादेखी एयरलाइन्स कम्पनीले मापदण्ड पालना गर्न अटेरी गरिरहेका छन्,’ प्रमुख ठाकुरले नागरिकसँग भने ‘मैले मापदण्ड पालना गर्न पटक–पटक अनुरोध गरिरहेको छु, तरपनि उनीहरूको अराजकता कायमै छ ।’ एयरलाइन्स कम्पनीले यात्रु काउण्टरमा अत्यधिक रुपले भिडभाड गराउने, टिकट काट्ने कर्मचारीले स्वास्थ्य सामाग्री प्रयोग नगर्ने, यात्रुका लागि बनाइएको मार्किङलाई फ्लो नगर्ने र सुरक्षाकर्मीलाई समेत नर्टेने गरेको उनले सुनाए ।  

नेपालगन्जमा कोरोना संक्रमण बढिरहेका बेला एयरलाइन्स कम्पनीले स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्दा संक्रमणको जोखिम बिमानस्थल क्षेत्रमा पनि बढेको कार्यालयले जनाएको छ । प्राधिकरणले शुक्रबार भने मापदण्ड पालना नगर्ने समिट एयरको एउटा उडान शुक्रबार रोकिदिएको छ । उक्त एयरलाइन्सले शुक्रबार दिउँसो ३ बजेतिर आफ्नो जहाज रारा उडाउने तयारी गरिरहेको थियो, तर मापदण्ड पालना नगरेको भन्दै अन्तिम समयमा उड्ने अनुमति नै पाएन ।  

बिमानस्थल कार्यालयले गरेको अनुगमनका क्रममा उक्त कम्पनीले न्युनतम स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेको पाइएपछि उडान रोकिदिएको प्रमुख ठाकुरले जानकारी दिए । ‘एयरलाइन्स कम्पनीलाई हामीले पटक–पटक मापदण्ड पालाना गर्न सम्झाएका थियौं, तर मापदण्ड पालना गर्न अटेरी गरेपछि समिट एयरको एउटा उडान रोकिदियौं,’ उनले भने । आगामी दिनमा पनि मापदण्ड पालना गर्ने प्रतिवद्धता नजनाए पुनः उडान रोकिदिने ठाकुरले बताए । उनले थपे, ‘अहिलेसम्म मैले कुनैपनि फ्लाइटलाई यसरी रोकेको थिएन, मैलै दश पटक हात जोडेर अनुरोध गरेको छु, किनकी एक जनालाई कोरोना लाग्ने बित्तिकै सबैलाई लाग्छ, संक्रमण फैलियो भने त बिमानस्थललाई नै शिल गर्नुपर्ने अवस्था आउँछ ।’

कार्यालयका अनुसार शुक्रबार दिनभर नेपालगन्ज बिमानस्थलबाट डोल्पा, सिमिकोट, बाजुरा र राराका लागि १० वटा उडान भएका छन् । १० वटा उडानबाट २३ जना यात्रु र ११ हजार ३ सय ८४ किलो कार्गो (सामान) ढुवानी भएको छ । सरकारले कोरोना भाइरस महामारीका कारण गत चैत ११ गतेदेखी लकडाउन गरेपछि देशभरका हवाइ उडान पनि बन्द गराएको थियो । सडक यातायातसँग नजोडिएका जिल्लाका नागरिकको उद्धार गर्नुपर्ने भन्दै सरकारले चैत अन्तिमतिरबाट पहाडी जिल्लामा उद्धार उडान भर्न नेपालगन्ज बिमानस्थललाई निर्देशन दियो । त्यसयता स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने शर्तमा बिमानस्थल कार्यालयले एयरलाइन्स कम्पनीलाई पहाडी जिल्लामा यात्रु र कार्गो उडानको अनुमति दिदै आएको छ ।  

उद्धार उडानमार्फत विदेशबाट फर्केका, काठमाडौं र नेपालगन्जमा अलपत्र परेका यात्रु बोक्ने तथा अत्यावश्यक खाद्य सामाग्री, स्वास्थ्य सामाग्री ढुवानी हुने गरेको बिमानस्थल कार्यालयले जनाएको छ । जहाजबाट यात्रुको उद्धार गर्नका लागि सम्बन्धित यात्रुको कोरोना जाँच रिपोर्ट अनिवार्य हुनुपर्ने, गृहमन्त्रालले पठाउने लिष्टमा यात्रुको नाम हुनुपर्ने, मास्क लगायतका स्वास्थ्य सामाग्री अनिवार्य प्रयोग गर्नुपर्ने लगायत शर्त राखिएको छ ।  

‘पहाडी जिल्लामा सडक पुगेको छैन, सडक नपुगेको त्यस्तो जिल्लाको लागि सरकारले उद्धार उडानको ब्यवस्था ल्याएको हो,’ ठाकुरले भने ‘जो महिनौैदेखी होटलमा बसेको छ, बेखर्ची भएको छ, त्यस्तो ब्यक्तिलाई उद्धार फ्लाइटले राम्रो गरेको छ ।’ कोरोना भाइरस महामारीका कारण बिमानस्थल सामान्य अवस्थामा नरहेको हुँदा यस्तो अवस्थामा एयरलाइन्स कम्पनी, यात्रु लगायत सबैले दुःख, कष्ट पाउनु स्वभाविक रहेको उनी बताउँछन् ।  

प्राधिकरणले शुक्रबारको उडान रोकिदिदाँ यात्रुहरू नेपालगन्जमा अलपत्र परेका छन् । लामो समयको प्रतिक्षापछि घर जान आतुर रहेका यात्रु एक्कासी उडान रोकिदाँ निराश भएका हुन् । उड्न नपाएका यात्रुहरू राँझामा रहेका होटलमा बसेका छन् । मुगुको रारा उड्न तयारी अवस्थामा रहेका यात्रु देवराज मल्लले नेपालगन्ज बिमानस्थल कार्यालयले समिट एयरको जहाजलाई उडान अनुमति नदिदाँ आफु राँझामा अलपत्र परेको दुखेसो पोखे ।  

‘कोरोना संक्रमण नभएको स्वास्थ्य जाँच प्रमाणपत्र र गृहमन्त्रालयले उपलब्ध गराएको पास, सिफारिस पत्र हुँदा हुदैपनि हामी उड्न पाएनौं,’ उनले टेलिफोनमा भने । वैदेशिक रोजगारीबाट फर्केका मल्ल काठमाडौंबाट सिधैं बस चढेर केहीदिन अघि सुर्खेत पुगेका थिए । त्यहाँ उनलाई त्यहाँ कर्णाली प्रदेश सरकारले १४ दिन क्वारिन्टिनमा राखेको थियो । क्वारिन्टिनको बसाई पुरा गरिसकेपछि घर फर्किन उनी नेपालगन्ज बिमानस्थल पुगेका थिए । उद्धार उडान रोकिदाँ शुक्रबार आफुसहित १४ जना यात्रु अलपत्र परेको उनको भनाई छ ।

प्रकाशित: ३० श्रावण २०७७ १७:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App