coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

मेलम्ची अडिट गेटको डिजाइन फेरियो

फाइल तस्बिर।

मेलम्ची खानेपानी आयोजनाले सुरुङको अडिट गेटको डिजाइन परिवर्तन गरेर निर्माण थालेको छ। खानेपानी मन्त्रालयले गठन गरेको प्राविधिक अध्ययन समितिले दिएको सुझाव अनुसार आयोजनाले भित्रबाट मात्रै खुल्ने गरी गेटको डिजाइन तयार गरी निर्माण सुरु गरेको हो।  

गत असार २९ गते मेलम्ची सुरुङमा पानी परीक्षणको क्रममा अम्बाथानको अडिट गेट अकस्मात खुल्दा गम्भीर प्रकृतिको दुर्घटना भएको थियो। सो दुर्घटनामा एकजना इन्जिनियरको ज्यान गएको थियो। एकजना अझै बेपत्ता छन्।

मेलम्ची आयोजनाका कार्यकारी निर्देशक तिरेसप्रसाद खत्रीले मन्त्रालयद्वारा गठित समितिको सुझाव अनुसार पुरानो गेट झिकेर नयाँ राख्ने काम सुरु भइसकेको बताए। यसअघिको कमजोरीलाई मध्यनजर गर्दै अब भित्रबाट मात्रै खोल्ने गरी गेटको डिजाइन तयार पारेर निर्माण गर्न लागेका छौं,’ उनले भने, ‘अहिले पुराना गेटका फ्रेम झिक्ने काम भइरहेको छ।’  

कार्यकारी निर्देशक खत्रीले भित्रबाट मात्रै खुल्ने गरी डिजाइन गरिएको गेटले पानीको प्रेसर सहजै थेग्ने दाबी गरे। ‘यसअघि गेट निर्माणमा केही कमजोरी देखियो। त्यसबाट पाठ सिक्दै अब बलियो र भरपर्दाे खालको गेट निर्माण गर्नेछौंैं,’ उनले भने। मेलम्ची आयोजनाको सुरुङमा मुख्य गरी चारवटा अडिट गेट छन्।  

अम्बाथान, ग्याल्थुम, सिन्धु र सुन्दरीजलमा अडिट गेट छन्। आयोजनाले अहिलेसम्म अम्बाथानको गेटको संरचना झिकिसकेको छ। बाँकीको झिक्दै जाने योजना छ। कार्यकारी निर्देशक खत्रीले ठेकेदार कम्पनीले प्रिसिजन इन्फाटेकले तयार पारेको नयाँ गेटको डिजाइन परामर्शदाता कम्पनी इटिप्साले स्वीकृत गरेर निर्माण प्रक्रिया सुरु गरेको बताए।

नयाँ गेट निर्माणको भार आयोजनालाई नपर्ने
मेलम्ची खानेपानी आयोजनाले गेट पुनः निर्माणको भार आयोजनालाई नपर्ने जनाएको छ। ठेकेदार कम्पनीकै कमजोरीले गेट भत्किएको हो। त्यसैले गेट पुनः निर्माणमा लाग्ने लागत पनि ठेकेदार कम्पनी आफैंले बेहोर्नेछ,’ उनले भने, ‘यसमा आयोजनालाई कुनै प्रकारको आर्थिक भार पर्ने छैन।’ गेट पुनर्निर्माणको लागि ४० देखि ४५ लाख रुपैयाँ लाग्ने आयोजनाले जनाएको छ। कार्यकारी निर्देशक खत्रीले गेट पुनर्निर्माणको काम भदौ मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बताए।  

पुरानो डिजाइनका गेट झिकेर नयाँ हाल्दा ४०–४५ लाख रुपैयाँ लाग्ने र त्यो ठेकेदार कम्पनी आफैंले बेहोर्ने आयोजनाको भनाइ

मन्त्रालयद्वारा गठित समितिले समितिले गेट निर्माणको जिम्मेवारी पाएको भारतीय प्रिसिजन इन्फाटेक प्रालि र डिजाइन तथा सुपरीवेक्षणको जिम्मेवारी पाएको परामर्शदाता कम्पनी इटिप्साको गलत डिजाइनकै कारणले गम्भीर प्रकृतिको दुर्घटना भएको निष्कर्ष निकालेको  थियो। समिति संयोजक सहसचिव रमाकान्त दुवाडीले निर्माण कम्पनी, परामर्शदाता कम्पनी र आयोजना तीनवटै निकायको प्राविधिक त्रुटिले गम्भीर प्रकृतिको दुर्घटना भएको प्रतिवेदन मन्त्रालयमा बुझाएको थियो। ‘सुरुङको अडिट गेट भित्र खुल्ने गरी बनाइनुपथ्र्याे । त्यसो गरेको भए जतिसुकै दबाब भए पनि बाहिर खुल्दैनथ्यो,’ समितिका संयोजक दुवाडीले भने, ‘सुरुङको अडिट गेट बाहिर खुल्ने गरी बनाउनु नै गम्भीर प्राविधिक त्रुटि हो । जसले गर्दा गम्भीर प्रकृतिको दुर्घटना हुन पुग्यो ।’  

कार्यकारी निर्देशक खत्रीले डिजाइनमा कमजोरी गरेको ठेकेदार कम्पनी तथा परामर्शदातालाई अहिलेसम्म कुनै कारवाही नगरेको स्पष्ट पारे।  

पानी आउने मिति अनिश्चित
सरकारले चालु आर्थिक आर्थिक वर्षको साउनभित्रै उपत्यकावासीलाई मेलम्चीको पानी वितरण गर्ने आश्वासन बाँडेको थियो। अर्थमन्त्री युवराज खतिवडाले चालु आवको बजेटमा मेलम्ची खानेपानी आयोजनाको प्राविधिक र अन्य पक्षलाई केही वास्तै नगरी आयोजनाको आधारभूत निर्माण कार्य गत आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गरेर साउनभित्रै उपत्यकामा पानी वितरण गर्ने घोषणा गरेका थिए।  

अर्थमन्त्रीले बजेटमा घोषणा गरेअनुसार  साउनभित्रै मेलम्चीको पानी उपत्यकाबासीको धारोमा आउनुपर्ने हुन्थ्यो। तर असार २९ गते आयोजनाको सुरुङ परीक्षणको क्रममा गेट भत्किएसँगै उक्त भाका फेरि सरेको छ। सरकारले मेलम्ची पानीका विषयमा आश्वासन वा बाचा गरेको यो पहिलोपटक भने होइन।

गत आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा पनि २०७७ असार मसान्तभित्रैै मेलम्चीको पानी उपत्यकाबासीलाई खुवाउने घोषणा गरिएको थियो। जुन पूरा हुन सकेन। खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले गत फागुन १ गते मेलम्ची आयोजनाको श्वेतपत्र जारी गर्दै उपत्यकामा असार मसान्तभित्रै पानी आउने घोषणा गरेकी थिइन्। यो वाचा झुटो साबित भइसकेको छ। मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक भदौ मसान्तभित्र नयाँ अडिट गेट बनाइसकेपछि फेरि सुरुङमा पानी खसालेर परीक्षण थाल्ने बताउँछन्।  

प्रकाशित: ३० श्रावण २०७७ ०३:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App