१६ चैत्र २०८० शुक्रबार
अर्थ

लक्ष्यको ५७ प्रतिशत संकलन

कोरोनाले राजस्व प्रभावित

भन्सार परिसरमापार्किङ गरिएका मालबाहक सवारी । फाइलतस्बिर : नागरिक

कोभिड १९ महामारी र लकडाउनबाट विराटनगर भन्सार कार्यालयको राजस्व प्रभावित भएको छ । आर्थिक वर्ष ०७६/७७ मा निर्धारित लक्ष्यको ५७.१३ प्रतिशतमात्रै राजस्व संकलन भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।  

कार्यालयकी सूचना अधिकारी सुनिता पौडेलका अनुसार आव ०७६/७७ मा २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार रूपैयाँमात्रै राजस्व संकलन  

भएको छ । कार्यालयको लक्ष्य ४९ अर्ब ६४ करोड ६० लाख रूपैया“ थियो । कोरोनाका कारण आयात–निर्यात प्रभावित भएपछि भन्सारको राजस्व संकलनमा प्रभाव परेको हो ।  

कार्यालयले भन्सार महसुलबाट २१ अर्ब २० करोड १० लाख रूपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा १२ अर्ब चार करोड २९ लाख रूपैयाँमात्रै संकलन भएको छ । त्यस्तै, मूल्य अभिवृद्धि करतर्फ २५ अर्ब ९३ करोड ५६ लाख २२ हजार रूपैयाँ संकलन गर्ने लक्ष्य राखेकामा १४ अर्ब ६७ करोड ७४ लाख रूपैयाँमात्रै संकलन भएको छ । अन्तःशुल्कतर्फ दुई अर्ब ५० करोड ९४ लाख २४ हजारको लक्ष्य राखिएकामा एक अर्ब ५५ करोड ३० लाख ६७ हजार रूपैयाँ असुल गरेको अधिकृत पौडेलले जानकारी दिइन् ।  

उनका अनुसार गत वर्ष चैतबाट सुरु भएको लकडाउन र कोरोना महामारीका कारण प्रभावित भएको भन्सार क्षेत्रले २०७७ वैशाखमा एक अर्ब ६ करोड ३२ लाख रूपैयाँमात्र राजस्व संकलन गरेको छ । अन्य महिनाको तुलानामा वैशाखमा २६.७० प्रतिशत भन्सार राजस्व संकलन भएको छ । जुन अन्य महिनाको तुलनामा सर्वाधिक हो । वैशाखमा राजस्व लक्ष्य तीन अर्ब ९८ करोड १६ लाख थियो । त्यस्तै, गत वर्ष फागुनमा सर्वाधिक ७६.८४ प्रतिशत भन्सार राजस्व संकलन भएको कार्यालयले जनाएको छ । चैतमा ३७.७२, जेठमा ५०.६३ प्रतिशत र असारमा ५६.५६ प्रतिशत संकलन भएको थियो ।  

गत आर्थिक वर्षको सुरुदेखि नै विराटनगर भन्सार कार्यालयको राजस्व संकलनमा असर परेको थियो । लकडाउन नहुँदा पनि कार्यालयले फागुनबाहेक अन्य महिनामा लक्ष्यको ६० प्रतिशत हाराहारीमै राजस्व संकलन गरेको थियो । गत आर्थिक वर्षको सुरुदेखि नै आयात घटेका कारण राजस्व संकलनमा दबाब परेकामा कोरोना महामारीले थप असर पारेपछि विगतको निकै कम संकलन भएको हो । 

प्रकाशित: २९ श्रावण २०७७ ०५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App