coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अवैध रुपमा जलयात्रा सञ्चालन गर्दा व्यवसायी मारमा

नेपालका विभिन्न खोला तथा नदीमा अवैध रुपमा जलयात्रा सञ्चालन गर्दा व्यवसायी मारमा परेका छन्। नेपालका नदीहरुमा साहसिक जलयात्राको प्रचुर सम्भावना भए पनि विभिन्न व्यक्ति र स्थानीय तहले आफूखुशी जलयात्रा सञ्चालन गर्दा दर्ता भएर सञ्चालित व्यवसायीहरु मारमा परेका हुन्।  

जलयात्रा नियमावली २०६३ को परिच्छेद २ को दफा ३ मा व्यवस्था भएअनुसार जलयात्रा व्यवसाय सञ्चालन गर्न अनिवार्य रुपमा पर्यटन विभागबाट इजाजतपत्र लिनुपर्ने हुन्छ। मुलुक सङ्घीयतामा गएसँगै हरेक स्थानीय तहले आफू नजिक रहेका नदीमा जलयात्रा सञ्चालन गर्दै आएका छन्।  

नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) का महासचिव शिशिर खनाल अवैध रुपमा दर्ता नगरी आफूखुशी जलयात्रा व्यवसाय सञ्चालन गर्दा पर्यटकहरु असुरक्षित हुने बताउँछन्।  अवैध रुपमा जलयात्रा सञ्चालन गर्ने व्यक्ति वा संस्थालाई सरकारले कारबाही गर्नु पर्ने उनको भनाइ छ। ‘हिमनदीको प्रकृतिअनुसार बाहिरबाट हेर्दा साधारण बहाव रहेको स्थानमा पनि जोखिमयुक्त रहने भएकाले अनिवार्य रुपमा इजाजत प्राप्त दक्ष रिभर गाइडको साथमा मात्र जलयात्रा गर्न अनुरोध गर्दछु’, महासचिव खनाल भन्छन्।  

स्थानीय तहले जलयात्रा सञ्चालन गर्दा तालीम प्राप्त गाइड नहुँदा जुनसुकै बेला जस्तोसुकै दुर्घटना हुनसक्ने भएकाले समयमै सचेत रहनुपर्ने खनाल बताउँछन्।  नाराले अवैध रुपमा सञ्चालनमा रहेका जलयात्रा व्यवसायलाई तत्काल नियन्त्रणमा लिई दण्ड जरिवाना गर्नुपर्ने बताएको छ। सरकारले नेपालका १६ नदीलाई जलयात्रा व्यवसायका लागि अनुमति दिएको छ। जसमध्ये भोटेकोशी, सुनकोशी र कर्णाली विश्वप्रसिद्ध नदीहरु हुन्। उक्त नदीमा विदेशी पर्यटक जलयात्राका लागि बढी आउने गर्दछन्।  

यस्तै, त्रिशूली, सेती र मस्र्याङ्दीलगायत नदीमा पनि जलयात्राका लागि पर्यटक आउने गरेका छन्। नेपालमा हाल ८५ कम्पनीले मात्र पर्यटन विभागमा सम्बन्धन लिएर जलयात्रा व्यवसाय सञ्चालन गर्दै आइरहेका छन्। जलयात्रा व्यवसाय सञ्चालनका लागि दुई सेट डुङ्गा, दुईजना रिभर गाइड र एकजना कायक अनिवार्य रुपमा राख्नुपर्छ। डुङ्गाको सेट, गाइड र कायकका लागि एउटा व्यवसायले झण्डै रु ५० लाख खर्च गर्नुपर्ने हुन्छ। यसका अतिरिक्त उक्त व्यवसाय सञ्चालका लागि पर्यटन विभागमा रु ५० हजार धरौती राख्नुपर्ने हुन्छ।  

नाराले जलयात्रामार्फत आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धनका लागि हरेक वर्ष ‘हिमालयन ह्वाइटवाटर च्यालेन्ज’ प्रतियोगिता गराउँदै आएको छ। सन् २००२ बाट कायक र ¥याफ्टिङ प्रतियोगिता गराउँदै आएकामा पछिल्लो समय विदेशी खेलाडीलाई समेत आमन्त्रण गरेर प्रतियोगिता सञ्चालन गर्दै आएको नाराका अध्यक्ष गङ्गाप्रसाद नेपाल बताउँछन्।  

नेपालमा सन् १९७२ देखि जलयात्राको शुरुआत भएको हो। शुरुमा बेलायती नागरिकले जलयात्रा शुरु गरे पनि व्यावसायिक रुपमा भने सन् १९७५ देखि शुरु भएको थियो। नेपालका नदीहरुमा एकपछि अर्को जलविद्युत् कम्पनी निर्माण गर्दा र अवैध रुपमा बालुवा निकाल्दा जलयात्रा व्यवसाय धरापमा परेको व्यवसायीहरु बताउँछन्। यस्तै, नदीको किनारमा पोशाक फेर्ने ठाउँ र शौचालयको अभाव हुँदा जलयात्रा व्यवसायलाई समस्या थपिएको छ। सरकारले जलयात्रा क्षेत्रलाई विशेष प्राथमिकता दिएर विदेशी पर्यटक भित्र्याउन लाग्नुपर्ने व्यवसायीको भनाइ छ।  

प्रकाशित: २८ श्रावण २०७७ १३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App