coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

अन्योलग्रस्त बन्दै पर्यटन क्षेत्र

कोरोनाको बढ्दो संक्रमण

कोरोना भाइरस संक्रमण घट्दो क्रममा रहेको भन्दै सरकारले भदौ १ देखि अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान सहित लामो दूरीका सवारी सञ्चालन गर्ने तयारी गरेको थियो । तर, यो अवधिमा संक्रमण झनै बढ्न थालेको भन्दै भदौ १ गतेदेखिको उडान र लामो दूरीको सवारी सञ्चालन सरकारले रोकेको छ । थप केही दिन हवाई र स्थल यातायात सञ्चालन हुन नदिने सरकारी निर्णयले व्यापारको पर्र्खाइमा रहेका व्यवसायी भने अन्योलमा परेका छन् ।  

अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडान सहित लामो दूरीको सवारी सञ्चालन होला र व्यवसाय सुचारु गरौंला भन्ने तरखरमा रहेका व्यवसायी अब भने के र कसो गर्ने भन्ने दोधारमा छन् । राजधानी काठमाडौंसहित मुख्य सहरमा संक्रमण तीव्र बढ्दा पछाडि धकेलिएको उडान र लामो दूरीको सवारी सञ्चालन झनै अनिश्चित बनेको उनीहरूको भनाइ छ । व्यवसाय सञ्चालन गर्न  नपाउँदाको नोक्सानीले थिलथिलो भएको उनीहरूको भनाइ छ ।  

‘भदौ १ देखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान सहित लामो दूरीको यातायात सञ्चालन हुने भनेपछि भदौ १५ देखि होटल खोल्ने योजना बनाएका थियौं,’ लेकसाइडस्थित होटल एसियाका सञ्चालक धर्मराज पन्थी भन्छन्, ‘तर भदौ १ गतेदेखिका उडान र लामो दूरीको सवारी सञ्चालन रोकियो । यसले झनै अन्योल बनायो ।’ अहिलेकै संक्रमण बढ्दै जाँदा भदौभर उडान र लामो दूरीको सवारी सञ्चालन हुने अवस्था नरहेको उनले बताए ।  

‘अन्तर्राष्ट्रिय र आन्तरिक उडानसहित लामो दूरीको सवारी सञ्चालन भएको १५ दिनपछि होटल खोल्ने योजना हो । त्यही अनुसार भदौ १५ देखि होटल खोल्ने तयारी थियो,’ उनले भने, ‘तर, योजना अनुसार होटल खोल्ने अवस्था रहेन । जुन दिन हवाई र सवारी सञ्चालन हुन्छन्, त्यसको १५ दिनपछि बल्ल होटल सञ्चालन गर्ने लक्ष्य राखेका छौं । तर, अब भने अझै अनिश्चित रह्यो ।’ अन्तर्राष्ट्रिय र आन्तरिक हवाई उडानसहित लामो दूरीको सवारी सञ्चालन नभएसम्म पाहुना आउजाउ हुने अवस्था नरहेको उनले बताए । ‘राजधानी काठमाडौंमा संक्रमण झनै बढ्दो छ । त्यसैले काठमाडौं सहज नहुँदासम्म पाहुना आउने अवस्था रहन्न,’ उनले भने ।

भदौ १ देखि उडान र लामो दूरीको सवारी सञ्चालन तयारीले यसअघि केही व्यवसायीले होटल खोल्ने योजना पनि बनाइसकेका थिए । तर, अब ती व्यवसायीले योजना अनिश्चितकालसम्म रोकेका छन् । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन पनि अहिले संक्रमण बढ्दै जाँदा व्यवसायी नै अन्योलमा परेको बताए ।  

‘यो बेला सहज होला भनेको त संक्रमणले झनै डरलाग्दो अवस्था ल्याउन थालेको छ,’ तुलाचन भन्छन्, ‘यसले व्यवसायीमा पनि अन्योल सिर्जना भएको छ ।’ साउन १५ देखि होटल र रेस्टुरेन्ट खोल्न सरकारले अनुमति दिँदा व्यवसायीमा केही उत्साह थपिएको भए पनि अहिले त्यो उत्साह बिस्तारै कमजोर बन्दै गएको उनले बताए ।

होटल खोल्ने र पर्यटक बस चल्ने टुंगो अझै भएन

‘सुरुमा (साउन १५ तिर) अलिअलि उत्साह थियो, तर संक्रमण बढ्दै जाँदा झनै व्यवसाय खुलाउने आँट छैन,’ उनले भने, ‘व्यवसाय सञ्चालन गरेकालाई पनि अन्योल भएको छ ।’ संक्रमणको अवस्थालाई पर्ख र हेर गरिरहेका व्यवसायीको योजना झनै पछाडि सरेको उनले बताए । ‘चाँडबाँड पनि आउन थालेको छ । यो बेला संक्रमण झनै डरलाग्दो रूपमा बढिरहेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा व्यवसाय सञ्चालन गर्ने आँट व्यवसायीमा छैन ।’

पोखरामा मात्र नभई आसपासका क्षेत्रमा जान नपाउँदा पनि पाहुना आगमन हुने सम्भावना नरहेको उनको भनाइ छ । ‘घुमघामका सबै गतिविधि बन्द हुँदा होटलमा मात्र बस्न पाहुना आउँदैनन् । अन्य पर्यटकीय गतिविधि बन्द हुँदा होटलमा थुनिन कोही आउँदैनन्,’ उनले भने, ‘यो बेला त खोलेका होटल पनि मारमा छन् ।’ कोरोना भाइरस संक्रमणले काठमाडौं केन्द्र बनिरहँदा अब झनै त्रास छाएको उनले बताए । ‘तराईबाट पाहुना बोलाउने अवस्था अझै रहेन,’ उनले भने, ‘अलि बढी पाहुना आउने ठाउँ काठमाडौं पनि बढी जोखिममा हुँदा अन्योल थपियो ।’

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकी अध्यक्ष सञ्जयकान्त सिग्देल पनि भदौ १ देखि पोखरा–काठमाडौं रुटमा पर्यटक बस सञ्चालनका लागि योजना बनाइरहेको बेला एकाएक लामो दूरीको सवारी सञ्चालन गर्ने दिन पछाडि धकेल्दा अन्योलग्रस्त बनेको बताए । उनका अनुसार भदौ १ देखि पर्यटक बस सञ्चालन गर्ने योजनासहित सवारी चालक, सहयोगी कर्मचारी लगायतलाई बोलाएर प्रशिक्षण दिन थालिएको छ । नाट्टामा आवद्ध एक सय २० कर्मचारीलाई तीन सिफ्टमा बाँडेर मंगलरबादेखि प्रशिक्षण दिन थालिएको छ । उनीहरूलाई दुई दिनसम्म प्रशिक्षण दिइनेछ ।  

नाट्टाले ती कर्मचारीलाई प्रशिक्षणमा सुरक्षा प्रोटोकल, पर्यटन सेवा र फोहर व्यवस्थापनबारे जानकारी दिएको छ । त्यसबाहेक लामो समय रोकिएका गाडी मर्मतसम्भार गर्ने क्रम पनि चलिसकेको अध्यक्ष सिग्देलले बताए । ‘लामो समय रोकिएका गाडी मर्मतसम्भार थाल्यौं, घर पुगेका कर्मचारीलाई बोलाएर प्रशिक्षण दियौं,’ उनले भने, ‘तर, अब तोकिएको दिनमा गाडी चलाउन नपाएपछि ती कर्मचारीलाई के र कसो गर्ने भन्ने अन्योल भएको छ ।’

‘अहिले नियमित रूपमा गाडी नचल्दा सर्वसाधारणले महंगोमा साना गाडी रिजर्भ गरेर हिँडडुल गरेका छन् । सबै मापदण्ड पूरा गरेर गाडी चल्न दिने हो भने ती यात्रुलाई केही राहत मिल्थ्यो,’ उनले भने, ‘पोखरा–काठमाडौं रुटमा दिनमा तीन–चारवटा बस चलाउने योजना हो । तर, सरकारले त्यसमा सहजीकरण गर्न चाहेन ।’ उनका अनुसार ३५ सिटका ती पर्यटक बसमा १७ यात्रु बोकेर सञ्चालन गर्ने योजना थियो । भदौ १ को समय पछाडि धकेलिँदा अझै अन्योल भएको उनले बताए ।  

व्यवसायीलाई यो बेला सबैभन्दा अप्ठेरो काममा फिर्ता बोलाएका कर्मचारीलाई काम दिन नपाउँदा भएको छ । ‘घरमा बसेका कामदारलाई फिर्ता बोलाएर प्रशिक्षण दियौं । अब गाडी चलाउन पाइँदैन,’ उनले भने, ‘बोलाएका कर्मचारीलाई कहाँ पठाउने भन्ने अन्योल छ । कामका लागि बोलाएका कर्मचारीलाई अब घर पठाउने अवस्था रहेन । उनीहरूलाई कामविहीन अवस्थामा राख्नुपर्दा दोहोरो मार पर्ने छ ।’ 

प्रकाशित: २८ श्रावण २०७७ ०४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App