८ वैशाख २०८१ शनिबार
अर्थ

व्यावसायिक उडान भदौ १६ बाट

फाइल तस्बिर।

गत चैत ९ देखि बन्द रहेको व्यावसायिक हवाई उडान भदौ १६ देखि सञ्चालनमा आउने भएको छ । असार २९ को मन्त्रिपरिषद्ले भदौ १ बाट आन्तरिक र बाह्य उडान खोल्ने निर्णय गरेकोमा सोमबारको मन्त्रिपरिषद् बैठकले अर्को निर्णय गर्दै उडान खुल्ने मिति पछि सारेको हो ।  

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा आइतबार बसेको कोभिड–१९ निर्देशक समितिको बैठकले राजधानीसहित देशभर महामारीको संक्रमण बढ्दै गएको निष्कर्षसहित हवाई उडान खोल्ने तिथि भदौ १५ सम्म सार्न सरकारलाई सुझाव दिएको थियो ।  

सोही अनुसार सोमबारको मन्त्रिपरिषद्ले आन्तरिक तथा बाह्य हवाई उडान साउन १५ सम्म बन्द राख्ने निर्णय गरेको हो ।

सरकारले कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न यो कदम चालेको बताएको छ । असार २९ को मन्त्रिपरिषद्ले साउन ७ बाट लकडाउन हटाउने, साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने र भदौ १ बाट व्यावसायिक उडान र लामो दुरीको यातायात खोल्ने निर्णय गरेको थियो ।

सोही अनुुसार केही पाँचतारे सहित देशभरका होटल, रेस्टुुरेन्ट र रिसोर्ट खुलेका थिए । सोमबारकै मन्त्रिपरिषद्ले होटल रेस्टुरेन्टमा बसेर खान नपाइने तर किनेर लैजान पाइने निर्णय गरेको सरकारका प्रवक्ताको समेत जिम्मेवारीमा रहेका अर्थमन्त्री युवराज खतिवडाले जानकारी दिए ।  

मन्त्रिपरिषद्ले विदेशस्थित नेपाली कूटनीतिक नियोगको सिफारिसमा तीन सय र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च बेहोर्ने गरी उद्धार गरिने दुई सय गरी पाँच सय नेपाली विदेशबाट ओसार्न उडान अनुमति दिने निर्णय पनि गरेको छ । यस्ता उडानबाट आउने व्यक्तिलाई काठमाडौं उपत्यकामा तोकिएका क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाई संक्रमणमुक्त भएको यकिन भएपछि मात्र गन्तव्य पठाउने सरकारी योजना छ ।  

यसअघि सरकारले भदौ १ देखि हवाई सेवा सञ्चालनमा ल्याउने निर्णय गरेपछि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) सँग उडान अनुमतिसमेत मागिसकेका थिए । स्वदेशी सबै र १३ वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले उडान अनुमति मागेका छन् । आन्तरिकतर्फका विमान कम्पनीले त टिकट बुकिङसमेत खोलिसकेका थिए ।

अध्यागमन विभागको अत्यावश्यक बाहेकका सेवा बन्द
कोरोना महामारीलाई मध्यनजर गर्दै अध्यागमन विभागले तत्कालका लागि भिसा सेवा स्थगित गरेको छ। विभागले सोमबारबाट अर्को सूचना जारी नभएसम्मका लागि सेवा स्थगित गरिएको जनाएको छ ।

विभागका अनुसार ५३ जना कर्मचारीको नमुना परीक्षण गर्दा एकजनालाई कोरोना संक्रमण पुष्टि भएपछि हाललाई अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो ।

विभाग स्रोतका अनुसार अर्काे सूचना नआउन्जेल पर्यटक तथा गैरपर्यटक, पारिवारिक, व्यापारिक, एनआरएन, पत्रकार र वैवाहिक भिसालगायत सेवा बन्द गरिएको छ ।

कोरोना पोजेटिभ देखिएका कर्मचारीलाई आइसोलेसनमा पठाइएको र उनीसँग सम्पर्कमा आएका अन्य कर्मचारीको पुनः परीक्षण गर्नुपर्ने भएकाले उक्त रिपोर्ट नआउन्जेल विभागबाट दिइने सेवा बन्द गरिएको जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको काम भने नियमित सञ्चालनमा रहने जनाइएको छ । 

प्रकाशित: २८ श्रावण २०७७ ०३:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App