८ वैशाख २०८१ शनिबार
अर्थ

पम्पिङ आयोजनाको म्याद गुज्रियो, काम अधुरै

खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाका लागि च्यास्मीटारमा बनाइएको ट्यांकी । तस्बिर: दमन/नागरिक

निर्माण कम्पनीको ढिलासुस्तीका कारण म्याद गुज्रिदा पनि खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा दुधकोसीको पानी निकाल्नका लागि सुरु गरिएको हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको काम सम्पन्न हुन सकेको छैन ।  

एउटा मेनलाईन र दुई वटा वितरणलाईनको ठेक्का लिएको निर्माण कम्पनीको चरम ढिलासुस्तीका कारण म्याद नाघ्दा समेत करोडौंको बृहत पम्पिङ खानेपानी आयोजनाको काम अधुरै रहन पुगेको हो । सुनकोसीको पानी गाउँमा निकाल्नका लागि सुरु गरिएको आयोजनाको काममा ढिलासुस्ती हुँदा स्थानीय निराश छन् । सुक्खाग्रस्त क्षेत्र घोषित हलेसी तुवाचुङ नगरपालिकाको ७ वडाका खानेपानीको विकराल समस्या हल गर्नका लागि ९६ करोडभन्दा बढिको बृहत पम्पिङ खानेपानी आयोजनाको काम सुरु गरिएको हो ।  

दुधकोसीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा निकाल्ने मूख्यलाईनको ठेक्का लिएको ठेकेदार कम्पनी दिवा–महादेव खिम्ती जेभीको भौतिक प्रगती हालसम्म करिब ७५ प्रतिशत पुरा भएको संघीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हिराकाजी महर्जनले बताए । भ्याट वाहेक ३१ करोड ७५ लाख ९६ हजार खर्चमा २०७६ साल पुस १७ गतेसम्ममा सम्पन्न गर्नेगरी दिवा–महादेव खिम्तीले २०७४ साल असार २१ गते कामको ठेक्का सम्झौता गरेको थियो । २०७६ साल पुस १७ गते नै म्याद गुजारेको दिवा–महादेव खिम्तीको म्याद आगामी मंसिरसम्म थप भएको प्रमुख महर्जनले बताए ।  

दुधकोसी किनारको महादेवबेँसीबाट काभ्रेडाँडा र लुलिमाबाट भुम्जुडाँडामा पानी निकाल्नका लागि दिवा–महादेव खिम्तीले नदी किनारमा सम्पवेल, महादेवबेँसीदेखि काभ्रेडाँडा र लुलिमादेखि भुम्जुडाँडाबीचमा ६÷६ वटा लिफ्ट ट्यांकी निर्माण, ६÷६ किलोमिटर पाईपलाईन, विद्युतीकरण, ट्रान्सफर्मर जडान लगायतका काम गर्नुपर्ने सम्झौता छ । यस्तै, भुम्जुडाँडा र काभ्रेडाँडामा ३/३ लाख लिटरको चार वटा रिजर्भ ट्यांकी निर्माण गर्नुपर्ने छ ।  

आयोजनाको काममा ढिलाइ भइरहँदा दिवा–महादेव खिम्तीका डाइरेक्टर रवि सिं निर्माणस्थलमा देखा परेका छैनन् । दिवा–महादेव खिम्तीले जिम्मा लिएको मूख्या कामको प्रगती नहुँदा अन्य ठेकेदारलाई पनि ढिलासुस्तीमा वाहना गर्न सहज भएको स्थानीय बताउँछन् । दिवा–महादेव खिम्तीले अपेक्षित र सन्तोषजनक प्रगती देखाउन नसकेको भन्दै हलेसी तुवाचुङ नगरपालिकाका नेताको टोलीले २०७६ साल भदौ चौथो हप्ता खानेपानी मन्त्री बिणा मगरको ध्यानाकर्षण गराएका थिए ।  

वितरण लाईनको म्याद सकिँदा आधा प्रगति  

हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी आयोजनाको वितरणलाईनतर्फको काम गरिरहेको लामा कन्ट्रक्सन प्रालि र रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीको कामको प्रगति पनि सन्तोषजनक छैन । काभ्रेडाँडामा निकालिएको पानीलाई २०७७ साल असार ३० गतेसम्ममा महादेवस्थान, दुर्छिम र मंगलटारमा वितरण गरिसक्ने गरी २०७५ साल असार ३१ गते सम्झौता गरेको रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीले हालसम्म ५० प्रतिशत मात्र भौतिक प्रगति देखाउन सकेको संघीय खानेपानी ढल व्यवस्थापन आयोजनाले जनाएको छ । रमन सगरमाथा–सगरमाथा घिमिरेले २६ करोड ७५ लाख ५१ हजारमा वितरणलाईनको काम ठेक्का लिएको हो । रमन सगरमाथा–सगरमाथा घिमिरेले ७३ वटा आरभिटि ट्यांकी, १७७ किलोमिटर पाईपलाईन लगायतको कामको जिम्मा लिएको छ ।  

यस्तै, भुम्जुडाँडामा निकालिएको पानीलाई बाहुनीडाँडा, डिकुवा, च्यास्मीटार र बडहरेमा वितरणका लागि ठेक्का लिएको लामा कन्ट्रक्सनले म्याद गुज्रेको महिना बित्दा करिब ६० प्रतिशत भौतिक प्रगति देखाएको छ । १२२ वटा ट्यांकी, ३०० किलोमिटर पाईपलाईन लगायतको काम लामा कन्ट्रक्सनको जिम्मामा छ । उसले ३७ करोड ९३ लाख ५७ हजारमा २०७७ साल असार ३० गतेसम्ममा सक्नेगरी २०७५ साल असार ३१ गते कामको सम्झौता गरेको थियो । रमन सगरमाथा–सगरमाथा घिमिरे जेभीका डाइरेक्टर शम्भु घिमिरे र लामा कन्ट्रक्सनका पिताम्बर बडुले केही प्रतिनिधिको भरमा आयोजनाको काम छाड्दा ढिलासुस्ती भएको नेकपाका नगर कमिटि अध्यक्ष सुरेन्द्र राईले बताए । 

प्रगति देखाउन नसकेपछि ठेकेदार कम्पनीले आफ्नो प्रतिनिधिलाई पटक–पटक परिवर्तन गर्ने गरेको पाइएको छ । २०७६ साल मंसिर १६ गते गरिएको सर्वदलीय अनुगमनकाक्रममा पम्पिङ खानेपानी आयोजनाको काममा चरम ढिलासुस्ती देखिएपछि ठेकेदारलाई कारबाही गर्नका लागि भोलीपल्टै खानेपानी मन्त्रालय समक्ष सिफारिस गरिएको हलेसी क्षेत्र खोटाङ (बृहत पम्पिङ) खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सचिव हस्तबहादुर राईले बताए । ढिलासुस्तीमाथि लकडाउनले समेत योजनाको काममा अशर पुर्‍याएको थियो ।  

दुधकोसीबाट पानी लिफ्ट गरेर नगरपालिकाका ७ वडाका कम्तीमा ३ हजार ७५६ घरधुरीलाई बितरण गर्ने लक्ष्य राखिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । सुक्खाग्रस्त क्षेत्रका ७ वडामा नदीको पानी तान्न वा वर्षाको पानी संकलन गर्नुको बिकल्प छैन । पानीको श्रोत नभएको तथा जनसंख्य बृद्धिका कारण भएका श्रोतले अपुग हुन थालेकोले हलेसी क्षेत्रलाई जिल्ला दैबीप्रकोप उद्धार समितिले २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो । ‘केही समयपछि ठेकेदारका प्रतिनिधिलाई बोलाएर वर्क सेड्यूल बनाउने तयारी गरेका छौँ,’ मेयर राईले भने, ‘त्यसपछि बनेको वर्क सेड्यूल अनुशार काम भए÷नभएको अनुगमन गरिरहने छौँ ।’

प्रकाशित: २७ श्रावण २०७७ १३:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App