८ वैशाख २०८१ शनिबार
अर्थ

असारे कर्मकाण्डीः नबन्दै चर्कियो कल्भर्ट

निर्माण सम्पन्न नहुँदै चर्किएको कल्भर्ट । तस्बिरः पुष्पराज/नागरिक

गौरीगंगा नगरपालिका वडा नम्बर ७ को सुसुरे नालामा बनाइएको कल्भर्ट नबन्दै पिल्लर चर्किएका छन् । गौरीगंगा–७, कम्दास्थित सुसुरे नालामा कल्भर्ट निर्माण नसक्दै चारवटै पिल्लर चर्किएका हुन् ।

पानी भरिएको नालामै ढुंगा हालेर स्टमेटअनुसार काम नगरेका कारण कल्भर्ट चर्किएको स्थानीय बताउँछन् । ‘नालामा पानी नसुकाएरै हिलोमै ढुंगा भरेर जग हालेका कारण कल्भर्ट चर्किएको हो,’ स्थानीय धना धामीले भनिन्,‘कल्भर्टको बीच भागमा पिसिसी ढलान भएको ठाउँमा चर्किएको हो ।’ कल्भर्ट चर्किनुका साथै धसिएको बताउँदै उनले भनिन्,‘ कल्भर्ट तलको ढलान माथिबाट बग्नुपर्ने पानी ढलानमुनिबाट बग्ने भएकाले तलको माटो बगाएर कल्भर्टको पर्खाल र बीच भागको पिसिसी ढलान पनि चर्किएको हो ।’

कल्भर्ट निर्माणका लागि गत वैशाखमा माटो परीक्षण भएपनि सो ठाउँमा माटो खन्दा  पानी निस्किएकाले समस्या हुने भन्दै काम गर्न नचाहेकोले दुई हप्ता काम रोकेको प्राविधिकले पुनः निर्माणका लागि अनुमति दिएको थियो । ‘दुई हप्ता निर्माण रोकेको प्राविधिकले पुनः किन त्यसैमा पुरानै स्टमेट अनुसार काम गर्न अनुमति दियो,’ एक स्थानीयले भने,‘यसमा उपभोक्ता समिति र प्राविधिकको मिलेमतो छ ।’ माटो परीक्षणपश्चात् दलदले माटो भएकाले बेस कमजोर बनाइँदा पिल्लर चर्किएको बताउँदै उनले भने,‘अस्तीसम्म एउटा मात्रै पिल्लर चर्किएको थियो, आज भने चारवटै पिल्लर चर्किसकेको छ ।’

असारे विकासले हतारमा काम गर्दा कल्भर्टको पिल्लर चर्किएको बताउँदै टेकराज जोशीले भने,‘वर्षभरि सिन्को नभाँच्ने नगरपालिकाले असार मसान्त आउनै लाग्दा वर्षातमा काम गरेका कारण यस्तो समस्या आएको हो ।’ पुल नहुँदा वर्षातका कारण आफूहरुलाई समस्या हुँदै आएको बताउँदै उनले भने,‘बल्लतल्ल बनेको पुल पनि नबन्दै चर्कियो, स्थानीयले पुनः पहिल्यकै समस्या झेल्नपर्ने बाध्यता आइलागेको छ ।’  

दलदले माटो भएकोले ढलानमा समस्या आउँदा बेस कमजोर भएर साइडको भाग धसिएको गौरीगंगा नगरपालिकाका इञ्जिनियर दिनेश खड्काले स्वीकारे । उनले भने प्रदेशको विज्ञले राम्रो बनाउनुस् केही फरक पर्दैन काम गर्नुस् भनेकाले हामीले पनि काम थालेका हौँ, तर अहिले आएर पिल्लर चर्कियो ।’    

असार १३ गते कार्यादेश आएकाले हतारमा असार मसान्तमा काम सिध्याउनुपर्ने भएकाले समस्या आएको भवानी मार्ग कल्भर्ट निर्माण समितिका अध्यक्ष हेम ताडीले बताए । उनले भने,‘असार १४ गतेदेखि काम सुरु गरेर असार मसान्तमा सक्नुपर्ने भनेर नगरपालिकाले भनेकाले हामीले हतारमा काम गर्‍यौँ ।’  

प्रदेश पूर्वाधार साझेदार कार्यक्रम अन्तर्गत १८ लाख रुपैयाँको आर्थिक सहयोगमा कल्भर्ट निर्माण गरिएको हो । नगरपालिकाको पैसा अपूग भएकाले प्रदेश सरकारसँग बजेट माग गरेर पुनः मर्मत सम्भार गरिने वडाध्यक्ष दलबहादुर कुमालले बताए । उनले भने,‘हतारमा काम गरिएकाले पुल भत्किएको हुनसक्छ, यसलाई हामी पुनः निर्माण गर्नेछौँ ।’

प्रकाशित: २७ श्रावण २०७७ ११:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App