४ माघ २०७७ आइतबार
अर्थ

निःशुल्क वितरण गर्नुपर्ने मिटरबक्समा शुल्क लिएको आरोप

निःशुल्क वितरण गर्नुपर्ने मिटरबक्स सशुल्क वितरण गरिएको बिरोधमा प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई ज्ञापन–पत्र बुझाउँदै नेकपा वडा कमिटि खार्मीका अध्यक्ष हर्कराज राई । तस्बिर: नागरिक

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा गरीब तथा विपन्न परिवारलाई निःशुल्क वितरण गर्नुपर्ने मिटरबक्स सशुल्क वितरण गरेको आरोप लगाएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई ज्ञापन–पत्र बुझाउँदै नेकपा वडा कमिटि खार्मीले नेपाल विद्युत प्राधिकरणको दिक्तेल वितरण केन्द्रबाट गरीब तथा विपन्न ११५ परिवारका लागि उपलव्ध भएको मिटरबक्स रकम असुल गरेर वितरण गरिएको आरोप लगाएको हो ।  

नेकपा वडा कमिटिका अध्यक्ष हर्कराज राईले मेयर दिपनारायण रिजाल र प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेललाई बुझाइएको ज्ञापन–पत्रमा हाल विद्युतीकरण भइरहेको खार्मीमा विद्युत विस्तार उपभोक्ता समितिले ७५० रुपैयाँदेखि २ हजारसम्म शुल्क लिएर मिटरबक्स वितरण गरेको दाबी गरिएको छ । प्राधिकरणबाट गरीब तथा विपन्नको नाममा गाउँ लगेको मिटरबक्स सम्पन्न परिवारलाई पनि विपन्नको सिफारिस दिएर सशुल्क वितरण गरेको पाइएको नेकपा वडा कमिटिका अध्यक्ष राईले बताए । ‘प्राधिकरणबाट विपन्नको नाममा मिटरबक्स प्राप्त भएको थियो,’ अध्यक्ष राईले भने, ‘तर, सम्पन्नलाई पनि विपन्न बनाएर मिटरबक्स वितरण गर्ने काम भयो । विपन्नले पाउने मिटरबक्स शिक्षकलाई समेत दिइएको छ । पैसा पनि सवैबाट असुल गरिएको छ ।’  

नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका अनुशार खार्मीमा २०७६ सालमा ७३ घरधुरी र २०७७ सालमा ४२ घर धुरीका लागि निःशुल्क मिटरबक्स लगिएको छ । तर, उपभोक्ता समितिका अध्यक्ष केमल राई, सचिव शुक्रबहादुर श्रेष्ठ, सदस्य डाकमनी तामाङ र महेन्द्र राईले प्रतिघर ७५०, १ हजार, १ हजार २ सय र २ हजारसम्म असुल गरेको ज्ञापन–पत्रमा आरोप लगाइएको छ । नेकपा वडा कमिटि खार्मीले मिटरबक्स वापत असुल गरिएको रकम फिर्ता गर्न, विद्युत सामग्री ढुवानीकाक्रममा उठाइएको सापटी रकम फिर्ता गर्न, मिटसबक्स वितरणमा पैसा असुल गर्ने उपभोक्ता समितिमाथि कारबाही गर्न आग्रह गरेको छ ।  

विद्युत जडानकाक्रममा प्राधिकरणका कतिपय प्राविधिक कर्मचारीले पनि सेवाग्राहीबाट रकम असुल्ने गरेको पाइएको भन्दै नेकपा वडा कमिटिले रकम असुल्नमा संलग्न प्राविधिक कर्मचारीलाई कानूनी कारबाही गर्न र आगामी दिनमा जुनसुकै बाहनामा उपभोक्ताबाट रकम असुल गर्न बन्द गर्ने व्यवस्थाका लागि नगरपालिका र प्रशासनलाई आग्रह गरेको छ । उपभोक्ता समितिका अध्यक्ष राईले भने उपभोक्ताबाट कुनै पनि किसिमको रकम असुल नगरिएको प्रतिक्रिया दिए । ‘तत्काल धनीपुर्जा उपलव्ध गराउन नसकेका दुई घरबाट दुई/दुई हजार उठाएर ज्योती विकास बैंकमा धरौटी राखिएको हो, अरुबाट पैसा उठाएको कुरा झुट हो,’ उनले भने, ‘राजनैतिक हिसावले मलाई फसाउन खोजिएको मात्र हो ।’  

नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख रामदिनेश यादवले खार्मीमा मिटरबक्स खरिद गर्न नसक्ने परिवारका लागि मिटरबक्स पठाइएको भए पनि ‘पैसा लिए÷नलिएको’ थाहा नभएको बताए । ‘वडाबाट सिफारिस भएर आएका विपन्नलाई निःशुल्क मिटरबक्स उपलव्ध गराउने व्यवस्था छ । सेवा शुल्कवापत ५५ रुपैयाँ मात्र लाग्छ,’ यादवले भने, ‘विपन्न अन्तरगतको मिटरबक्स सम्वन्धित उपभोक्ताको नाम नै लेखेर पठाइदिन्छौँ । उता पैसा लिए/नलिएको हामीलाई थाहै हुँदैन ।’ खार्मीका वडाध्यक्ष रामचन्द्र राईले पनि मिटरबक्समा रकम असुल गरिएको विषयमा जानकारी नभएको बताए ।

प्रकाशित: २७ श्रावण २०७७ १६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App