३ आश्विन २०७७ शनिबार
अर्थ

सेती हाइड्रोपावरकाे निर्माण सुरू

निर्माणाधीन सेती हाइड्रोपावरमा एप्रोच क्यानल निर्माणका लागि खन्दै जेसिभी। तस्बिर: उमेश पुन/नागरिक

भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलास्थित राजबगरमा २५ मेगावाटको सेती नदी जलविद्युत् आयोजना (सेती हाइड्रोपावर) निर्माण सुरु गरेको छ। बुटवलको यो कम्पनीले पाँच अर्ब लगानीमा निर्माण गर्न लागेको उक्त हाइड्रोपावरको काम गत वैशाख २२ गतेबाट सुरु गरेको हो।  

कोरोना अभिसाप मात्र नभई यसलाई अवसरमा पनि परिणत गर्न सकिन्छ भन्ने लागेर हाइड्रोपावरको काम सुरु गरेको कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले जानकारी दिए। काम सुरु भए पनि शिलान्यास भने गरिनसकिएको आयोजनाले जनाएको छ। ‘कोभिडका कारण शिलान्यासमा ढिलाइ भएको हो,’ उनले भने, ‘सामाजिक दूरी कायम गर्दै मास्क र सेनिटाइजर प्रयोग गरेर काम सुरु गरेका छौं, सहज वातावरण बन्ने बित्तिकै मध्य असोजतिर शिलान्यास गर्ने योजना बनाएका छौं।’

२०७९ असोज मसान्तसम्ममा राष्ट्रिय प्रसारण लाइनमा जोड्नेगरी काम सुरु गरिएको भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएको छ। जसअन्तर्गत हाल सिभिल निर्माण कार्य भइरहेको छ। रसुवा लुना जेभीले निर्माण गरिरहेको सिभिल निर्माणअन्तर्गत सेटलिङ बेसिन (पानी थिग्राउने पोखरी) खन्ने काम भइरहेको छ।

दैनिक चारवटा एक्साभेटर र दुईवटा गाडीसहित ५० जना मजदुर प्रयोग गरेर बेसिन खन्ने र माटो व्यवस्थापनको काम भइरहेको अध्यक्ष पोखरेलले जानकारी दिए। उनका अनुसार बेसिनसँगै बेसिनसम्म पुग्ने कुलो (एप्रोच क्यानल) निर्माणसमेत भइरहेको छ। बेसिन ६० मिटर लम्बाइ र २३ मिटर चौडाइ तथा २२ मिटर गहिरो बनाइने उनले बताए।

सिभिल वर्कसँगै आयोजनाको हाइड्रोमेकानिक, इलेक्ट्रोमेकानिकल्स र ट्रान्समिसन (प्रसारण लाइन) को काम अघि बढाउन निर्माण कम्पनी छनोटका लागि बोलपत्र (टेन्डर) आह्वान भइसकेको पोखरेलले जानकारी दिए। कम्पनीले भदौ १५ गतेदेखि फूल फेजमा काम हुने जनाएको छ। थप तीन सय मजदुर थपेर मजदुर संख्या तीन सय ५० पु¥याएर काम गरिने अध्यक्ष पोखरेलले जानकारी दिए।

आयोजनाका अनुसार माछापुच्छ्रे–२ सार्दीखोलास्थित राजबगरमा निर्माण हुने सेती हाइड्रोका लागि सेती मुहानमा चार सय मिटर लामो एप्रोच क्यानल बनाइन्छ। एप्रोच क्यानलमार्फत गएको पानी सेटलिङ बेसिनमा थिग्रिन्छ। जहाँ ठूल्ठूला काठ, ढुंगामात्र थिग्रिने अध्यक्ष पोखरेलले जानकारी दिए। सेटलिङ बेसिनबाट साढे चार किलोमिटर भूमिगत पाइपमार्फत पोखरा महानगरपालिका–१९ सँग जोडिएको चिन्तेबगर पु-याएर एक सय ८७ मिटर उचाइबाट पानी खसालेर विद्युत् उत्पादन गरिन्छ। यसरी उत्पादित विद्युत् थप साढे चार सय मिटर पश्चिममा रहेको माछापुच्छ्रे–४ स्थित लाहाचोकस्थित निर्माणाधीन विद्युत् सबस्टेसनमा जडान गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजना प्रमुख लेखनाथ पाण्डेले जानकारी दिए।

बर्खामा २५ मेगावाटसम्म र हिउँदको केहि महिना १०–११ मेगावाट बिजुली निस्किने आयोजनाले जनाएको छ। आयोजनाले उत्पादन गरेको विद्युत् वर्षायाममा ६ महिना चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसा प्रति युनिटमा विद्युत् प्राधिकरणले खरिद गर्ने सम्झौता यसअघि नै भइसकेको आयोजनाले जनाएको छ।

पाँच अर्ब लागतमा निर्माण गर्न लागिएको हाइड्रोपावरमा कूल लागतको ७० प्रतिशत बैंक तथा वित्तीय संस्था तथा निजी क्षेत्रबाट लगानी हुनेछ भने बाँकी ३० प्रतिशत लुम्बिनी ऊर्जा प्रालिको लगानी हुनेछ। स्थानीय आयोजना प्रभावित जनतालाई १० प्रतिशत सेयर दिइने आयोजनाले जनाएको छ।

प्रकाशित: २७ श्रावण २०७७ ०९:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App