६ चैत्र २०८० मंगलबार
अर्थ

घरायसी ग्राहकमा स्मार्ट मिटर जडान

नेपाल विद्युत् प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटर हटाई स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–९ को वडा कार्यालय मण्डिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको सुरु गरेका हुन्।

मुलकभर हाल करिब ५० लाख सिंगल फेजका ग्राहक रहेकोमा पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका ग्राहकको सिंगल फेज र थ्री फेज गरी करिब एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिने छ। स्मार्ट मिटर जडानको सुरुवातसँगै प्राधिकरणले अगाडि सारेको ‘डिजिटल एनइए’ कार्यान्वयनतर्फ गएको छ।  

स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नुपर्ने छैन। विद्युत् खपतको डाटा दुवैतर्फ प्रसारण हुन सक्ने हुँदा केन्द्रबार्ट मिटर रिडिङ गर्न सकिने र बिल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइन काट्न सकिने छ।  

मिटर रिडिङको कारणले हुने विद्युत् चुहावट नियन्त्रण हुनेछ। कसैले मिटर बाइपास गरी विद्युत् चोरी गर्न खोजेमा त्यसको जानकारी हुने हुँदा चोरी नियन्त्रणमा प्रभावकारी हुनेछ। स्मार्ट मिटरमा एकीकृत लोडमात्र प्रयोग गर्न पाउने गरी सेटिङ गर्न सकिने हुँदा डिमान्ड चुहावट नियन्त्रण हुन्छ।

कार्यक्रममा मन्त्री पुनले सरकारले अगाडि सारेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य राज्यका निकायले प्रवाह गर्ने सेवाको आधुनिकीकरण गर्दै चुस्त बनाउनु रहेको उल्लेख गर्दै त्यसलाई पूरा गर्न स्मार्ट मिटर जडान सुरुवात एउटा कोशेढुंगा भएको बताए।

‘स्मार्ट मिटरको जडान मात्रै होइन, संघीय राजधानीलगायत मुलुकका मुख्य–मुख्य सहरमा विद्युत् वितरण प्रणालीलाई भूमिगत गरी सहरी सौन्दर्य बढाउन र प्रणालीलाई विश्वसनीय तथा भरपर्दो बनाउन काम गरिरहेका छौं,’ प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले भने, ‘प्राधिकरणको प्रस्तावमा विद्युत् नियमन आयोगमार्फत इतिहासमै पहिलोपल्ट उपभोक्ता महसुल घटाएका छौं भने प्राधिकरणलाई दुई वर्षदेखि सबैभन्दा बढी नाफा कमाउने मुलककै एक नम्बरको संस्था बनाउन सफल भएका छौं, इमानदार प्रयास गरिएमा गर्न सकिन्छ भन्ने पुष्टि भएको छ।’ उनले मुलुक छिट्टै ऊर्जामा आत्मनिर्भर हुने पनि बताए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव दिनेशकुमार घिमिरेले मन्त्रालयले दुई वर्षअघि श्वेतपत्रमार्फत घोषणा गरिएको पाँच वर्षभित्र स्मार्ट ग्रिड र मिटर लागू गर्ने भनिएको कार्यक्रम कार्यान्वयनको उत्साहजनक प्रगति रहेको बताए। उनले वितरण प्रणालीलाई भूमिगत बनाउने र स्मार्ट मिटरको प्रयोगलाई समानान्तर रुपमा अगाडि बढाइने जानकारी दिए। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट मिटरको प्रयोगपछि मिटर रिडिङका लागि कर्मचारी आवश्यक नपर्ने हुँदा आगामी दिनमा दुई हजार पाँच सयदेखि तीन हजारसम्म कर्मचारीको खर्च कम हुने जानकारी दिए। 

‘स्मार्ट मिटरमा हरेक घन्टाको महसुल फरक–फरक कायम गर्न सकिने हुँदा पिक, अफ पिक र नर्मल समयमा ग्राहकको फरक–फरक महसुल तोक्न सकिनेछ। साथै अब चाँडै वर्षायाममा बढी विद्युत् उत्पादन हुँदैछ। त्यसको खपत बढाउन सस्तो महसुल कायम गर्न सकिन्छ भने हिउँदयामको महसुल पनि फरक तोक्न सकिने छ,’ उनले भने, ‘स्मार्ट मिटरमा पोस्ट पेड र प्री पेड दुवै फङ्सन हुने हुँदा ग्राहकको इच्छाअनुसार पोस्ट पेड र प्री पेड गर्न सकिनेछ, ग्राहकले जुनसुकै ठाउँबाट अनलाइन बिल भुक्तानी गर्न सक्ने हुँदा सजिलो हुन्छ।’

प्राधिकरणले पहिलो चरणमा देशभरका आठ हजार दुई सय २२ टाइम अफ डे (टिओडी) मिटरलाई स्मार्ट बनाइसकेको छ। दोस्रो चरणमा देशभरका करिब एक लाख २५ हजार थ्री फेज होल करेन्ट मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने काम भइरहेको छ।  

यस्ता करिब १८ हजार मिटर जडान भइसकेका छन्। ६० हजार मिटर जडान भइरहेको छ। नयाँ थ्री फेज मिटर सबै नै स्मार्ट जडान हुँदै आएको छ। स्मार्ट मिटरको प्रभावकारी प्रयोगका लागि आवश्यक ‘कम्युनिकेसन ब्याकबोन’ काठमाडौं उपत्यकाभरलाई हुने गरी जडान गरिने छ। यसको र सिंगल फेज स्मार्ट मिटर जडानको लागत करिब एक अर्ब रुपैयाँ रहेको छ। यसमा एसियाली विकास बैंकले सहुलित ब्याजको ऋण दिएको छ।  

काठमाडौं उपत्यकामा हाल रहेका करिब चार लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्न बोलपत्र प्रक्रिया अगाडि बढाइएको छ। प्राधिकरणले मुलुकभरका सबै ग्राहकको मिटरलाई स्मार्ट बनाउने गरी कार्यक्रम अगाडि बढाएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए।

प्रकाशित: २६ श्रावण २०७७ ०४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App