८ वैशाख २०८१ शनिबार
अर्थ

रसुवागढी नाकाबाट एक वर्षमा २७ अर्बको सामग्री आयात

रसुवागढी नाका । तस्बिरः हिमनाथ/नागरिक

रसुवागढी नाकाबाट एक वर्षमा २७ अर्ब मूल्य बराबरको सामग्री आयात भएको छ। रसुवा भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७६/७७ मा २७ अर्ब ७० करोड ९७ लाख १७ हजार मूल्य बराबरको सामग्री आयात भएको हो।  यो आर्थिक वर्ष २०७५/७६ को तुलनामा १८ अर्ब ३१ करोड ९५ लाख ८९ हजार कम हो । तथ्यांक अनुसार २०७५/७६ मा ४६ अर्ब २ करोड ९३ लाख ६ हजार मूल्य बराबरको सामग्री आयात भएको थियो।  

नाकामा कारोवार वृद्धि हुँदै जाँदा राजस्व संकलन पनि बढ्दै गएको थियो। गत आर्थिक वर्षमा विश्वव्यापी फैलिएको कोरोनाका कारण करिब पाँच महिना नाका बन्द भएका कारण आयात घटेको प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले बताए ।

साउनमा ३ अर्ब १७ करोड ३६ लाख ८६ हजार, भदौमा ६ अर्ब ४७ करोड ६८ लाख ४१ हजार, असोजमा ४ अर्ब ४७ करोड २ लाख २९ हजार, कार्तिकमा ५ अर्ब २९ करोड ६६ लाख ८० हजार, मंसिरमा ३ अर्ब ३१ करोड १० लाख ७२ हजार रुपयाँ मूल्य बराबरको सामग्री आएको कार्यालयको तथ्यांक छ।  

यस्तै पुसमा २ अर्ब ८३ करोड १८ लाख २९ हजार, माघमा १ अर्ब ९४ करोड ६२ लाख २३ हजार र फागुनमा १५ करोड ६६ लाख ८७ हजार रुपयाँ मूल्य बराबरको सामग्री आयात भएको हो। त्यसैगरी असारमा ४ करोड ६४ लाख ७० हजार मूल्य बराबरको सामग्री आयात भएको छ। गएको चैत, बैशाख र जेठमा भने सामग्री आयात भएको थिएन।  

२०७१ सालदेखि सञ्चालनमा आएको नाकामा पछिल्लो समय व्यापारिक कारोवार बढ्दै गएको थियो। रसुवा भन्सारले २०७१ साल यता दुई वटा आर्थिक वर्षमा आफ्नो लक्ष्य पूरा गर्न नसकेपनि अन्य वर्षमा लक्ष्य भन्दा बढी असुली गर्दै आएको छ।

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ।  

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

 

 

 

प्रकाशित: २५ श्रावण २०७७ ११:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App