८ वैशाख २०८१ शनिबार
अर्थ

कोरोनाले व्यापार प्रभावित, आयातमा समय तालिका लागू

आइसिपीस्थित वीरगन्ज भन्सार नाका। तस्बिर: रितेश/नागरिक

बढ्दो कोरोना संक्रमणका काराण वीरगन्ज भन्सार नाका पनि प्रभावित भएको छ। साउन सुरु भएयता संक्रमित संख्या नौ सय नाघेपछि वीरगन्ज भन्सार कार्यालयले मालसामान आयातमा आलोपालो प्रणाली लागू गरेको छ।  

कोरोनाबाट संक्रमित हुनेहरुको संख्या र संक्रमितमध्येबाट मृत्युको संख्या बढ्दै गएपछि व्यापारिक सहर वीरगन्जमा १३ दिनदेखि निषेधाज्ञा लगाइएको छ। आपूर्ति व्यवस्था कायम राखिराख्न भन्सार भने बन्द गरिएको छैन।  

साबिक इनर्वा नाका र एकीकृत जाँच चौकी (आइसिपी) बाट सञ्चालित वीरगन्ज भन्सारमा भारतबाट मालसामान लिएर आउने मालवाहक सवारी साधनका चालक र सहचालकका कारण नाकामा संक्रमणको जोखिम रहेको स्थानीय स्तरबाट आवाज उठिरहेका बेला भन्सार अधिकारीले पनि उक्त महसुश गरेका छन्। ‘अहिले कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राखेर सावधानीका लागि केही निर्देशन यहाँ लगाइएको छ, खासमा हामीले आयात हुने मालवस्तुका लागि समय छुट्याइ दिएका छौं,’ वीरगन्ज भन्सार कार्यालयका प्रवक्तासमेत रहेका भन्सार अधिकृत, ‘बिमलकुमार साहले भने, ‘एकै पटक भिडभाड नभएर भन्सार क्लियरिङ एजेन्टले टाइमअनुसार आएर मालसमान भन्सार पास गराएर लैजाने किसिमले व्यवस्थापन गरिएको हो।’

अत्यावश्यक समान बाहेकमा समय तालिका लागू हुने उनले बताए। खाद्यान्न, औषधि र कच्चा पदार्थजस्ता अत्यावश्यक वस्तु आयातमा भने समय तालिका लागू हुने बाध्यता छैन। वीरगन्ज भन्सार नाका भएर देशका अधिकांश मालवस्तु् भित्रिने गरेको छ। भन्सार क्लियरिङ एजेन्टमार्फत यस व्यवस्थालाई लागू गरिएको भन्सार प्रवक्ता साहले जानकारी गराए। उसै पनि आर्थिक वर्षको अन्तिम तीन महिना चैत ११ देखि असारसम्म देशैभरी लकडाउन भएर भन्सारबाट हुने आयात निर्यात प्रभावित भएको छ। आर्थिक वर्षको सुरुदेखि मासिक लक्ष्य भेटाउन नसकेर लक्ष्यभन्दा पछाडि रहेको वीरगन्ज भन्सारले वर्षीय लक्ष्यमा ३३.११ प्रतिशतले बितेको आर्थिक वर्षमा पछाडि परेको छ। देशमा लागू भएको लकडाउन र कोरोनाको बिश्वब्यापी प्रभावबाट भन्सार पनि अछुतो नरेहको प्रमुख भन्सार अधिकृत गोपाल खत्री बताउँछन्।

अन्तराष्ट्रिय बजारमा डलरको भाउ बढेर पनि आयातमा असर परेको आयातकर्ताको भनाइ छ। त्यस्तै देशभित्र व्यपार व्यवसाय र उद्योगका लागि अहिलेको समय निकै प्रतिकूल भएकाले स्वभाविक रुपमा आयात घटेको वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष प्रदीप केडिया बताउँछन्। त्यस्तै देशमा विकास बजेट खर्च हुन नपाएर निर्माण सामग्री लगायतको उत्पादन, कच्चा पदार्थको आयात र तयारी निर्माण सामग्री आयात घटेको उद्योगी व्यवसायीको विश्लेषण छ। आव ०७६÷७७ मा वीरगन्ज भन्सार कार्यालयलाई एक खर्ब ८८ अर्ब ६२ करोड ४९ लाख ९४ हजार रुपैयाँको लक्ष्य थियो। यसको ६६.८९ प्रतिशतले यस भन्सार कार्यालयले एक खर्ब २६ अर्ब १६ करोड ७३ लाख ४३ हजार रुपैयाँ असुल गर्न सकेको थियो।  

सुक्खा बन्दरगाहमा ग्रिन च्यानल बन्द

त्यस्तै कोरोनाको जोखिम बढेपछि गत आइतबारदेखि सात दिनसम्मका लागि रातो च्यानलमार्फत आयात हुने मालवस्तुको जाँचपास वीरगन्ज सुक्खा बन्दरगाह भन्सार कार्यालयले रोकेको छ। ‘खासमा रातो च्यानलमा पर्ने मालसामान भौतिक रुपमा नै जाँच्नु पर्ने हुन्छ। यस क्रममा सर्वसाधारणको बढी सम्पर्क हुने भएकाले संक्रमण फैलिन सक्ने जोखिम भएको हुँदा केही समयका लागि एकसाथ पाँच किसिमभन्दा बढी सामान बोकेर आएका कन्टेनरको जाँचपास रोक्नु परेको हो,’ सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले भने, ‘आइतबारदेखि सम्भवतः फेरि यसको जाँचपास सुरु हुन्छ होला।’  

भन्सारले प्रयोग गर्ने सफ्टवयर ‘आशिकुडा वल्र्ड’मा आयातकर्ताले मालसामानको विवरण अनलाइन प्रणालीमा समावेश गर्नुपर्ने हुन्छ। यसैबाट हुने वस्तुको वर्गीकरण अनुसार हरियो, पहेंलो र रातो च्यानलमा सोही रंगको प्रज्ञापनपत्र निस्किने गर्छ। राजस्व चुहावटको सम्भावना न्यून हुनेलाई हरियोमा, त्यसभन्दा निगरानी गरेर भिœयाउने खाले समान पहेंलोमा र राजस्व चुहावटको सम्भावना र अन्य जोखिम भएका सामान रातो च्यानलमा पर्ने गर्छ।

एकसाथ धेरै प्रकारका मालसामान बोकेर पनि कन्टेनर आउने गर्छन्। रातो च्यानलमा पर्ने त्यस्ता कन्टेनरका सामानको अहिले जाँचपास केही समय कोरोना जोखिमका कारण रोकिएको हो। अहिले कोरोनाको संक्रमणको बिश्वव्यापी प्रभाव सुक्खा बन्दरगाहबाट हुने आयात व्यापारमा पनि परेको श्रेष्ठले बताए। ‘एकदमै प्रभावित भएको छ, आयात घटेको छ जसका कारण राजस्व संकलन पनि घटेको छ,’ श्रेष्ठले भने। 

प्रकाशित: २५ श्रावण २०७७ ०४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App