६ वैशाख २०८१ बिहीबार
अर्थ

३० प्रतिशत उद्योग अझै बन्द

कोभिड–१९को संक्रमणले लकडाउन खोलेर उद्योग सञ्चालन गर्न सरकारले आग्रह गरे पनि करिब ३० प्रतिशत उद्योग अझै सञ्चालनमा आएका छैनन्। घर गएका कामदार ल्याउन कठिन, उत्पादनले बजार नपाउने, ढुवानी, कच्चा पदार्थको समस्या लगायत कारण उद्योग पूर्ण रुपमा सञ्चालनमा नआएका हुन्।

सञ्चालनमा आएका ७० प्रतिशत उद्योग पनि ६० प्रतिशत क्षमतामा मात्र चलेका छन्। औद्योगिक व्यवस्था लिमिटेडका अनुसार मुलुकका १० औद्योगिक क्षेत्रमा करिब ७ सय उद्योगमा पाँच सय मात्र सञ्चालनमा छन्। बाँकी अझै सञ्चालनमा नआएको कम्पनीका निर्देशक दिलीप श्रेष्ठले बताए। ‘करिब ३० प्रतिशत उद्योग अझै सञ्चालनमा आएका छैनन्,’ श्रेष्ठले भने, ‘सञ्चालनमा रहेका पनि ५०–६० प्रतिशत क्षमतामा चलेका छन्।’

लकडाउन अवधिमा ६५ प्रतिशत उद्योग, व्यवसाय पूर्णरुपमा बन्द थिए। ३५ प्रतिशत आंशिक सञ्चालनमा थिए। लकडाउन खुले पनि कामदार ल्याउन सक्ने अवस्था नभएकाले उद्योग पूर्ण रुपमा सञ्चालन गर्न कठिन देखिएको उनले बताए। लकडाउनले मुुलुकको अर्थतन्त्र चौपट भएपछि उद्योग सञ्चालन गर्न खुकुलो गर्ने नीति लिएको सरकारले गत वैशाख २४ गते ४२ प्रकारका उद्योग चलाउन अनुमति दिने निर्णय गरेको थियो।  

काठमाडौंको बालाजु औद्योगिक क्षेत्र र ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरु पूर्ण रुपमा सञ्चालन हुन सकेका छैनन्। लकडाउन खुलेको लामो समय बित्दा पनि बाहिरी जिल्लाबाट कामदार ल्याउन कठिन, अझै कोभिडको त्रास, सामाजिक दुरी कायम गर्नुपर्ने, बजारमा माग नहुनु लगायत समस्याले उत्पादनमा समस्या भएको उद्योगीले बताएका छन्। औद्योगिक क्षेत्रमा सञ्चालित उद्योग मात्र नभएर अन्य औद्योगिक करिडोरमा सञ्चालित उद्योगको अवस्था पनि उस्तै छ। कोभिड–१९ त्रास बाँकी नै रहेका उद्योग सञ्चालन गर्न कठिन रहेको नेपाल उद्योग परिसंघ (सिएनआई)का वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले बताए। ‘कामदार आउन पनि डराइरहेका छन्,’ अग्रवालले भने, ‘सामाजिक दुरी कायम गर्नुपर्ने अवस्था छ।’ सञ्चालनमा रहेका उद्योग ३०–४० प्रतिशत क्षमतामा मात्र सञ्चालनमा रहेको अग्रवालले बताए। ‘उत्पादित सामानको पनि खपत छैन,’ अग्रवालले भने।  

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘उद्योग प्रतिष्ठान सञ्चालन मापदण्ड, २०७७’ जारी गरेर सामाजिक दुरी र स्वास्थ्य मापदण्ड पालना गरेर उद्योग सञ्चालन गर्न आग्रह गर्दै आएको छ। लकडाउनकै बीचमा अत्यावश्यक सेवामा पर्ने दैनिक उपभोग्य वस्तु चामल, दाल, तेल, चिउरा, चिनी, बिस्कुट, पाउरोटी, पिठो, चाउचाउ जस्ता दैनिक उपभोग्य खाद्यवस्तु, पानी प्रशोधन, औषधी, स्वास्थ्य सामग्री, साबुन उत्पादन र सोको प्याकेजिङ सामग्री उत्पादन गर्ने उद्योग सञ्चालन गर्न सरकारले आग्रह गरेको थियो।

कोभिड–१९ को प्रकोप र त्रास बढ्दै गएकाले उद्योगी थप चिन्तित देखिएका छन्। अहिले विभिन्न जिल्लामा लकडाउन छ। मुलुकको प्रमुख औद्योगिक क्षेत्र बारा, पर्सामा लकडाउन हुँदा त्यहाँ उद्योग सञ्चालनमा कठिनाइ भएको छ। केही उद्योगका कामदारमा कोरोना संक्रमित भएपछि उद्योग नै सिल गरिएको छ।  

औद्योगिक क्षेत्रमा कोभिडको असर अझै लम्बिने एक अध्ययनले देखाएको छ। नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणले बन्दाबन्दीपश्चात् उद्योग व्यवसाय सामान्य अवस्थामा फर्कन करिब नौ महिना लाग्ने जनाएको छ।  उद्योग र व्यवसायले अब थप लकडाउन थेग्न नसक्ने उल्लेख छ। कतिपय उद्योगी, व्यवसायीले बिक्री वा बन्द गर्न चाहेको समेत अध्ययनमा छ। बन्द गर्न चाहनेमा केही घरेलु उद्योग, लघु, साना खुद्रा व्यापार र साना व्यवसायी छन्।

नेपालमा सञ्चालनमा रहेका उद्योगहरु सामान्य अवस्थामा पनि पूर्ण क्षमतामा चल्न सकेका थिएनन्। पोहोर प्रमुख उद्योगले क्षमताको ५७.१० प्रतिशतमात्र प्रयोगमा ल्याएका थिए। राष्ट्र बैंकले गरेको अध्ययनमा अघिल्लो वर्षको तुलनामा पोहोर उद्योगको उत्पादन क्षमतामा ह्रास आएको थियो। यो वर्ष कोभिडको कारण अझै खस्किने देखिएको छ।  

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष उद्योगले क्षमताको ५९.७० प्रतिशत उपयोग गरेकोमा पोहोर घटेर ५७.१० प्रतिशतमा झरेको थियो। फलामको रड, सिमेन्ट उद्योग, पशु दाना, चामल, खानेतेल उद्योगले क्षमता उपयोगमा ल्याउन नसकेका हुन्। सिमेन्ट उद्योगले आफ्नो क्षमताको ४०.४० प्रतिशत मात्र उपयोग गरेका थिए। लकडाउनपछि सिमेन्ट उद्योगले २० प्रतिशतमात्र उत्पादन गरिरहेका छन्। ८० प्रतिशत क्षमता प्रयोगमा ल्याउन पाएका छैनन्। पोहोर फलामे रड उद्योगले ६१.५० प्रतिशत, पशु दाना उद्योगले ५७.३० प्रतिशत, खाने तेल उद्योगले ४८.१०, चामल उद्योगले ३१.६०, चुरोट उद्योगले ३६.७० प्रतिशत क्षमता उपयोगमा ल्याएको राष्ट्र बैंकले जनाएको छ।

औद्योगिक उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्दै व्यापार घाटा कम गर्ने रणनीति बनाइरहेका बेला मुलुकमा सञ्चालित उद्योगले आफ्नो क्षमता अनुसार चल्न सकेका छैनन्। यहाँका उद्योगले विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा क्षमता पूर्ण रुपमा प्रयोगमा ल्याउन नसकेका हुन्। नेपालका उद्योगको प्रविधि, उपकरण, गुणस्तर कमजोर भएकाले सहज रुपमा विदेशी उत्पादन आएपछि यहाँका उद्योगले कम उत्पादन गर्ने गरेका छन्। उद्योग मात्र नभए पर्यटन व्यवसाय करिब बन्द नै रहेको छ।  

उद्योगलाई बिमा प्रिमियम छुट

उद्योगी व्यवसायीले लकडाउन अवधिको बिमा प्रिमियममा ३३ प्रतिशत छुट पाउने भएका छन्। कोभिड–१९ को कारण मुलुक बन्दाबन्दीमा गएको अवधिमा बन्द रहेका उद्योग व्यवसायको बिमाको प्रिमियममा छुट दिने सहमति भएको छ।  

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल बिमक संघसहित शुक्रबार भएको सरोकारवालाको बैठकमा बिमा समितिले चार महिना लकडाउन अवधिको बिमा शुल्कमा उद्योग तथा कलकारखानालाई ३३ प्रतिशत छुट दिने सहमति गरेको हो।  

बिमालेखमा नभई चार महिनाको अवधिमा हुने बिमाशुल्क समानुपातिक रुपमा गणना गरी सोही अवधिको जम्मा शुल्कमा छुट दिने समितिले जनाएको छ। यो व्यवस्था बिमा समितिले निर्देशिका जारी गरेपछि कार्यान्वयनमा आउने छ।

प्रकाशित: २५ श्रावण २०७७ ०४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App