६ वैशाख २०८१ बिहीबार
अर्थ

ताप्लेजुङका ९ स्थानीय तहमा २५ करोड बढी रकम बेरुजु

ताप्लेजुङका ९ स्थानीय तहमा २५ करोड रुपैयाँ बढी रकम बेरुजु देखिएको छ । रुजु गर्दा नमिलेको, रुजु नगरिएको वा नभएको आर्थिक कारोबारलाई बेरुजु भनिन्छ । प्रचलित कानुन बमोजिम पुर्‍याउनु पर्ने रीत नपुर्‍याई कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा औँल्याइएको वा ठहर्‍याईएको कारोबार नै बेरुजु हो । 

महालेखा परीक्षकको ५७ औं वार्षिक प्रतिबेदन अनुसार यहाँका ९ स्थानीय तहमा २५ करोड २१ लाख ७७ हजार रुपैयाँ बेरुजु देखिएको छ । लेखा परीक्षण भएको बजेटको अनुपातलाई तुलना गरेर हेर्ने हो भने ताप्लेजुङका स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु मिक्वाखोला गाउँपालिकाको रहेको महालेखाले जनाएको छ । ४५ करोड ४८ लाख ४० हजार रुपैयाँको लेखा परीक्षण हुँदा मिक्वाखोलाको ७ करोड २३ लाख २२ हजार रुपैयाँ बेरुजु कायम रहेको मलेप प्रतिबेदनमा उल्लेख छ । लेखा परीक्षण गरिएको अंकलाई आधार मान्दा यो १५.९० प्रतिशत हो ।  

लेखा परीक्षण गरिएको अंकलाई आधार मानेर हेर्दा यहाँका स्थानीय तहमध्ये दोस्रो ठूलो बेरुजु पाथीभरा याङ्वरक गाउँपालिकामा देखिएको छ । ६७ करोड ६४ लाख ३३ हजार रुपैयाँको लेखा परीक्षण हुँदा यो गाउँपालिकाको ६ करोड ८ लाख ३ हजार रुपैयाँ बेरुजु रकम देखिएको छ । लेखा परीक्षण भएको अंकका आधारमा यो बेरुजु ८.९९ प्रतिशत हो ।  

यस्तै ६४ करोड ९८ लाख ९० हजार रुपैयाँको लेखा परीक्षणमा मेरिङ्देन गाउँपालिकाको ४ करोड ५१ लाख ६६ हजार रुपैयाँ बेरुजु छ । लेखा परीक्षणका आधारमा यो ६.९५ प्रतिशत बेरुजु हो ।  

५४ करोड १५ लाख ८४ हजार रुपैयाँ लेखा परीक्षणमा गएकोमा मैवाखोला गाउँपालिकाको ३.५३ प्रतिशत अर्थात् १ करोड ९१ लाख ४४ हजार रुपैयाँ बेरुजु कायम रहेको पाईएको छ । फक्ताङ्लु गाउँपालिकाले ६७ करोड २८ लाख ७८ हजार रुपैयाँको लेखा परीक्षणका लागि कागजात पेश गरेकोमा १ करोड ९२ लाख ३९ हजार रुपैंया रुजु भएन । लेखा परीक्षणमा गएको अंकका आधारमा फक्ताङ्लुङको २.८६ प्रतिशत बेरुजु कायम रहेको देखिएको छ । फुङ्लिङ नगरपालिकाले १ अर्ब १० करोड ९१ लाख ४६ हजार रुपैयाँ लेखा परीक्षण गराउन कागजात तथा बिवरण पेश गरेकोमा १ करोड ५२ लाख ९६ हजार रुपैयाँ मात्र बेरुजु देखियो । 

लेखा परीक्षण गरिएको रकमका आधारमा फुङ्लिङ नगरपालिकाको बेरुजु फस्र्यौटलाई उल्लेख्य मान्न सकिएपनि १.३८ प्रतिशत बेरुजु फस्र्यौट गर्न दायित्व भने उ संग अझै बाँकी नै रहने छ । ६४ करोड ७९ लाख ९५ हजार रुपैैयाँ लेखा परीक्षण गर्न पेश भएकोमा सिदिङ्वा गाउँपालिकाको ७७ लाख ६७ हजार बेरुजु देखिएको छ । परीक्षण अंकका आधारमा यो १.२० प्रतिशत हो । ७० करोड ४६ लाख १ हजार रुपैैयाँको लेखा परीक्षण भएकोमा आठराई त्रिबेणी गाउँपालिकाको ६२ लाख २० हजार रुपैयाँ बेरुजु देखिएको छ ।

यो १ प्रतिशत भन्दा कम अर्थात् ०.८८ प्रतिशत मात्र हो । यस्तै ७९ करोड २३ लाख ७७ हजार रुपैयाँ लेखा परीक्षणमा समाबेश गरेको सिरिजङ्घा गाउँपालिकाको ६१ लाख ६० हजार रुपैयाँ देखिएको छ । यो पनि यो १ प्रतिशत भन्दा कम अर्थात् ०.७८ प्रतिशत मात्र हो ।

प्रकाशित: २४ श्रावण २०७७ ०९:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App