६ वैशाख २०८१ बिहीबार
अर्थ

विद्युत् चुहावट घट्यो, खपत बढ्यो

नेपाल विद्युत् प्राधिकरणले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा विद्युत् खपत दर बढाएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा थोरै परिणाममा विद्युत् खपत दर बढेको छ। प्राधिकरणले आर्थिक वर्ष ०७६/७७ मा प्रतिव्यक्ति विद्युत् खपत दुई सय ६० किलोवाट घन्टा पुगेको छ। आर्थिक वर्ष ०७५/७६ मा प्रतिव्यक्ति विद्युत् खपत दुई सय ४५ किलोवाट प्रतिघन्टा थियो।  

प्राधिकरणले गत आर्थिक वर्षमा प्रतिव्यक्ति १५ किलोवाट घन्टा खपत बढाउन सकेको हो। तीन वर्षअघि प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत प्रतिव्यक्ति एक सय ५० किलोवाट घन्टा रहेकोमा चार वर्षपछि दुई सय ६० किलोवाट पुगेको छ। सरकारले आर्थिक आगामी आव ०७९ सम्म वार्षिक प्रतिव्यक्ति विद्युत् खपतलाई ७००  किलोवाट आवर पु-याउने लक्ष्य राखेको छ। लोडसेडिङको अन्त्य भएसँगै नियमित विद्युत् आपूर्ति हुन थालेपछि पछिल्ला वर्षहरुमा उद्योगको उत्पादन क्षमता पनि वृद्धि भएको छ भने मुलुकको आर्थिक वृद्धिदर उत्साहजनक छ। सरकारले आगामी वर्षहरुमा प्रतिव्यक्ति ऊर्जा खपत दर बढाउँदै लैजाने नीति लिएको छ।

नीति कार्यान्वयनका लागि नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपत बढाउन घरघरमा विद्युतीय चुलो (इन्डक्सन) को प्रयोगलाई प्रोत्साहन गर्ने र विद्युतीय गाडी चलाउन चार्जिङ स्टेसन खोल्ने कार्यक्रम अगाडि बढाएको छ। प्राधिकरणले यसका लागि इन्डक्सन चुलो र चार्जिङ स्टेसनको लोडलाई धान्ने गरी संरचनाको सुदृढीकरण, स्तरोन्नति र विस्तार गरिरहेको छ।  

त्यति मात्रै होइन, प्राधिकरणले आव ०७९ भित्र प्रत्येक घरधुरीमा विद्युत् सेवा पु-याउने पु-याउने लक्ष्य राखेको छ। प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले हरेक नेपाली जनताको पहुँचमा बिजुली पु-याउने सरकारको लक्ष्य पूरा गर्न र उपभोक्तालाई पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति गर्न हरसम्भव प्रयास गरिएको बताए।

प्राधिकरणले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा थोरै परिणामको विद्युत् चुहावट घटाएको छ। अघिल्लो आर्थिक वर्षमा विद्युत् चुहावट १५.३२ प्रतिशत थियो। तर गत आवमा प्राधिकरणले विद्युत् चुहावट १५.२७ प्रतिशतमा झारेको जनाएको छ। चार वर्ष अघिसम्म विद्युत् चुहावट २५.७८ प्रतिशत रहेको थियो।  

प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा निजी तथा प्राधिकरण मातहतको आयोजनाबाट एक सय ४९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान भएको छ। नेपालको कुल जलविद्युत् जडित क्षमता १३ सय ९९ मेगावाट पुगेको छ।  

सरकारले गत आर्थिक वर्षमा थप तीन लाख ३४ हजार घर धुरीमा विद्युत् पहुँच विस्तार गरेको छ। योसँगै नेपालमा विद्युत् पहुँच प्राप्त घरधुरी संख्या ५० लाख १० हजार पुगेको छ। मन्त्रालयले थप दुई सय ८५ किलोमिटर (सर्किटमा) नयाँ प्रसारण लाइन निर्माणको काम सकेको जनाएको छ। योसँगै प्रसारण लाइनको लम्बाई देशभर कुल चार हजार दुई सय ५१ पुगेको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत थप ५० किलोवाट सौर्य वायुऊर्जा थप भई आठ सय ६६ किलोवाट पुगेको छ।  

यस्तै, वर्षभरिमा थप ५२ वटा थप भई संस्थागत तथा सामुदायिक बायोग्याँसको संख्या चार सय १९ पुगेको छ। राष्ट्रिय प्रसारण प्रणालीमार्फत विद्युत् पहुँच प्राप्त जनसंख्यामा तीन प्रतिशतले वृद्धि भई ९० प्रतिशत पुगेको छ। गत आर्थिक वर्षमा विद्युत् वितरणका लागि दुई सय ९० वटा नयाँ सब–स्टेसन निर्माण भएका छन्।  

मुलुकभरका ७७ जिल्लामध्ये १५ मा पूर्ण विद्युतीकरण भएको छ। गत आवमा ११ जिल्लालाई पूर्ण विद्युतीकरण गरिएको हो। यसअघि पर्वत, स्याङ्जा, काठमाडौं र भक्तपुरलाई पूर्ण विद्युतीकरण गरिएको थियो। गत आवमा धनकुटा, सुनसरी, सिराहा, धनुषा, महोत्तरी, बारा, पर्सा, नुवाकोट, कपिलवस्तु, गुल्मी र बर्दियालाई पूर्ण विद्युतीकरण गरिएको हो। प्राधिकरणले गत आवमा ४० जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य राखेको थियो। कोभिड–१९का कारण विद्युतीकरण पनि प्रभावित भएको हो। 

प्रकाशित: २१ श्रावण २०७७ ०४:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App