१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सूर्याेदयको बजेट दिगो विकास लक्ष्यतर्फ

इलामको सूर्याेदय नगरपालिकाको चालू आर्थिक वर्षका लागि विनियोजित बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिँदै। तस्बिर: भीम/नागरिक

पर्यटकीय नगरी सूर्याेदय नगरपालिकाले चालू आर्थिक वर्ष ०७७/७८ का लागि दिगो विकासको लक्ष्यमा केन्द्रित बजेट, नीति तथा कार्यक्रम घोषणा गरेको छ। ‘सबै नगरबासीलाई सँगसँगै हिँडाउने’ प्रतिज्ञासहित नगरले ‘सूर्याेदय नगरपालिकाको समृद्धता ः प्रांगारिक कृषि, पर्यापर्यटन र आर्थिक समानता’लाई आफ्नो मुख्य नीति बनाएको छ।  

सातौं नगरसभाले पारित गरेको बजेट, नीति तथा कार्यक्रम प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले सार्वजनिक गरे। स्थानीय तहमा जनप्रतिनिधि आएयता उत्कृष्ट र नयाँ अवधारणासहित चर्चा बटुलिरहेको सूर्याेदयले चालू वर्षका लागि एक अर्ब १७ करोड १० लाख रुपैयाँको आयव्यय अनुमान गरेको छ। सेवा प्रवाहमा मितव्ययिता अपनाउने नीति लिँदै नगरले प्रशासनिक खर्च १३ करोड ५४ लाख रुपैयाँमा सीमित गरेको छ।  

सामाजिक विकासमा ४२ करोड चार लाख, पूर्वाधारमा ३३ करोड ६९ लाख, आर्थिक विकासमा २० करोड ४३ लाख र सुशासन तथा अन्तर्निहित क्षेत्रमा सात करोड ३८ लाख रुपैयाँ विनियोजन गरिएको छ।  मेयर रणबहादुर राईले विनियोजित बजेट नगरबासीको विकास र समृद्धिको आधारशिला बन्ने आशा गरेको बताए। ‘यो बजेटलाई उत्तरदायी, प्रतिस्पर्धी, नवीन र बढी प्रभावकारी बनाउन सबै क्षेत्रसँग हातेमालो गरिनेछ,’ उनले भने, ‘यसले नगरको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान गर्नेछ।’

प्रदेश १ सरकारले ‘पर्यटकीय नगरी’ घोषणा गरिसकेको सूर्याेदय नगरले चिया, दूध र तरकारीजस्ता कृषिजन्य उत्पादनमा प्रचुर सम्भावना बोकेको छ। गृहजिल्ला इलाम नै भएका मन्त्री मगरले सूर्याेदय नगरपालिकामा जनप्रतिनिधि आएपछि नगरले देशमै चर्चा हुने उत्कृष्ट काम गरिरहेको बताए। ‘पर्यटन र कृषिमा सम्भावनै सम्भावना बोकेको सूर्याेदयको लक्ष्य र प्रगति आशलाग्दो छ,’ उनले भने, ‘अहिलेसम्म शिक्षा, स्वास्थ्य, पूर्वाधारलगायत क्षेत्रमा भएका काम विश्लेषण गर्दा सूर्याेदयले पूर्वबाट देशमै समृद्धिको ढोका खोल्ने संकेत गरिरहेको छ।’  

उनले ‘चियाको राजधानी’ सूर्याेदयमा नेपाली चियाको अनुसन्धानस्थल बनाउनु आवश्यक रहेको भन्दै प्रदेश सरकारले त्यसबारे योजना बनाउने बताए। ‘कृषिबाली उत्पादनभन्दा बजारीकरण चाहिँ मुख्य आवश्यकता हो,’ मन्त्री मगरले भने, ‘विदेशी मुद्रा आर्जनको भरपर्दाे माध्यम बनेको नेपाली चियाको बजारीकरण र गुणस्तरबारे हामी सबै सचेत र चिन्तित हुनुपर्छ, सरकारले किसान र उद्योगीलाई वातावरण बनाउन सघाउने छ।’  

बजेट सार्वजनिकीकरण कार्यक्रममा संविधानसभा सदस्यहरू सूर्यबाला राई, लीला श्रेष्ठ र टीकाराम लेप्चा, प्रदेश सांसदहरू धिरेन शर्मा र खिनु लङ्वा लिम्बू, जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराल, इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत र माइजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राईलगायत सहभागी भए। वक्ताले सूर्योदय नगरले ल्याएको बजेट, नीति तथा कार्यक्रम नगरको विकासमा कोसेढुंगा हुने प्रतिक्रिया दिए।

प्रकाशित: २१ श्रावण २०७७ ०३:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App