१६ चैत्र २०८० शुक्रबार
अर्थ

गौरवका आयोजनाको लागत आठ गुणासम्म वृद्धि

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको भूमीगत विद्युतकेन्द्र। फाइल तस्बिर: नागरिक

सरकारले सबैभन्दा बढी प्राथमिकता दिए पनि काम गर्न नसकेका कारण राष्ट्रिय गौरवका आयोजनाको लागत आठ गुणासम्मले बढेको पाइएको छ ।

मुुलुकमा सञ्चालनमा रहेका करिब दुई दर्जन राष्ट्रिय गौरवका आयोजनामध्ये अधिकांशमा लक्ष्यअनुसार काम नहुँदा दोब्बरदेखि आठ गुणासम्म लागत बढेको हो । राष्ट्रिय गौरवको पछिल्लो आयोजना काठमाडौं–तराई÷मधेश द्रुतमार्गको लागत दोब्बर भएको छ भने वर्षौं पुरानो बर्दियाको बबई सिँचाइ आयोजनाको आठ गुणाले बढेको छ ।  

महालेखापरीक्षकको कार्यालयका अनुसार आयोजनाको म्याद थपसँगै लागत पनि थपिने गरेको छ । आयोजनाको काम समयमा नसकिएपछि सरकारी कर्मचारी र ठेकेदार कम्पनीबीचको मिलेमतोमा भेरिएसन, मूल्य समायोजन, दाबी भुक्तानी लगायत कारण लागत बढ्दै गएको हो । निर्माणमा भएको ढिलाइका कारण समयमा लाभ लिन नसकिएको र आयोजना व्यवस्थापन प्रभावकारी भएको नदेखिएको महालेखाले औंल्याएको छ ।  

महालेखाले कुनै कारणले निर्माणमा ढिलाइ हुन गए बाँकी काम छिटो–छरितो सम्पन्न गर्न ओभरल्यापिङ र क्र्यासिङ विधि उपयोग गर्न सकिने सुझाव दिएको छ । महालेखाका अनुसार ओभरल्यापिङमा आयोजनाका समानान्तर रूपमा गर्न सकिने कार्यलाई स्रोतको व्यवस्था गरी सँगसँगै गरिन्छ भने क्र्यासिङमा भइरहेको जनशक्ति, पुँजी, इक्विप्मेन्ट, मेटेरियल आदि थप गरी ठूलो परिमाणमा तथा बढी समय काम गराइन्छ । सरकारले ओभरल्यापिङ र क्र्यासिङ विधिको उपयोग गरेर आयोजना छिटो सम्पन्न गर्नुपर्ने सुझाव महालेखाको छ ।  

आर्थिक वर्ष २०५५÷०५६ मा सुरु भएको मेलम्ची खानेपानी आयोजना आर्थिक वर्ष २०६४÷०६५ भित्र सम्पन्न गर्नुपर्ने थियो । तर २४ अर्बमा सम्पन्न हुनुपर्ने उक्त आयोजनाको लागत ३५ अर्ब ५४ करोड पुगेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा आयोजना सम्पन्न हुने भनेर सम्पन्न हुने साल संशोधन गरिएको छ ।  

आर्थिक वर्ष २०७४÷०७५ मा सुरु भएको काठमाडौं तराई–मधेश द्रुतमार्ग आर्थिक वर्ष २०७७÷०७८ भित्र सम्पन्न गर्नुपर्ने गरी अघि बढाइएको आयोजना हो । सुरु लागत एक खर्ब ११ अर्ब अनुमान गरिएको आयोजनाको अहिले लागत बढाएर दुई खर्ब १३ अर्ब ९५ करोड पु-याइएको छ । त्यस्तै, आयोजना सम्पन्न हुने भाखा पनि आर्थिक वर्ष २०८०÷०८१ राखिएको छ ।  

आर्थिक वर्ष २०६४÷०६५ मा सुरु भएको पुष्पलाल लोकमार्र्ग आयोजना आर्थिक वर्ष २०७४÷०७५ भित्र सम्पन्न गर्नुपर्ने गरी अघि बढाइएको थियो । सुरु लागत ३३ अर्ब ३६ करोड अनुमान गरिएको आयोजनको लागत अहिले बढाएर ८४ अर्ब ३३ करोड पु¥याइएको छ । त्यस्तै, आयोजना सम्पन्न हुने भाका पनि आर्थिक वर्ष २०७९÷०८० राखिएको छ ।  

आर्थिक वर्ष २०६६÷०६७ मा सुरु भएको हुलाकी लोकमार्ग आयोजना आर्थिक वर्ष २०७४÷०७५ भित्र सम्पन्न गर्नुपर्ने गरी अघि बढाइएको थियो । सुरु लागत ४७ अर्ब २४ करोड अनुमान गरिएको आयोजनाको अहिले लागत बढेर ६५ अर्ब २० करोड पु¥याइएको छ । सम्पन्न हुने भाका पनि आर्थिक वर्ष २०७९÷०८० पुगेको छ ।  

आर्थिक वर्ष २०६१÷०६२ मा सुरु भएको सिक्टा सिँचाइ आयोजना आर्थिक वर्ष २०७१÷०७२ भित्र सम्पन्न गर्नुपर्ने गरी अघि बढाइएको थियो । सुरु लागत १२ अर्ब ८० करोड अनुमान गरिएको आयोजनाको अहिले लागत बढेर २५ अर्ब दुई करोड पु-याइएको छ । आयोजना सम्पन्न हुने भाका पनि आर्थिक वर्ष २०७९÷०८० पुगेको छ । आर्थिक वर्ष २०६६÷०६७ मा सुरु भएको रानीजमरा कुलरिया सिँचाइ आयोजना आर्थिक वर्ष २०७४÷०७५ भित्र सम्पन्न गर्नुपर्ने गरी अघि बढाइएको थियो । सुरु लागत १२ अर्ब ३७ करोड अनुमान गरिएको आयोजनाको लागत अहिले २७ अर्ब ७० करोड पु-याइएको छ । आयोजना सम्पन्न हुने भाका पनि आर्थिक वर्ष २०८०÷०८१ पुगेको छ ।  

आर्थिक वर्ष २०६७÷०६८ मा सुरु भएको माथिल्लो तामाकोसी जलविद्युत आयोजना आर्थिक वर्ष २०७२÷०७३ भित्र सम्पन्न गर्नुपर्ने गरी अघि बढाइएको थियो । सुरु लागत ३५ अर्ब २९ करोड अनुमान गरिएको आयोजनामा अहिले लागत बढाएर ४९ अर्ब २९ करोड र सम्पन्न हुने भाका आर्थिक वर्ष २०७६÷०७७ पु-याइएको छ ।  

आर्थिक वर्ष २०४५÷०४६ मा सुरु भएको माथिल्लो बबई सिँचाइ आयोजना आर्थिक वर्ष २०७१÷०७२ भित्र सम्पन्न गर्नुपर्ने गरी अघि बढाइएको थियो । सुरु लागत दुई अर्ब ८७ करोड अनुमान गरिएको आयोजनामा अहिले लागत बढाएर १८ अर्ब ९९ करोड पु¥याइएको छ । आयोजना सम्पन्न हुने भाका पनि आर्थिक वर्ष २०७९÷०८० पुगेको छ । 

प्रकाशित: २० श्रावण २०७७ ०३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App