७ वैशाख २०८१ शुक्रबार
अर्थ

किसानलाई जहिल्यै मलकै पिरलो

मलको माग गर्दै हलो, जुवा सहित आन्दोलनमा निस्कीएका घोराही २ रामपुरका किसानहरु।

घोराही उपमहानगरपालिका वडा नं. २ रामपुरका टेकवहादुर चौधरी गत वर्ष रासायनीक मलको जोहो गर्न बर्दिया सम्म पुगे। दाङमा मलको अभाव भएपछि आफन्तको सम्पर्कका आधारमा बर्दिया पुगेका उनले गत बर्षको धान खेती सपार्न जेनतेन मलको जोहो गर्न भ्याए। यो वर्ष पनि मलको अभाव उस्तै छ। नत कोरोना संक्रमणका कारण ठप्प यातायात सेवाका कारण बाँके बर्दिया सम्म पुगेर मल आयात गर्न सकिने अवस्था नै छ। 

महिना दिन सम्म मलको जोहो गर्न बजार दौडधुप गरिरहेका छन्, उनी। तर उनी पुग्ने हरेक निकायले एउटै जवाफ दिन्छन् ‘मल छँदै छैन, कसरी दिनु ?’ अहिले धानले मल खोजिरहेको छ। उनी भन्छन् ‘अहिले खेतमा मल छर्ने  बेला भएको छ, तर मल कहिँकतै पाईँदैन, यसपटक धान खेती मलकै कारण बिग्रने होकी भन्ने चिन्ताले सताएको छ।’ धानको ब्याड राख्दा थोरै मल भएपनि पाएका थिए उनले। तर धान रोपिसकेपछि भने उनले कहिँकतै मल पाउनै सकेका छैनन्। अनि हलो जुवा बोकेर मलको माग गर्दै सैयौँको मासमा मिसिए उनी। मल चाहियो भन्दै नाराबाजी गरेर सरकारको ध्यानाकर्षण गराएका उनले थपे ‘हामी गरिबको नारा सरकारले के सुन्थ्यो ? कोरोना भन्दा बढि चिन्ता हामीलाई खेतीपाती बिग्रने होकी भन्ने छ।’ टेकवहादुरले झण्डै डेढ बिघा खेतमा धान रोपाईँ गरेका छन्। ‘कृषि क्षेत्रको बिकास गर्ने भनेर घोषणा गर्ने सरकारले हामी किसानहरुलाई किन मल दिन सक्दैन?’ उनले प्रश्न गरे ‘किसानले मलको सहज रुपमा पाउन सकेनन् भने कृषि क्षेत्रको बिकास त के कतिपय किसानहरु भोकै मर्नुपर्ने अवस्था आउँछ।’

सोही गाउँका शेरवहादुर चौधरीले पनि बर्षेनी रासायनिक मलको अभाव झेल्दै आईरहेका छन्। तर विगतका वर्षहरुमा ब्यापारीहरुसंग मलको खरिद गरेर जेनतेन मलको जोहो गर्दै आए। तर यसवर्ष भने मलको पिरलो विगतका वर्षहरु भन्दा निकै बढेको उनी सुनाउँछन्। ‘हामी किसानहरुलाई राज्यबाट उपलब्ध हुनुपर्ने अनुदानको मल कहिल्यै पर्याप्त भएन,’ उनले भने ‘ब्यापारिहरुसंग खरिद गरेर जेनतेन जोहो गर्नु पर्छ, तर यो वर्ष त ब्यापारीहरुसंग पनि मल छैन , कसरी खेती सपार्ने ?’ एक महिना देखि शेरवहादुर मलको जोहोका लागि बजार धाईरहेका छन्। अनुदानको मल उपलब्ध गराउने निकाय सहकारीहरुमा त झन कति हो कति ? ‘म जहाँ जहाँ मल खोज्दै पुगेँ, सबैले मल फिटिक्कै छैन भनेर जवाफ दिन्छन्’ उनले भने ‘यो बेलामा मल नपाए त धान खेती चौपटै हुन्छ।’

किसानहरुले अहिले धान गोडी भ्याएका छन्। अब धान सपार्नका लागि मलको नितान्त आवश्यक छ।  यो बेला धान टिप गर्नका लागि युरिया मल आवश्यक पर्दछ।  तर किसानहरु मलका लागि छट्पटाईरहेका छन्। यति मात्रै हैन, राज्य प्रति किसानहरुको आक्रोश पनि बढ्दै जान थालेको छ। मल अभावमा आजित बनिसकेका रामपुर क्षेत्रका किसानहरु सडकमै उत्रिए। हलो जुवा, फरुवा सहित सडकमा उत्रिएका उनिहरुले स्थानीय सरकारसंग मलको सहज उपलब्धताको माग गरे। वडा कार्यालय घेराउ गरेका उनिहरुले मलको अभाव पूर्ति नभए किसानहरुको गाँस खोसिने भन्दै तत्काल मल उपलब्ध गराईदिन माग गरेका छन्। ‘भन्ने बेला कृषि क्रान्तिको कुरा गर्ने ? तर कृषि क्षेत्रको बिकासका लागि मलको सहज आपूर्ति सम्म गर्न नसक्ने ?’ शेरवहादुरले भने ‘कृषि क्रान्तिको कुरा मात्रै गरेर कृषि क्षेत्रले छलाङ मार्दैन, कृषि क्षेत्रको बिकासका लागि ठोस योजना पनि आउनु पर्यो।’    

किसानहरु एक महिनादेखि मल नपाउँदा समेत वडा कार्यालयले मलको लागि कुनै पहल नगरेपछि किसानहरु बाध्य भएर वडा कार्यालय धर्ना दिएको अर्का किसान दिलबहादुर नेपालीले बताए। मल नपाउँदा खेतमा धान पहेलो हुन थालेको समेत  उनले बताए। ‘सरकारले किसानलाई समयमै मल उपलल्ध गराउन नसक्दा खेतमा रोपेको धन पहेलो हुन थालिसक्यो’ नेपालीले भने।

यता लकडाउनका कारण रासायनिक मल आयातमा समस्या भएको कृषि सामग्री कम्पनिले जनाएको छ। कम्पनि घोराही शाखाका अनुसार कोरोना संक्रमणको त्रासका कारण मलको कारखाना नै बन्द छ। ‘कोरोना संक्रमणको जोखिम र लकडाउनका कारण भारतबाटै मल आयात हुन नसकेको हो,’ कम्पनीका सूचना अधिकारी सुष्मा बस्यालले भनिन् ‘अहिले खेतबारीमा युरिया मल चाहिएको छ , तर हामीहरुसंग युरिया मल छैन।’ उनका अनुसार गत वैशाख देखि नै जिल्लामा युरिया मल भित्रन सकेको छैन। धान रोपाईँका बेलामा मलको समस्या नभएको भन्दै कृषि सामाग्री कम्पनिले धानमा टिप गर्ने बेलामा भने रासायनिक मलको अभाव भएको बताएको छ। ‘लकडाउन र कोरोना संक्रमण त्रासका कारण मल ठ्याक्कै यो मिति सम्म आउँछ भन्नेमा हामीहरु पनि एकिन हुन नसकेको अवस्था हो,’सूचना अधिकारी बस्यालले भनिन् ‘तर भदौको पहिलो साता सम्ममा मल आउने भन्ने सम्मको सूचना पाएका छौँ।’  

प्रकाशित: १९ श्रावण २०७७ १२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App